
पोखरा-पोखराको रंगशालालाई व्यवस्थित गराउने कार्यलाई तीव्रता दिँँदै गएको कास्की जिल्ला खेलकुद विकास समितिले अब रंगशाला प्रवेश गर्न परिचयपत्र व्यवस्था गर्ने भएको छ।
सन् २०१९ मार्चमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै यतिबेला रंगशालामा पूर्वाधार निर्माण काम भइरहेको छ। निर्माणमा असुविधा नहोस् र अनावश्यक व्यक्तिलाई रंगशाला प्रवेशमा रोक लगाउने उद्देश्यले परिचयपत्रको व्यवस्था गर्न लागिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए।
करिब ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालाभित्र पूर्वाधार विकासको काम यतिबेला धमाधम भइरहेको छ।
परिचयपत्र बनाउन हाल जिल्ला खेलकुद विकास समिति कास्कीले कास्की जिल्ला खेलकुद विकास समितिमा आवद्ध खेलकूद संस्थाका पदाधिकारी र अन्य आवश्यकलाई बाहेक अरुको हकमा भने केही वार्षिक रकम लिने सोच बनाएको छ।
‘दैनिक मर्निङ वाकमा आउनेहरुका लागि हामीले केही व्यवस्था गर्दैछौं’, अध्यक्ष यामबहादुर गुरुङले भने। कास्की जिल्ला खेलकुद विकास समितिमा हाल करिब ८० संस्था दर्ता रहे पनि करिब २५ वटाबाहेक अन्य सक्रिय नरहेको उनले बताए। ‘धेरैले साधारण सभा पनि गरेका छैनन् न त बैंक खाता नै छ, केन्द्रीय प्रतिनिधि हुन र विदेश भ्रमणका लागि मात्र गठन भएका यस्ता संस्थाको नवीकरण पनि गरेका छैनौ’, उनले भने।
यो पनि हेर्नुहोस्: