
धनगढी- प्रदेश ७ को सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेका बेला सन्नी खुनाको मृत्यु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुर घटनाबारे प्रदेश सरकार गम्भीर रहको बताए ।
‘केहीदिनदेखि निर्मला पन्तको घटनाले प्रदेश नै अशान्त छ ।’ शाहले भने, ‘समस्या समाधानका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको छ, चाडै सबै कुरा ठीक हुन्छ ।’
उनले घटनामा मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए ।
दोषीलाई कारबाही र पीडितलाई न्याय दिने कुरामा सरकार दृढ रहेको भन्दै उनले घटनाको अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरे ।
कञ्चनपुर घटनाबारे शनिवार बिहान आकस्मिक रुपमा मन्त्री परिषद बैठक पनि बसेको थियो । उक्त मन्त्री परिषद बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखको समेत सहभागिता रहेको थियो ।
सो क्रममा कञ्चनपुर घटनाबारे गम्भीर छलफल भएको र नयाँ किसिमले घटनाको अनुसन्धान गर्न सुरक्षा अधिकारीलाई निर्देशन समेत दिइएको श्रोतले बताएको छ ।