
पूँजीवादी व्यवस्थाको बढ्दो प्रभाव र आधुनिक प्रविधिसँग अन्तर्घुलित वर्तमान समाज परम्परागतभन्दा कृत्रिम (आर्टिफिसियल) कुरामा बढी प्रभावित छ। अझ युवा पुस्तालाई यस परिपाटीले विशेष लोभ्याएको छ। जे कुरा पनि राम्रो चाहिन्छ, चटक्क चाहिन्छ, त्यति धीरता छैन कि हामी दीर्घकालीन प्रभाव कुरेर त्यसको मूल्यांकन गरौं। तत्काल रिजल्ट चाहिन्छ। र त बुढापाकाले भन्ने एउटा उखान ‘तातै खानु, जल्दै मर्नु’ जस्तो हुन्छ हाम्रो जीवन पनि।
सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसबाट फस्टाएका व्यापारहरूले यस्ता खालका कुराहरूलाई अझ बढी परिस्कृत गरेको पाइन्छ। तत्काल परिणाममुखी मानसिकतालाई ‘क्याच’ गर्ने खालका ‘मार्केटिङ् कन्टेन्ट’ले जो कसैको नजर तान्छ। र कति ‘स्क्याम'(ठगी)मा पर्ने पनि हुन्छ। ठगी आर्थिक मात्र होइन। हाम्रो विश्वास र समयको पनि हुन्छ। यस्ता खालका ठगी बढी मात्रामा सौन्दर्यसँग सम्बन्धित सामग्रीमा हुने गरेको पाइन्छ। जुन सामग्रीको प्रयोगले पैसाको नोस्कानी त हुन्छ नै झनै समस्या निम्त्याएर मानिसको स्वास्थ्यसमेत जोखिममा पर्ने हुन्छ।
एकतर्फ महिला सशक्तीकरण र आत्मनिर्भरता कुरा। अर्कोतर्फ, वर्तमान समाजमा पूँजीवादी व्यवस्थाको प्रभाव र त्यसँगै जोडिएको सौन्दर्य व्यवसायका कुरा। प्रस्तुत छ यी र यस्तै खालका समस्या अनि जीवनका भोगाइका बारेमा करिब तीन दशकदेखि सौन्दर्य क्षेत्रलाई आफ्नो प्रमुख पेशा बनाउँदै करिब दुई सय जनालाई स्वरोजगारसमेत बनाएकी ‘फेसियल हाउस’की सञ्चालक सौन्दर्यकर्मी एवम् व्यावसायी सुष्मा महरासँग देशसञ्चारका लागि अस्मिता केसीले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
१. सुन्दरतालाई कसरी लिनुहुन्छ?
सुन्दर हुनका लागि हामी भित्री र बाहिरी दुवै रूपमा तयार हुनुपर्दछ। मनका सुन्दरताका मात्र कुरा गर्यौं भने त्यो अलिक अपुरो जस्तो हुन्छ। मन र मस्तिष्कसँगै शारीरिक सुन्दरता पनि उत्तिकै आवश्यक हुन्छ। २१ औं शताब्दी र यसले निम्त्याएका बजारका अनेकन रूपमा हामी शारीरिक तबरले पनि सुन्दर हुन सकेमात्र सफल रहन सक्दछौं। सुन्दरता आकर्षण मात्र नभएर ‘कन्फिडेन्स’ पनि हो। जोबिना कुनैपनि क्षेत्रमा काम छैन। हरेक क्षेत्रमा सुन्दरताको महत्त्व बढ्दै गएको छ। स-साना विज्ञापनदेखि ठूलै व्यावसायिक प्रवर्धनका लागि सुन्दरता कारक र निर्धारक बनेको छ, वर्तमान समयमा। उदाहरणका लागि कुनै गाडी होस् या मेडिकल सामग्री त्यहाँ प्रचारको लागि मोडलको आवश्यकता पर्दछ। त्यसलाई अझै सुन्दर बाउनका लागि हामी जस्ता सौन्दर्यकमीहरूले मेकअप गर्ने, डिजाइनरले ड्रेस बनाउने गर्दा झनै सुन्दर हुने हुन्छ।
खासमा भन्दा त मानिसको दैनिकी र आधारभूत आवश्यकतामा सुन्दरता पनि थपिएको छ। मानिसहरूले आफ्न नित्यकर्ममा सुन्दरतालाई ध्यान दिन र त्यसको लागि आवश्यक विधिलाई पनि अपनाउन थालेका छन्। जुन निकै सकारात्मक कुरा हो।
२. सुन्दर हुन के गर्नुपर्छ? डेली स्किनकेयर कसरी गर्ने?
सुन्दर हुन हामीले मुख्यतया दुई तरिका अपनाउन सक्दछौं। एउटा मेकअप गरेर। मेकअप गरेर जस्तोसुकै दाग-धब्बा छ भनेपनि त्यसलाई छोपेर राम्री भएर प्रस्तुत हुन सकिन्छ। अर्को, भनेको हाम्रो छाला। हाम्रो छाला जस्तो छ त्यसलाई टल्काउने। टल्काउनका लागि हामीले छालाको स्याहार (स्किन केयर) दैनिक रूपमा रुटिन बनाएर गर्नुपर्ने हुन्छ।
रुटिनमा ‘स्किन केयर’ गर्दा बिहानको समयमा घाम, धुलो र हावाबाट बच्नका लागि ‘प्रोटेक्सन’ लागि हामीले के-के सामान लगाउने त्यो अनुसारले लगाउनुपर्दछ। जस्तो बिहानमा मस्टराइज गर्ने, सन्सक्रिम लगाउने गर्नुपर्दछ। जसले हाम्रो मुहारमा चकम दिन्छ।
यस्तै, बेलुकाको समयमा दिनभर लागेको धुलो, फोहोर र हामीले लगाएको मेकअपलाई सफा गर्ने। राति उमेर अनुसारको आफ्नो अनुहारलाई आवश्यक प्रोटेक्सन सामग्री हामीले प्रयोग गर्न गर्नुपर्ने हुन्छ। जस्तो: रिंकल परेको छ भने एन्टी रिंकल क्रिम। दाग-धब्बा छ भने भिटामिन सी सेरम लगाउने। यस्तो आफ्नो शरीरको आवश्यकता अनुसार के लगाउने भन्ने बारेमा जानकारी लिएर रातिमा लगाउँदा हाम्रो छाला मुलायम र स्वस्थकर रहन्छ।
रुटिन अनुसार स्याहार केहीपनि नगर्ने तर राम्री मात्र कसरी देखिने भन्ने खालको मानसिकताले गर्दा हाम्रो छालाले सास फेर्न नपाएर र बाहिरको धुलोले हाम्रो छालामा प्रत्यक्ष रूपमा टच गरेर असर गरेको हुन्छ। अनुहारमा अनेकन दाग आउने, अनेकन रोग लाग्ने यसैका उपज हुन्। हामीले मेकअप गर्दा पनि त्यसभन्दा पहिले सफा पानीले मुख सफा गरी मस्टराइज गरी, सन्सक्रिम लगाएर मात्र मेकअप गरी बाहिन निस्कनु पर्दछ। यो दैनिक रुटिनकै काम हो।
म त भन्छु। हामीलाई जसरी दिनमा एक पटक खाना खाएर पुन्दैन त्यसैगरी नै ‘स्किन केयर’ पनि एक पटक मात्र गरेर पुग्दैन। बिहान ब्युँझिएदेखि साँझ ननिदाउन्जेलसम्म पटक-पटक रुटिन अनुसार केयर गरिरहनु पर्छ। जसरी स्वस्थ खानाको लागि हामीले भिटामिन, प्रोटिन, क्याल्सियम, कार्वोहाइड्रेड सबै मिलाएर खान्छौं। त्यसरी नै हाम्रो स्किनको लागि आवश्यक सबै पौष्टिक तत्व मिलाएर लगाउनु पर्दछ। यसले हामीलाई सुन्दर र स्वस्थ दुवै बनाउँछ।
३. खासमा यो ‘स्किन केयर‘ सामग्री त डर्माटोलोजिस्टको सल्लाहमा लिनुपर्ने होइन र? अनि पार्लरमा किन?
डर्माटोलोजिस्टहरूले यस्तो खालको स्किनमा यो खालको प्रोडक्ट लगाउने भनेर निर्धारण गर्नका लागि सहयोग गर्नुभएको हुन्छ। उहाँहरूको सल्लाह अनुसार उत्पादन भएका चिजहरूनै हामीले ग्राहकलाई दिन्छौं। ब्युटी प्रडक्ट र स्किन केयर प्रडक्ट फरक छ।
प्रायले नबुझेको कुरा नै यही हो। स्किन केयर सामग्रीमा राम्री पनि हुन चाहियो भनेर त डाक्टरहरूले सल्लाह दिनुहुन्न केयर गर्ने उपाय दिने हो। अनि राम्री चैँ कसले गराउने त? त्यो हाम्रो पाटो हो। यसकारण ब्युटिसियन र डाक्टर एकअर्काका लागि पूरक जस्तै हो, सुन्दरताका लागि। हामीले राम्री बनाउँछौं, डाक्टरहरूले छाला राम्रो बनाउनुहुन्छ। यसमा हामीले डाक्टरकोमा नजानू र उहाँहरूले ब्युटिसिएनकहाँ नजानू हामीले दिएको प्रोडक्ट नलगाउनू भन्न मिल्दैन। डाक्टरहरू आफै पनि त ब्युटिका समान प्रयोग गर्नुभएको हुन्छ। अझ विशेष गरी महिला डाक्टरहरूले बढी लगाउनुहुन्छ। अब असरै गर्ने भए त उहाँहरूले पनि लगाउनुहुँदैथ्यो होला!
हामी कहाँ आएका ग्राहकलाई डाक्टरको आवश्यकता परेको ठाउँमा हामीहरूले उहाँहरूलाई त्यहाँ पठाउँछौं पनि। फेरि पहिलेको जस्तो छैन। अहिलाका ब्युटिसिएनहरू पढेलेखेको हुनुहुन्छ। यसकारण पनि दुवैको सल्लाहमा केयर गर्दा झनै प्रभावकारी हुन्छ। यसरी गर्दा हामीकहाँ आउने ग्राहक बाहिर र भित्रै दुवै रूपमा सुन्दर हुने कुनै नकारात्मक असर नहुने हुन्छ।
४. सस्तोमा सेवा र सामान दिने भनेर सामाजिक सञ्जालमा विभिन्न प्रचार आइरहेका हुन्छन्? ‘फेसियल हाउस‘लाई कसरी विश्वास गर्ने?
अतिबेला सामाजिक सञ्जालमा हरेक समानको यति धेरै तरिकाले प्रचार भएयको हुन्छ कि कसलाई विश्वास गर्ने भनेर दुविधामा पर्नु सामान्य हो। तर, हामीले बुझ्नुपर्ने कुरा के छ भने फेसियल हाउसले यति धेरै लामो यात्रा गरेको छ कि यस क्रममा धेरै अनुभव बटुलेको छ। यी अनुभवको आधारमा मेरो प्रमुख मान्यता भनेकै विश्वास हो। ग्राहकको विश्वास कायम राखिराख्नका लागि र उहाँहरूको स्वास्थ्यमा नकारात्मक असर नपरेस् भन्नका लागि हामीले हामीकहाँ प्रयोग हुने र हामीले दिने हरेक प्रोडक्टको बारेमा राम्रोसँग बुझ्छौं। हामीले प्रोडक्ट ल्याउने कम्पनीको विश्वसनीयता र टेस्ट गरेर मात्रै हामीले ग्राहकलाई समान दिने हुँदा हामीलाई विश्वास गर्न हिच्किच्याउनु पर्दैन।
हामीले आफैले या हाम्रो टिमको कसैले प्रयोग गरी रिसर्च गरी राम्रो आउपुट आएपछि मात्र ग्राहकलाई दिन्छौं। ‘ब्रान्ड भ्यालु’का लागि पनि हामीले राम्रो खालको प्रोडक्ट दिएका हुन्छ। धेरै जनालाई राम्रो सेवा दिएर निरन्तर क्रियाशील रहनु नै हाम्रो प्रमुख उद्देश्य हो। यसकारण नै ‘फेसियल हाउस नेपालको नम्बर वान ब्युटिपार्लर’को रूपमा स्थापित छ। हामीकहाँ प्राय:कहिल्यै पार्लर नगएका ग्राहकहरू पनि आउनुहुन्छ। यो भनेको हामीप्रति उहाँहरूको विश्वास हो। यसलाई कायम राखिरहन हामीले नाफा भन्दापनि सेवा र विश्वसनीयतालाई प्राथमिकता दिएका छौं।
बेफाइदा भन्दापनि २१ औं शताब्दीमा छोरीमान्छे मात्र नभएर छोरामान्छेहरूलाई पनि सौन्दर्यको उत्तिकै आवश्यकता भइसकेको छ। समयको परिवर्तन र प्रविधिको विकाससँगै यसका पनि नयाँ-नयाँ आयाम थपिएका छन्। बजारमा आवश्यकता र महत्त्व बढ्दै जाँदा हामीलाई झनै फाइदा भएको छ।
५. पार्लर तत्कालीन उपाय मात्र हो। यसले दीर्घकालीन फाइदाभन्दा बेफाइदा ज्यादा गर्छ भन्ने पनि सुनिन्छ यसलाई कसरी लिनुहुन्छ?
पार्लर तत्कालीन उपाय मात्र हो। जस्तो कि: थ्रेडिङ, कटिङ, मेकअप सबै तत्कालीन हो। एक पटक गरेपछि सधैका लागि हुँदैन। बाहिर(देश बाहिर) त केही दीर्घकालीन उपाय जस्तो कि: सर्जरी, लेजर गरेको पनि पाइन्छ। तर, नेपाली बजार र हाम्रा ग्राहकको आवश्यकताको आधारमा हामीले तत्कालीन सेवा नै दिन्छौं। खासमा हामी जे कुरापनि निरन्तरता दिन अल्छी मान्ने भएको भएर पनि हो। तर निरन्तर गरिरहँदा रिजल्ट पनि राम्रो रहन्छ। असर पनि रहदैन। तर, जन्मजातै ‘सेन्सेटिभ स्किन’ भएको हो भने चै केही समस्या हुने पनि हुन्छ। समग्रमा भन्नुपर्दा सकारात्मक प्रभावनै देखिन्छ।
७. सौन्दर्य व्यावसायका फाइदा र बेफाइदा के रहेछन्?
बेफाइदा भन्दापनि २१ औं शताब्दीमा छोरीमान्छे मात्र नभएर छोरामान्छेहरूलाई पनि सौन्दर्यको उत्तिकै आवश्यकता भइसकेको छ। समयको परिवर्तन र प्रविधिको विकाससँगै यसका पनि नयाँ-नयाँ आयाम थपिएका छन्। बजारमा आवश्यकता र महत्त्व बढ्दै जाँदा हामीलाई झनै फाइदा भएको छ।
अलिकति चुनौती भनेको बजारमा आएको नयाँ खालको ट्रेन्ड र प्रविधिको हो । समय र आवश्यकतासँगै आफूलाई परिस्कृत र परिमार्जित गर्दै लैजान सके फाइदा नै फाइदा रहेका छन्। हामीले यही नै गरिरहेका छौं।
नेपालमा भन्दापनि विदेशमा यसको भविष्य एकदमै राम्रो रहेको छ। नेपालमा यो पेशामा एक खालको ज्ञान लिएर विदेशमा गएकाहरूले एकदमै राम्रो आम्दानी गर्नुभएको छ। अझ कतिपयले विदेशी सीप र प्राविधिक ज्ञान लिएर पुन:नेपाल फर्किएर एकदमै राम्रो गरिरहनुभएको छ। यो पेशामा लागेर आफूपनि सुन्दर रहने र संसारलाई पनि सुन्दर बनाउने भएका कारण यो पेशामा लाग्नेहरू खुसीका साथ समय बिताइरहनुभएको हुन्छ।
८. तपाईं जस्तै आत्मनिर्भर बन्न चाहने महिला दिदीबहिनीलाई के भन्न चाहनुहुन्छ?
आत्मनिर्भर बन्नको लागि पहिला त हामीले आफ्नो मनलाई बाँध्नु पर्दछ। कुनै पनि लक्ष्य हासिल गर्नका लागि त्यसलाई टार्गेट गरेर दिनरात मेहनत गरी काम गर्दा कसैले पनि रोकेर रोकिँदैन। मन हो, घरी हडबडाउँछ। घरी लरबराउँछ। तर, हामीले मनलाई बुझाएर अगाडि बढे पक्कै सफल भइहन्छ।
यति भनिरहँदा पनि हामी महिलालाई आत्मनिर्भर बन्नका लागि धेरै कुराहरू बाधक बनिरहेका हुन्छन्। कहिले समाज, कहिले परिवार त कहिले आर्थिक कुराले बाटो छेक्न खोजिरहन्छन्। हाम्रो समाज पुरुष प्रधान भएका कारण लगानीको कुरामा पुरुषको तुलनामा महिलामा विश्वास कम गरेको देखिन्छ। हाम्रो परिवारमै पनि छोराले केही गर्छु भन्दा छाती फुल्याएर उसलाई इन्करेज गर्दै लगानी गरेको पाइन्छ भने छोरीलाई लगानी गर्न हिच्किच्याइरहेको हुन्छ। यसकारण सुरूमा त हामीले सपना देख्न नै पाइरहेका हुँदैनौं। तर, म के भन्छु भने जसले सपना देख्छ। उसैले पूरा गर्छ। हामीले सपना देख्नुपर्छ। तर थालनी हामीले सक्ने सामान्य कुराबाट गर्नुपर्छ।
सपना देख्ने तर प्रयास नगर्ने गरेर पनि सफल भइन्न। सपना देखेपछि सोही अनुसारको थालनी, निरन्तरता र धीरता कायम राख्न सके अवश्य सफल भइन्छ। मेरो व्यावसायिक जीवनमा भएको पनि यही हो। यस क्षेत्रमा काम गरेको त धेरैं भयो। आफ्नै गर्नुपर्न भनेर करिब दुई दशकअघि पाँच जनाको परिवारबाट ‘फेसियल हाउस’ सुरू गरे। जुन अहिले देशैभरी फैलिन थालेको छ। समस्याहरू पन्छ्याएर सपना देखें। त्यसलाई पूरागर्न निरन्तर खटें। धीरता राखें र दृढ भएर लागिपरें। म जिन्दगीभरी नै यसमै क्रियाशील रहन्छु।
(करिब तीन दशकदेखि निरन्तर सौन्दर्य क्षेत्रमा कार्यरत सौन्दर्यकर्मी तथा व्यावसायी महराले काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा शाखा कार्यालय खोली सेवा दिँदै आएकी छन्। साथै, उनले देशभरका शाखामा गरी करिब दुई सय जनालाई रोजगारी दिएकी छन्। उनी एफएनसिसीआई काठमाडौंको सचिवसमेत हुन्।)