
पोखरा- विद्यालय परिसरका रुख काटेर बिक्री गरेको आरोपमा ८ जनालाई मुद्दा दायर गरिएको छ।
गण्डकी बोडिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनालाई जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता गरिएको हो।
प्रधानाध्यापक खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता गराएको हो।
वन ऐन विपरीत विद्यालय परिसरमा रहेका रुख काटेर बिक्री गरेको डिभिजन वन कार्यालय, कास्कीको ठहर छ।
वन ऐन, २०७६ को दफा ४९ को उपदफा (घ) अनुसारको कसूर गरी बिगो मूल्य ३ लाख ७९ हजार ४ सय रुपैयाँ बराबरको वन पैदावार हानीनोक्सानी गरेको पुष्टि भएको कार्यालयले जनाएको छ।
सार्वजनिक गुठी मोडलमा सञ्चालन गरिएको विद्यालयको खेलमैदान, छात्रावास र पर्खालँग जोडिएको सिसौ, सल्लाका २५ वटा रुख कटान भएको डिभिजन वन कार्यालय, कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए।
वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नभइ रुख कटान भएको उनको भनाइ छ। ६० हजारमा बिक्री गरेको रुखको दाउरा बिक्रीसमेत कानुनविपरीत गरिएको छ।