तुवाँलोले धुम्म पोखराः निसासिएको जनजीवन, उडान प्रभावित

तुवाँलोले धुम्म पोखराः निसासिएको जनजीवन, उडान प्रभावित
+
-

पोखरा – तुवाँलोले पोखरा हप्ता दिनदेखि ढपक्कै ढाकेको छ। हिमालसँगै परसम्म देखिने पहाडका थुम्काका सुन्दर दृश्यमा रमाउने बानी परेका पोखरेली तुवाँलोले छोप्दा निस्सासिएर बाँचिरहेका छन्।

धुलो, धुवाँ र तुवाँलोले दैनिकी अस्तव्यस्त बनाएको छ। लामो समयदेखि पानी नपर्दा धुलाम्मे पोखरालाई वन डढेलो बढेपछि धुँवाले झनै ढाकेको हो।

यतिबेला पोखराको वायुको गुणस्तर अस्थ्यकर छ। अन्तर्राष्ट्रिय वायु जाँच गर्ने संस्था आईक्यूएयरको तथ्यांक अनुसार बुधबार समाचार तयार पार्दासम्म पोखराको वायुको गुणस्तर इन्डेक्स (एक्युआइ) १७३ देखाएको छ।

एक्युआइ मंगलबार १७५, सोमबार १७२, आइतबार १६७ पुगेको थियो। शनिबार त वायु प्रदूषण इन्डेक्स २०८ एक्वुआइसम्म पुग्यो।

उसो त पोखराको वायु प्रदुषण अप्रिल १८ देखि निकै बढिरहेकोे छ। वायुको एक्युआइ ० देखि ५०० सम्म मापन गरिन्छ। स्वस्थकर हुनलाई वायुको एक्युआइ ५० भन्दा तल हुनुपर्छ।

लामो समयसम्मको खडेरी र आगलागीका घटनाले वायु प्रदुषण बढेको वायु प्रदूषणमा विद्यावारिधि गरेका गण्डकीको नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी बताउँछन्।

‘प्रि–मनसुनमा जति पानी पर्नुपर्ने थियो परेन। लामो समयसम्म खडेरी परेको छ। त्यसैमाथि अहिले आगलागीको घटना बढ्दो भयो’, अधिकारीले भने, ‘सुख्खा भएपछि धूलो वायुमण्डलमा जम्मा भयो धुवाँ पनि वायुमण्डलमा गयो। यी दुईटा प्रमुख कारण भए। अर्को किसानले बाली लगाएको बाँकी रहेको अवशेष जलाउने बेला हो नेपाल र भारतमा। त्यसको धुवाले पनि प्रभाव पारेको हो। यि सबै कारणले पानी कम पर्नाले वायुमण्डलमा ब्लयांकेट जस्तो भएर बसेको छ।’

विगतका वर्षमा अधिकमत् पानी पर्ने भएकाले पोखराको वायु यो हदसम्म प्रदुषित नभएको उनको भनाइ छ। उनको विश्लेषणलाई गण्डकीको वन डढेलोको तथ्याङ्कले स्पष्ट पार्छ।

वन निर्देशनालय गण्डकीको तथ्याङ अनुसार प्रदेशका ४६७ स्थानमा डढेलो लागेको छ। मुस्ताङबाहेक १० जिल्लामै भयावह तरिकाले डढेलो फैलिएको छ।

८ हजार २७७ हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको निर्देशनालयका वन अधिकृत तिलक थापाले जानकारी दिए। उनका अनुुुसार सबैभन्दा प्रभावित जिल्ला नवलपुर हो। नवलपुरको दुई हजार ५५३ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ।

बाग्लुङमा एक हजार ६८५, पर्वतमा १ हजार ४१६.५ म्याग्दीमा ९२२, कास्कीमा ७५०, स्याङजामा ४९७.२, गोरखामा २१५.५, तनहुँमा १८४.३, लमजुङमा ५१.५ र मनाङमा २ हेक्टर क्षेत्रफल डढेलोले भयावह बनाएको छ।

प्रिमनसुन सुरु भएपछि पनि पोखरामा निकै कम पानी परेको छ। प्रिमनसुनमा ८३.८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान शाखा पोखरासँग तथ्याङक छ। गत वर्ष भन्दा १८७.८ मिलिमिटरले कम पानी परेकोे हो।

वायु प्रदुषणका कारण सर्वसाधरण आँखाको समस्यले हैरान छन्। गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा आँखाको समस्या लिएर आउने बिरामीको संख्या बढिरहेको छ।

दैनिक ७ सय जना बढी बिरामी आँखा पोल्ने समस्या लिएर आउने गरेको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन्। ‘आँखाको एलर्जी, चिलाउने, रातो हुने, पिरो हुने समस्या लिएर बिरामी आइरहेका छन्। त्यसमा पनि बालबालिका धेरै छन्’, उनले भनिन्।

यस्तो समस्या देखिएमा आँखामा पानी छ्याप्ने, मिच्ने नगर्न उनको सुझाव छ। डा. श्रेष्ठ भन्छिन्, ‘धेरै पानी छ्याप्दा मिच्दा घाउ हुन सक्छ। औषधिको प्रयोग गर्नु राम्रो हुन्छ।’

तुँवालोले ढाकेपछि पोखराको हवाइ उडान सबैभन्दा बढी प्रभावित भएको छ। गएको शुक्रबारदेखि पोखराबाट हवाइ उडान प्रभावित भएको एयर ट्राफिक कन्ट्रोलर अपरेशन शाखाका प्रमुख योगेन्द्र कुवँर बताउँछन्। उनका अनुसार शुक्रबार र शनिबार उडान ठप्प थियो। आइतबार दिउँसो १ बजेपछि ९ वटा उडान भएको उनले जानकारी दिए।

‘त्यसपछि एउटा पनि उडान हुन सकेन। आज दिउँसो १२ः४० बजेबाट उडान सुरु भएको छ’, कुवँरले भने। पोखराबाट एकतर्फी दैनिक ३२ उडान हुने उनले बताए। वायु प्रदुषण बढेर उडान हुन प्रभावित भएकोमा अहिले उडानका लागि योग्य रहेको सुनाए। कुवँरका अनुसार विमान अवतरणका लागि तीन हजार ७ सय ग्राउण्ड भिजीविलिटी पुग्नुपर्छ।

स्तरोन्नतीको क्रममा रहेको पृथ्वी राजमार्गको आँबुखैरेनि पोखरा खण्डको कष्टकर यात्रा छल्न हवाइ उडानमार्फत पोखरा आउजाउ गर्ने यात्रु मारमा परे। दिनभर जहाजको प्रतिक्षामा बसेर साँझपख रात्रिबस चढेर गन्तव्यमा हिँड्नुपर्‍यो।

हवाइ उडान ठप्प हुँदा सिजनको बेला नै पर्यटकको संख्यामा कमी आएको व्यवसायीहरु बताउँछन्। फ्लाइटबाट आउने पर्यटक आउन नपाएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। ‘दैनिक फ्लाइट क्यान्सिल हुँदा नयाँ मान्छे आउने अवस्था छैन। यहाँ भएका पनि सडकमार्फत गएर पर्यटक घटेको अवस्था छ’, उनले भने, ‘यो सिजनको बेला हो खासमा। टन्न पर्यटक हुने बेलामा मौसमले गर्दा धरै असर गरेको छ।’

होटलको अकुपेन्सी ३५ प्रतिशत मात्रैै रहेको सुवेदीले जानकारी दिए। उनकाअनुसार विगतमा यो सिजनमा होटलको अकुपेन्सी ७५ प्रतिशतसम्म पुग्थ्यो। पोखरा आएका पर्यटक पनि गतिलो दृश्य देख्न नपाउँदा अमिलो मन लिएर फर्कन बाध्य छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?