किन रोयौ भन तिमी मनको बलेसीमा...

अलविदा प्रकट पंगेनी ‘शिव’

अलविदा प्रकट पंगेनी ‘शिव’
+
-

पोखरा – फूलबारी घाट। भावविह्वल साहित्यिक अनुरागीहरुको भीड। छेउकै सेती नदी झैैं साहित्यिक मनहरु सुसाइरहेका थिए।
चितामाथि राखिएको एउटा शरीर। एक छिनमा चितामा आगो दनदनी दन्कियो। धुवाँको मुस्लोसँगै एउटा हसिलो मुहार र रसिलो सिर्जनाका प्रतिविम्ब विलिन भए।

मनमा राग पराग भए पो नयाँ बर्ष मनाउनु
भाइरलको प्रकोपले ग्रसित छु कस्तो खुशी जनाउनु
अर्को वर्ष बाँचिएछ भने तीन दिन अघि माया साटौंला
त्यतिबेला यशस्वी कटेजलाई कटेज जस्तै बनाउनु’

नयाँ वर्षको दिन साहित्यकार प्रकट पंगेनी ‘शिव’ ले फेसबुकमा लेखे। उनको सिर्जनामा अर्को बर्ष बाँच्ने ठेगाना नभएको जस्तै भाव थियो।

मंगलबार र बुधबार पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा भेला भएका साहित्यप्रेमीले अन्दाज लगाइरहेका थिए्, ‘सायद यो वर्ष अन्तिम हुने शिव दाईलाई पहिल्यै थाहा रहेछ।’
गजलमा प्रेमिल र रोमान्टिक सुनिने प्रंकटको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचारको क्रममा निधन भयोे।

६७ वर्षको उमेरमा अस्ताएका प्रकटलाई जन्डिस र निमोनियाले थलाएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।

‘साँझमा दियो बालिराख्यौ को आउँदै छ आज
हातका औँला चालिराख्यौ को आउँदै आज
हिजो अस्ति उक्किएका घरका छेउकुना
बिहानदेखि टालिराख्यौ को आउँदै छ आज…’

अस्पतालको शैय्याबाट उठेर अब यसरी कहिल्यै नसोध्ने गरेर उनी चीर निन्द्रामा लिन भए।

पछिल्लो पूस्ताले प्रकटलाई गीतकार र गजलकारको रुपमा चिन्छ। तर, उनी त्यतिमा मात्रै सीमित थिएनन्। कला र साहित्य दुवैमा पोख्त थिए।
३० को दशकमा उनी नेपाली साहित्यमा प्रकट भएका हुन्। २०३३ सालमा हिमदूत पत्रिकामा ‘विडम्बना’ शीर्षकको् कथा छपाएर नेपाली साहित्यमा शिवराज पंगेनीले कदम राखे।
रूपाको देउराली उकालीबाट पृथ्वीनारायण क्याम्पस पढ्न पोखरा झरेको ठिटोकोे २०३५ सालताका साहित्यकार सरुभक्त श्रेष्ठसँग साक्षात्कार भयोे।

सरुभक्तसँगको भेटपछि नाटकमा अभिनय गर्न थाले। नाटक खेल्न थालेपछि नाम फेरियो प्रकट पंगेनी ‘शिव’। नाकटसँगै उनी कविता, गीत, गजल कोर्दै नेपाली साहित्यिक आकशमा फराकिलो उडान भर्न सफल भए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति सरुभक्तका अनुसार पंगेनीले सुरुका बेला अभिनयमा बढी रुची राख्थे। ‘कवितामा उनी विशेष गरेर ग्रामिण जनजीवनहरु अत्यन्त सामाजिक कुराहरु टिपेर लेख्थे। कविका रुपमा पनि प्रख्यात थिए त्यसबेलामा’, उनी सम्झन्छन्, ‘अभिनयमा ४० को दशक लाग्दासम्म निरन्तरता थियो। युवा नाटक परिवार भन्ने एउटा नाट्य परिवार थियो। त्यसबाट नाटक मञ्चन गर्दै देशका विभिन्न ठाउँहरुमा पुग्थ्यौं।’

तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा सरु भक्तद्वारा लिखित र निर्देशित नाटक ‘गोलार्धको कालो आकाश’ मा पंगेनीले मुख्य भूमिका निभाए।

त्यही भूमिकाले उनलाई सर्वश्रेष्ठ अभिनेता ठहरायो। अभिनय र कविता लेखनलाई संगै अगाडि बढाएका उनले ५० को दशकमा गीत लेखनमा बढी सक्रिय भए। ‘६० को दशक लागेपछि गजल लेखनमा बढी सक्रिय भए। र अहिलेकोे पूस्ताले विशेष गरेर गीतकार र गजलकारको रुपमा चिनिरहेको देख्नु’, सरुझक्तले भने, ‘उनी गजलकार र गीतकारमा मात्र सीमित थिएनन्। उनी अभिनेता पनि थिए। अत्यन्त सुन्दर कविता लेख्थे।’

प्रकट पछिल्लोे समय श्रृंगारिक गजलमार्फत निकै रुचाइएका थिए। रसिला प्रेमिल र रोमान्टिक गजल सुन्न प्रकटका एकल वाचन भइरहन्थ्यो। पछिल्लो पटक उनले प्रमण दिवसको दिन पोखराको बुलौँदीस्थित ‘द ओल्ड हाउस क्याफे’मा ३ घण्टा सुनिए।
वरिष्ठ साहित्यकार कवि तीर्थ श्रेष्ठ पंगेनीलाई साहित्यिक सहयात्री भन्न रुचाँउछन्।

दुवैले ३० को दशकबाट कविता लेख्न थालेका थिए।
‘हामीले एक अर्काका सिर्जनाहरुका पहिलो स्रोता र पाठक जस्ता भयौं। अत्यन्त संवेदशील ढंगले घरगृहस्थीका कविता लेख्ने मान्छे’, श्रेष्ठ भन्छन्, ‘माया प्रीतिका मुक्तक लेख्ने मान्छे। श्रृंगारिक रसका सम्पन्न भएका गजहरु लेख्ने मान्छे। साहित्यिक सिर्जनाका दृष्टिकोणले सक्षम व्यक्तित्वको रुपमा लिन्छु।’ सबै पीडालाई कुल्चेर हास्न सक्ने खुबी पंगेनीमा रहेकोे संगतका आधारमा श्रेष्ठ सुनाउँछन्।

उनै वरिष्ठ कवि श्रेष्ठले सुनाएअनुसार पंगेनीले साइनबोर्डमा उस्तै राम्रो अक्षर लेख्थे। ४० को दशकमा पोखराको बगरमा शृंगार आर्ट सञ्चालनमा ल्याएका थिए। पछि साइनबोर्ड लेख्नकै लागि कृषि अनुसन्धान केन्द्र लुम्लेको जागिरे खाए। ‘त्यहाँ हुँदा उनले प्रशस्त गीत लेखे। सहकर्मी साथीहरुलाई पनि साहित्यमा प्रतिनिधित्व गर्थे। उनकै कारणले धेरै साहित्यकारहरु लुम्लेमा पुग्थे’, श्रेष्ठले भने।

गजलमा रुचाइएपछि प्रकट काठमाडौं हानिए उतै कर्मथलो बनाउन। बीचमा पोखरा फर्किएर बाटुलेचौरको प्रगति बोर्डिङमा पढाउन थाले। गाउँघरका भावलाई साहित्यमा उतार्दै रमाइरहे। उनको मुहारै हसिलो। सिर्जना उस्तै रसिलो सुनिन्थ्यो।
पोखरामा रुचाईएको साहित्यिक कार्यक्रम अक्षरयात्राको परिकल्पनाकार उनै पंगेनी हुन्। पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्ष भएर उनले काम गरे।

बेलाबखतमा पत्रपत्रिका निकालेर उनले पत्रकारितामा पनि योगदान दिएको कवि श्रेष्ठले बताए।
‘तप्प तप्प जलविन्दु…’, ‘तिम्रो हातले भरी गिलास…’, ‘हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो…’, ‘उठ्यो रिमै फेवातालमा छाल साँझपख…’ लगायतका गजल प्रकटका निकै चर्चित छन्।

किन रोयौ भन तिमी मनको बलेसीमा
किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा…’

२०४५ सालतिर प्रकटले लेखेको यो पहिलो गीत रेकर्ड भएको थियो। त्यसपछि उनले लेखेका ५० बढी गीत रकेर्ड भए। ‘तगारो छेउ आएर पनि’ प्रकटले लेखेको मध्य रुचाईएको गीत हो।

नेपाली रंगमञ्च र साहित्यमा अमिट छाप छाड्दै प्रकट भौैतिक रुपमा विलिन भएपनि उनका कृतिहरु सदा अजरअमर रहनेछन्। अलविदा, प्रकट पंगेनी ‘शिव’।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?