
इंग्लिस प्रिमियर लिगमा साविक च्याम्पियन म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राती भएको खेलमा उपाधि होडमा रहेको सिटीले रेलिगेशन जोनबाट माथि उठ्न संघर्षरत लुटन टाउनमाथि ५-१ को प्रभावसालि जित निकाल्यो।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा ४ गोल थपेको थियो। सिटीले खेलमा अग्रता भने लुटनको आत्माघाती गोलमार्फत लिएको थियो। खेल सुरु भएको ६५ सेकेन्डमै अर्लिङ हालान्डको प्रहार लुटनका डाइकी हासिओकाले आफ्नै पोस्टमा गोल गर्न पुग्दा सिटीले सुरुवाती अग्रता बनायो। यद्यपि त्यसपछि भने सिटी निरन्तर बल पोसेसनमा राखेपनि लुटनको डिफेन्स र गोललाई तोड्न पहिलो हाफमा असफल भयो।
यद्यपि दोस्रो हाफमा पनि डिफेन्सिभ देखिएको लुटन विरुद्ध अल्भारेजले निकालेको आकर्षक पासमा ६४ औं मिनेटमा मटेओ कोभासिसले गरेको ‘वान टच’ प्रहार सिंधै गोलमा परिणत भएको थियो। फ्रेड ओन्याडिनाले जेरामी डोकुलाई फल गरेपछि ७६ औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो। जसलाई हालान्डले सदुपयोग गर्दा सिटीले खेलमा ३-० को अग्रता बनायो।
यद्यपि ८१ औं मिनेटमा म्याथ्युज नुनेसको गल्तीमा रोस बार्कलीले गोल गर्दा लुटनले खेललाई ३-१ को अवस्थामा ल्याएको थियो। तर डोकुले ८७ औं मिनेटमा तीन डिफेन्डर बिट गर्दै आकर्षक गोल गरेपछि सिटीले ४-१ को अग्रता बनायो। सिटीका लागि पाँचौ गोल भने डोकुकै पासमा इन्जुरी समयमा जोस्को गार्डिओलले गरेका थिए।
जितसँगै एक खेल बढी खेलेको सिटीले शीर्ष स्थानमा दुई अङ्कको अग्रता बनाउन सफल भयो। आइतबार उपाधि होडमा रहेको लिभरपुलले क्रिश्टल प्यालेस तथा आर्सनलले एस्टन भिल्लासँग खेल्दै छ। उनीहरुको खेल अघि सम्म सिटी शीर्ष स्थानमा रहने छ। सिटीको ३२ खेलबाट ७३ अङ्क हुँदा एक खेल कम खेलेको आर्सनल र लिभरपुलको समान ७१ अङ्क रहेको छ।
प्रिमियर लिग अन्तर्गतनै शनिबार भएका अन्य खेलमा न्युक्यासलले टोटेनह्यामलाई ४-० ले हरायो। त्यस्तै ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २-० ले पराजित गर्दा बर्नली र ब्राइटनले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडे। त्यस्तै नोटिङ्घम फरेस्ट र वल्भेसले २-२ गोलको बराबरी खेले।