
पोखरा – पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले भ्रमण गरेका छन्। गएको कात्तिक दोस्रो सातादेखि संग्रहालयमा आउने पर्यटकको तथ्याङका राष्ट्रअनुसार राख्न थालिएको हो।
सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयकी लेखापाल भावना शर्माले जानकारी दिइन्। शर्माका अनुसार चालु आर्थिक वर्षमा एक लाख ४५ हजार ३३४ जनाले संग्रहालयको अवलोकन गरेका छन्।
गएको वर्ष एक लाख ९८ हजार ८२५ जनाले संग्रहालयको अवलोकन गरेको तथ्याङ्क छ। नेपाली पर्यटक, विद्यार्थी र भिआइपी गरेर एक लाख नौ हजार ९१५ जना संग्रहालय पुग्दा सार्क राष्ट्रका १६ हजार ३१० जना र विदेशी १९ हजार २८ जना आएकोे तथ्याङ्क छ। ८१ जनाले संग्रहालयमा फोटोसुटका लागि अनुमति लिएका छन्।
विदेशीमा जापनबाट आउने पर्यटकको संख्या धेरै छ। एक हजार ७६४ जापनका पर्यटकले संग्रहालय भ्रमण गरेका हुन्। यस्तै, एक हजार ७६ फ्रान्सेली, ८१६ दक्षिण कोरियाली, ७९३ अमेरिकी, ५६५ बेलायती संग्रहालय पुगेका छन्।
चालु वर्षको हालसम्म टिकट विक्रीबाट २ करोड १७ लाख २८ हजार १५५ रुपैयाँ संग्रहालयले आम्दानी गरेको लेखापाल शर्माले बताइन्। ‘मासिक २५ लाख रुपैयाँसम्म सञ्चालनमा खर्च हुने गरेको छ’, उनले भनिन्।
संग्रहालय अवलोकनमा आउने विदेशीसँग ५०० रुपैयाँ शुल्क लिइन्छ। सार्क राष्ट्रका नागरिकलाई २५० रुपैयाँ, नेपालीलाई १०० रुपैयाँ, नेपाली विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। आवासीय भिसा पाएका नागरिकले २५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।
पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ। २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो। नेपाल पर्वतारोहण संघको मातहातमा संग्रहालय सञ्चालनमा छ।
संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ। हिमाल बुझ्न चाहने पर्यटकको रोजाई बनेको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने बताउँछिन्।
‘जो हिमाली क्षेत्रमा जादै हुनुहुन्छ उहाँहरु पनि अध्ययनका लागि आउनुहुन्छ। हिमाली क्षेत्रमा नजाने पर्यटक पनि हिमाली जनजीवनबारे बुझ्नलाई संग्रहालय अवलोकन गर्नुहुन्छ’, उनले भनिन्।
हिमालबारे अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय थलो बनेको उनको भनाइ छ। संग्रहालयलाई पर्यटकको सुझाव अनुसार अझैै उत्कृष्ट बनाउदै लैजाने कार्यकारी निर्देशक न्यौपानेलाई बताइन्।