
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु, घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघले बुधवार आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटो सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए।
उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीतिअनुरुप गर्ने तयारी रहेको बताए। उनले विदेशबाट फर्कने नेपाली नागरिकलाई मुलुकभित्रै स्वरोजगार बनाउन सीपमूलक क्षेत्रमा काम गर्न नसकिएको स्विकारे।
उनले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेको बताए।
उनले सरकारको अबको प्रयास देशमै रोजगारी सिर्जना गर्ने रहेको बताए। उनले सरकारले सिटिभिटी र सीप विकास प्रशिक्षणमार्फत श्रमिकलाई सीप सिकाउने प्रयास गरेको बताए। उनले नेपाली उत्पादनलाई सरकारी निकायमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरिने बताए।