
नेपाल र युरोपियन युनियनको सम्बन्ध स्थापना भएको ५० बर्से आसवरमा नेपाल युरोपियन फिल्म फेस्टिभलको १३ औ संस्करण हालै काठमान्डुमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन सत्रमा मार्टिन म्याकडोनाहद्वारा लिखित र निर्देशित ‘द व्यान्सिज अफ इनिसिरिन’ नामको सिनेमा हेर्ने मौका मिल्यो। एकेडेमी अवार्डको पाँच विधाको नोमिनेसनमा पर्न सफल सिनेमा लगभग सबै पक्षमा सशक्त र प्रभावशाली छ।
सिनेमामा मलाई महसुस भएको सबै भन्दा शक्तिशालीदृश्य बाट सुरु गरौँ। सिनेमामा लामो समयदेखिका घनिष्ठ मित्र कोल्म (ब्रान्डन ग्लिसन) र प्योड्रिक (कोलिन फेरेल) को मित्रताको अन्त्य हुन्छ। कोल्मले प्योड्रिकसँग मित्रता टुटाउने आशय व्यक्त गर्छ। कोल्म प्योड्रिक सग बोल्न चाहँदैन र एकान्त चाहन्छ। प्योड्रिकलाई यस कुराले विक्षिप्त बनाउँछ। प्योड्रिक बारम्बार आफ्नो केही गल्ती भए माफ गर्न अनुरोध गर्दै कोल्मसँग बोल्ने बहाना खोजिरहन्छ। कोल्मले यदि आफूलाई पछ्याउन र दिक्क लगाउन नछाडे आफ्नो एउटा औँला काटेर प्योड्रिकलाई दिने धम्की दिन्छ।
यसै पृष्ठभूमिमा निर्देशकले एउटा अद्भुत दृश्य सिनेमामा प्रस्तुत गरेका छन्। प्योड्रिक आफ्नो सबैभन्दा मिल्ने साथीले आफ्नै औला काटोस् भन्ने बिलकुल चाहँदैन र समुन्द्रको किनारमा आफ्नो कुकुरसँग टोलाइरहेको कोल्मलाई सम्झाउन पुग्छ। तर उसले आफ्नो वाचा तोडिसकेको हुन्छ। विक्षिप्त कोल्मले भोलिपल्ट प्योड्रिकको डोकामा आफ्नो काटिएको औँला फालिदिन्छ। यस बिन्दुबाट सिनेमाले भावनात्मक उचाइ लिन्छ र दर्शकलाई नराम्रोसँग झस्काई दिन्छ।
न्युयोर्क टाइम्सको नियमित सिनेमा स्तम्भ ‘एनाटोमी अफ अ सिन’ मा यस सिनेमाका निर्देशकले उक्त दृश्यले समग्रमा सिनेमाको अर्थ र भाव प्रकट गरेको आशय व्यक्त गरेका छन्। कोल्मलाई रिसाएको प्रस्तुत गर्ने कि निरीह देखाउने भनेर ठूलो छलफलबाट उल्लेखित सिन निर्माण गरिएको थियो। कोल्मको आक्रामकता र निरीहताको सुन्दर सम्मिश्रण रहेको उक्त सिनले बाँकी सिनेमाको मार्ग निर्माण गरेको छ। त्यसपछि हुने सबै घटनाहरू यसै घटनाका परिणामहरू हुन भनेर भन्दा गलत हुँदैन।
कोल्म आफू र आफ्नो सबैभन्दा मिल्ने साथीको मित्रता किन तोड्न चाहन्छ भन्ने बुझ्न सिनेमाको मिहिन विश्लेषण जरुरी छ। कोल्म भायोलिन बजाउने र धुन कम्पोज गर्ने सङ्गीतकार हुन्छ। कला अमर हुन्छ र जीवन मरणशील भन्ने उसले बोध गरेको हुन्छ। आफ्नो जीवनको महत्त्वपूर्ण समय लगभग सधैँजसो भट्टीमा गएर रक्सी पिउँदै बितेकोले ऊ चिन्तित छ। कोल्म सङ्गीतको नयाँ धुन सृजना गरेर विथोवन र मोजार्ट जस्तो स्मरण योग्य र अमर हुन चाहन्छ र साथीले पनि त्यस्तै केही गरोस् भन्ने सोच्छ। कोल्म कलाप्रेमी हुन्छ र उसलाई एकान्त आवश्यक भएको आशय व्यक्त गर्छ। तर यो कुरा प्योड्रिकले बुझ्दैन। ऊ एकदमै साधारण र सोझो गाउँले चरित्र हो। उसको लागि मित्रताभन्दा ठूलो कुरा केही हुँदैन र ऊ कोल्मलाई गुमाउन डराउँछ। यही कला र जीवनको अन्तर्द्वन्द्व सिनेमाले गज्जब्सँग प्रस्तुत गरेको छ।
यो सिनेमालाई ‘दोषरहित ट्राजिकमेडी’ हो भन्दा फरक पर्दैन। दिउँसोको २ बज्नासाथ भट्टीमा गएर घन्टौँसम्म ‘घोडाको लादी’ का बारेमा गफ गर्दै रमाएर बस्ने साथीको मित्रता मौनतामा परिणत गर्नु पर्ने बाध्यात्मक परिस्थितिले सिनेमालाई मजबुत एक्सपोजिसन दिएको छ। सुरूमा दुई पात्रबीचको घनिष्ठ सम्बन्ध पेस गरेर केही समय पछि दुई पात्रका बिलकुल फरक आवश्यकता र चाहना स्थापित गरेका छन् निर्देशकले। एउटा पात्र मानवीय एक्लोपनको असामान्य परिस्थितिमा फसेको छ भने अर्को पात्र अस्तित्वको सङ्कटमा रुमलिएको छ। त्यस पश्चात् कथाको इन्टेन्सिटी बढ्न थाल्छ।
सिनेमाको अर्को पात्र डोमिनिक (बेरी कोगहन) पलायनवादी पात्र हो। आफ्नै बुबा (जसको सोख रक्सी पिउनु र हस्त मैथुन गर्नु हो) को पिटाइ र अपहेलनबाट बच्न ऊ प्योड्रिकलाई साथी बनाउँछ। प्योड्रिकलाई डोमिनिक मन पर्छ तर कोल्मसँगको मित्रता कमजोर भएकोमा चिन्तित छ। डोमिनिक कुनै रूपमा प्योड्रिकको बहिनी सिबोनप्रति आकर्षित हुन्छ। आफू भन्दा बढी उमेरको केटीसँगको एकोहोरो प्रेम सम्बन्ध टुटेकाले विक्षिप्त भएर आत्महत्या गर्छ। पात्रहरूको जीवनको निरर्थकता र इनिसिरिनको जीवनको निरसता यिनै दृश्यहरूले समग्रमा प्रस्तुत गरेको छ।
सिनेमा दुखद भए पनि अँध्यारो आकाशमा चाँदीको रेखाझैँ प्रशस्त संवादहरूले दर्शकलाई हँसाइरहन्छ। कोल्मले आफू मोजार्ट जस्तो सुप्रसिद्ध र चर्चित भएर अमर हुने भन्दै मोजार्टलाई नचिन्ने को छ? भन्दा उसको साथी प्योड्रिकले ‘को मोजार्ट’? भन्नेबित्तिकै पुरै दर्शक हाँस्छन्। अर्को दृश्यमा प्योड्रिकलाई रोबर्ट जेमेकिसको पात्र ‘फोरेस्ट गम्प’ जस्तो थोरै अबोध र मूर्ख देखाउन खोजे जस्तो भान हुन्छ। दुवै पात्रहरू अरूबाट सजिलै प्रभावित र प्रताडित हुन्छन् तर प्योड्रिकको चरित्र फोरेस्ट गम्पभन्दा के अर्थमा फरक छ भने ऊ कुनै कुरामा दृढ निश्चयी छैन बरु ऊ विनम्र लाग्छ।
कथाले १९२३ को आइरिस गृह युद्धको पृष्ठभूमि प्रस्तुत गरेको छ। समुन्द्रपारि पड्किरहेका तोपहरूको आवाजले स्वतन्त्र आयरल्यान्डको सपना झल्किन्छ भने पात्रहरू बाँचिरहेको टापु ‘इनिसीरिन’ त्यस युद्धबाट अलग र अछुतो छ। सिनेमामा देखाइएको गाउँ युद्धको प्रभावबाट प्रत्यक्ष रूपमा अछुतो देखाइए पनि केही घटना र परिघटना हरूले पात्रको मनस्थिति र मनोविज्ञानमा भने घाउ र दागहरू छाडेको छ। यो यस्तो गाउँको कथा हो जहाँ जीवन छ र सम्बन्धहरू छन्। थोरै सम्बन्ध मजबुत छन् तर धेरै सम्बन्धहरू मसिनो धागोले उनेर अल्झिएका छन्।
सिनेमामा युद्धको अप्रत्यक्ष प्रभावलाई कसरी चित्रण गरिएको छ भनेर बुझ्न यसको दृश्य भाषाको विश्लेषण जरुरी छ। गृह युद्धको समय आयरल्यान्ड देश, समाज र व्यक्तिमा विभाजित थियो भनेर देखाउन पहिलो दृश्य नै समुन्द्रको किनारमा रहेको फराकिलो खेतलाई साना गराहरूले मसिना कोठामा विभाजन गरेको वाइड सर्ट प्रस्तुत गरिएको छ।यो मनोभाव मजबुत बनाउन पटक पटक यो दृश्यलाई दोहोर्याइएको छ। सिनेमामा देख्न सकिने अर्को मजबुत दृश्य झ्यालको छ। सिनेमाको पात्रहरूको दृष्टिकोण घर बाहिरको पात्रले भित्र हेर्दा र घर भित्रको पात्रले बाहिर हेर्दा फरक तरिकाले पेस गरेको छ। सिनेमामा देखाइएका झ्यालहरूले विशाल जीवनका मसिना यथार्थहरू चरितार्थ गर्न खोजेको छ। प्रकाशको प्रयोगले व्यक्तिको सोच र चरित्र प्रतिनिधित्व गरेको छ। क्लोमले चर्चमा कन्फेस गर्न जाँदा सानो क्रसबाट भित्र छिरिरहेको प्रकाशले उसको मनभित्र प्रवेश गरेको चेतना प्रस्तुत गरेको छ।
सिनेमाको अर्को एउटा दृश्यमा हाई एङ्गल सर्टको सुन्दर प्रयोग गरिएको छ। भर्जिन मेरीको ठुलो मूर्ति पछाडिबाट टाउकोमाथि क्यामेरा राखेर खिचिएको दृश्यमा भुईँमा हिँडिरहेका पात्रहरूलाई भगवानको नजरबाट कोही बचेको हुँदैन भन्ने धार्मिक आस्था झल्काउने दृश्य भाषा निर्माण गरिएको छ।
सिमेमाले असल र खराब हुनुबिचको प्रमुख द्वन्द्व कलात्मक रूपमा प्रस्तुत गरेको छ। प्योड्रिक आफू असल हुनका लागि मित्रता तोड्न चाहँदैन। कुनै कारण बिना मित्रता तोड्नु उसलाई अनैतिक लाग्छ। ऊ बारम्बार बहिनीलाई आफू उदासीन र सुस्त त छैन भनेर सोधिरहन्छ। भट्टीमा रक्सी पिउन आएका अन्य व्यक्तिलाई पनि त्यही प्रश्न सोध्छ। ऊ दुखी नहोस् भनेर सबैले ऊ असल भएको बत्ताउँछन्। अन्त्यमा प्योड्रिकको चरित्रमा आएको परिवर्तन हेर्न लायक छ। असल भएर बाँच्न कति गाह्रो छ भनेर दर्शकलाई बुझाउन पात्रको ट्रान्सफमेसन निर्देशकले चलाखीपूर्ण तरिकाले दृश्यमा उतारेका छन्।
सिनेमामा चरित्र चित्रण पनि सानदार रहेको छ। प्रमुख पात्र प्योड्रिकले आइरिस गृह युद्ध ताकाको स्थानीय लगाव बोध गराउँछ। अर्को पात्र कोल्म कलात्मक आत्मा भएको सङ्गीतकार हो। प्योड्रिकको दिदी सभोन प्योड्रिकको सत भाव र क्लोमको कलात्मकताको सम्मिश्रण हो। सभोनले गृह युद्धताका सक्षम युवाहरूको पलायनवादी सोच पनि प्रतिनिधित्व गर्दछिन्। अर्को पात्र डोमिनिक थुप्रै सिनेमामा देखिने खालको सामाजिक बेवकुफ जस्तो लाग्छ तर उसको आफ्नै त्रासदीय दोष छ जसले उसको पतन गराउँछ। डोमिनिकको पिता रक्सी र हस्तमैथुनको सौखिन क्रूर र हिंस्रक प्रहरी हो। उसको पनि जीवनको आफ्नै निरर्थकता छ।
समग्रमा सिनेमा अद्भुत लाग्छ। यो बलिदानपूर्ण प्रेमको कथा हो। प्योड्रिकलाई एउटा सामान्य, असल र सोझो पात्र बाट समाजमा सङ्घर्षपूर्ण जीवन बाँच्न उसको सबै भन्दा मिल्ने साथीले आफ्ना हातका औँला बलिदान गरेको भावले दर्शकलाई गहिरो शोकमा डुबाइदिन्छ। बेन्सिज अफ इनिसिरिन हृदय विदारक त्रासदीपूर्ण मित्रताको कथा हो। यो सिनेमा हेर्नै पर्ने सूचीमा राख्दा फरक पर्दैन।