
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार र बुधबार गरी नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेसँगै उनको भ्रमणलाई लिएर विभिन्न कोणबाट बहस भएका छन्। कतारका अमिरको नेपाल भ्रमणका क्रममा नेपालमा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा प्रस्तावित लगानी सम्मेलनको मितिभन्दा एक हप्ता अघि भएको कतारी अमिरको उक्त भ्रमणले नेपालमा कौतुहल बढाएको छ।
सरकारले उनको भ्रमणका अवसरमा मंगलबार देशभर सार्वजनिक बिदा समेत दिएको थियो। कतारी अमिर थानी बुधबार दिउँसो काठमाडौँबाट प्रस्थान गरेका छन्। पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले कतारी अमिरको भ्रमणमा नेपाल सरकारले पर्याप्त तयारी गर्न नसकेको टिप्पणी गरेका छन्। सरकार आन्तरिक राजनीतिमा अलमलिँदा कतारी राजा समक्ष राख्ने विषयबस्तु र ठोस एजेन्डामा तयारी गर्न नसकेको उनले बताएका छन्।
कतारी अमिरको नेपाल भ्रमणको अर्थ, महत्व, नेपालले लिन सक्ने लाभ र नेपाल सरकारसँग भएका सम्झौता र वार्ताको औचित्यबारे लोहनीसँग देश सञ्चारकी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश।
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणको महत्व के हो?
कतारको राजाको भ्रमण नेपाल र नेपालीको लागि महत्वपूर्ण छ। नेपालका चार लाख भन्दा नेपाली कतारमा काम गर्छन्। यस अर्थमा पनि उक्त देशका प्रमुखको भ्रमण नेपालको लागि महत्वपूर्ण छ। कतार सानो देश हो तर धेरै सम्पन्न देश हो। ८० हजार डलर भन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो। थुप्रै सफलता हासिल गरेको देश पनि हो। कतार एयरलाइन्स झण्डैझण्डै विश्वकै श्रेष्ठ एयरलाइन्स हो। सानो देश हुँदैमा ठूलो काम गर्न नसकिने होइन भन्ने हाम्रो देशले पनि कतारबाट सिक्नु पर्ने हुन्छ।
कतारलाई मध्यपूर्वको एउटा कूटनीतिक शक्ति केन्द्रको रुपमा पनि लिन सकिन्छ। किनकि अहिलेको यो मध्यपूर्वको युद्धलाई समाप्त पार्न कतारलाई इजरायलले, हमासले,अमेरिकाले,जोर्डनले लगायतले सम्पर्क गरेको छ। सबैलाई समन्वय गर्ने काम कतारले गरेको छ। एउटा सम्बृद्ध,सफल र भविष्यप्रति दृष्टिकोण राख्ने देश हो कतार। त्यो देशसँग हाम्रो नजिक भन्दा नजिकको सम्बध गाँसेर लैजानु,त्यो देशका लगानी कर्तालाई नेपालमा आकर्षित गर्न सक्नु राम्रो हुन्छ। त्यो दृष्टिकोणले पनि कतारको राजाको भ्रमण नेपालीहरुको हितमा छ।
विश्वका धनी मुलुकका प्रमुख यो समयको भ्रमणको अर्थ के हुन सक्छ? संयोग पनि हुन सक्छ- प्रस्तावित लगानी सम्मेलन भन्दा एक हप्ता अघि भ्रमण भएको छ। लगानी सम्मेलनसँग उनको भ्रमणको कुनै सम्बन्ध हुन सक्छ?अथवा यसले दीर्घकालीन प्रभाव के पार्न सक्छ?
कतारका राजाको भ्रमणसँग प्रस्तावित लगानी सम्मेलनको मैले कुनै पनि सम्भावना देखेको छैन। कतारका राजा नेपालमा आउँदाखेरी नेपालको तर्फबाट कुनै पनि ठोस प्रस्ताव नेपालीहरुले तयार गरेको देखिन।
यसलाई नेपालको लगानीको बृद्धिको परिवेशमा ठोस कार्यनीति तयार गरेको पनि देखिएन। अहिले नभए पनि भविष्यमा होस्। जहाँसम्म लगानी सम्मेलनको कुरा छ, लगानी सम्मेलन आफैँमा पनि कति लगानी गर्न सक्ने हो भन्ने ठूलो शंकाको बिषय बनेको छ। किनभने यसमा नेपाल सरकारको तयारी छैन। किनभने कानुनहरु बदल्ने भनेर अध्यादेशबाट बदलेको छ।
नेपालको राष्ट्रिय स्वार्थका कानुनहरु अध्ययादेशबाट बदल्ने र त्यसको बिषयमा नेपाली जनताले केही पनि थाहा नपाउने,त्यसको बारे नेपाली जनप्रतिनिधिहरुले छलफल नै नगरी अध्यादेशबाट कानुन बदलेर अधिकारको दुरुपयोग गर्ने काम भइरहेको छ। खेलाँची भएको छ। सरकारको रवैया हेर्दाखेरी हल्ला गर्ने र के के न गर्न लागेको छु भन्ने तर हात्ती आयो हात्ती आयो फुस्साको स्थिति हो यो।
नेपाल र कतारबीच बाणिज्य, लगानी सहकार्य लगायत आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। समझदारीलाई कसरी हेर्नुभएको छ?
यो उहाँको औपचारिक भ्रमण भएको बेलामा भविष्यमा केही काम गरौँला भन्ने प्रतिवद्धता मात्रै हो। तर कुनै निश्चीत वा बिषयगत प्रोजेक्टमा नेपालले कतारलाई आकर्षित गर्न सकेको छैन। उनीहरुलाई प्रस्ताव लिएर हामी जानुपर्यो नि। उनीहरुको लगानीले प्रतिफल दिन सक्ने हाम्रो लागि पनि राम्रो हुने खालको प्रस्तावहरु लिएर जानुपर्यो। त्यस बिषयमा हाम्रो कुनै पनि काम भएको छैन। कतारको राजा यहाँ आउने भनिसकेपछि काम हुनुपर्थ्यो। तयारी गर्नुपर्थ्यो, तै पनि कतारका राजा आउनुभयो, भेटघाट भयो त्यो सकरात्मक पक्ष हो।
कतारको राजा समक्ष राख्ने ठोस बिषयबस्तु तयार गर्न किन चुकेको होला नेपाल सरकार?
बिषयबस्तु तयार गर्ने समय पनि कसरी पायोस् सरकारले? सरकार बिहानदेखि बेलुकासम्म गठबन्धन राख्ने या फेर्नेको दौडधुपमा छ। प्रदेश राजनीतिमा पनि त्यस्तै किचलो भएका कारण सरकारको ध्यान त्यता छ। कसको सरकार आउने,कसको जाने भनेर त्यसैमा नै सरकार व्यस्त छ। लडाईं त्यसमै छ। देशको लागि काम गर्ने मौका र समय नै सरकारलाई कहाँ छ र?
घरबाट बाहिर धकेल्दिएपछि हेर्न पर्दैन भनेको जस्तो मनस्थिति कता कता हाम्रा सत्तामा बसेकाहरुको छ कि जस्तो लाग्छ। युवाहरुलाई सकेसम्म नेपालबाट धकेल्दिने, नेपालको राजनीतिमा हाम्रो एकछत्र चल्छ, विरोध गर्ने मान्छे कम हुन्छन्, विसंगतिको विरोध गर्ने युवाहरु नै हो। जति उनीहरु विदेश गए उति राम्रो, उनिहरुले पठाएको पैसाबाट यहाँ भुँइबुट्टे समूह खडा गर्ने गरेको मनस्थितिले कता कता काम गरेको देखेको छु मैले।
चारलाख भन्दा धेरै नेपाली श्रमिक कतारमा छन्। यो भेटले कतारमा रहेका नेपाली श्रमिकमाथि उचित सम्बोधन हुन सक्ला त?
त्यो सम्बोधन होला वा नहोला तर हाम्रो पहलकदमी हुनुपर्यो, कहाँ हाम्रो कमिकमजोरी छन् कहाँ हामीले सहयोग लिन सक्छौँ भन्नेमा हामी चनाखो हुनुपर्यो तर यतिका धेरै नेपालीलाई काम दिनु नै यो नेपालीप्रतिको सद्भावना पनि हो। तर नेपालीहरुको सुरक्षा वा अन्य कुनै अधिकार र सेवा सुविधा दिने इत्यादि बिषयमा नेपाल सरकारले चासो राखेर गनुपर्ने हो।
यस्ता खालका उच्च स्तरीय भेटघाटमा हाम्रो मुलुकका शीर्ष नेताले आफ्ना कुरा स्पष्ट सँग राख्न सक्दैनन्। विदेशमा रहेका नेपालीको हक हितमा आफ्ना माग वा कुरा राख्न किन डराउँछ नेपाल सरकार र शीर्ष तह?
कुनै पनि कुरा प्रष्ट राख्नको लागि तपाईं आफू प्रष्ट हुनुपर्छ। कुनै योजना राख्नुपरेमा सो योजनाबारे प्रष्ट हुनुपर्छ। यहि तहमा नै हाम्रो कमीकमजोरी छ कि जस्तो लाग्छ। तयारी गरेको मैले पनि देखिन। नेपालीहरुको रोजगारीको केन्द्र,आफ्नो देशमा काम गर्न नपाएपनि कतारमा काम गर्ने मौका पाएका छन्। उहाँ आउनुभयो त्यो दृष्टिकोणले राम्रो भयो।
कतारमा फिफा वर्ल्डकपको लागि रंगशाला निमार्णका क्रममा नेपाली श्रमिक वा मजदुरले गरेको योगदान गरे। नेपालीसहित धेरै श्रमिकले ज्यान गुमाउनुपर्यो। उनीहरुको सुरक्षा र मानव अधिकार उल्लंघन भएको थियो भनेर आवाज उठेका थिए। कतारका राजाको यो भ्रमणपछि उक्त समस्यामाथि सम्बोधन होला?
त्यो बेलामा थुप्रै नेपालीहरुले ज्यान गुमाएका थिए। उक्त घटनाको अन्तर्राष्ट्रिय श्रम संगठनहरुले पनि आवाज उठाएका थिए। अरुहरुले पनि आवाज उठाएकै हुन्। नेपालबाट जसरी गर्नुपर्ने हो त्यो गरेको देखिन किनकी नेपालीहरुलाई डर भनेको के हो भने हामीले आवाज उठायौँ भने हाम्रो श्रमलाई लिइदिएन भने युवा देशमै बस्छन्। युवा देशमै बसेको खण्डमा दुःख दिन्छन् भन्ने सोचेर जे भने पनि युवा विदेशमै जाउन् भन्ने सोचेर पनि सरकारले आवाज नठाएको हुन सक्छ। घरबाट बाहिर धकेल्दिएपछि हेर्न पर्दैन भनेको जस्तो मनस्थिति कता कता हाम्रा सत्तामा बसेकाहरुको छ कि जस्तो लाग्छ। युवाहरुलाई सकेसम्म नेपालबाट धकेल्दिने, नेपालको राजनीतिमा हाम्रो एकछत्र चल्छ, विरोध गर्ने मान्छे कम हुन्छन्, विसंगतिको विरोध गर्ने युवाहरु नै हो। जति उनीहरु विदेश गए उति राम्रो, उनिहरुले पठाएको पैसाबाट यहाँ भुँइबुट्टे समूह खडा गर्ने गरेको मनस्थितिले कता कता काम गरेको देखेको छु मैले।
कतारी अमिर नेपाल भ्रममा आउँदा एक दिन देशभर सार्वजनिक विदा दिइयो। यो जरुरी थियो? अथवा विदेशी उच्च स्तरका पाहुना भ्रमणमा आउँदा छुट्टी दिने परम्परालाई कसरी हेर्ने?
विदेशी पाहुना आउँदा विदा दिने वा नदिने भन्ने हरेक देशको आ आफ्नो निर्णयको कुरा हो नेपालले पनि नदिने हो भने एउटालाई मात्रै नदिने भन्ने हुँदैन सवैलाई समान व्यवबार गर्न राज्य तहबाट एकैखालको निर्णय गर्नुपर्छ। यसको लागि सरकारले एउटा ठोस नीति बनाउन जरुरी छ। हामीलाई अन्य देशमा जाँदा सम्मान दिन्छन् वा दिदैनन् भन्ने सन्दर्भमा संसारमा आफ्नो सम्मान आफूले पनि कमाउन सक्नुपर्छ। देश राम्रोसँग, बलियोसँग चलाउन सकेको छ भने आर्थिक प्रगति भएको छ भने र नेताहरु इमान्दार छन् भने स्वतः त्यो देशको इज्जत बढेर जान्छ। चीन र भारतको इज्जत अन्तर्राष्ट्रिय मञ्चमा बढ्दै जाँदा नेपालको भने बढ्न सकेको छैन। हाम्रो यहाँ खास केही छैन शासनमा बस्नको लागि पनि विदेशीले स्वीकृति के दिन्छन् भनेर हेर्ने मनस्थितिमा यहाँका शासक छन्।