
धनगढी – सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीको गौरीगगा नगरपालिका, ११ कटानकी माया विकका परिवारलाई पनि प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैया दिने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्री परिषद बैठकले मायाका परिवारलाई पाँच लाख रुपैया दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रंकाश बहादुर शाहले जानकारी दिए ।
नगरपालिकाको सामाजिक परिचालिकामा कार्यरत माया गत असार १० गते बेपत्ता भएकी थिईन भने असार १५ गते नगरपालिका, ११ को चपरथली सामुदायिक वनभित्र शव भेटिएको थियो ।
माया विकको सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतले गौरीगङ्गा नगरपालिका, ११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल, सोही ठाउँका २७ वर्षीय मनोज बोगटी, ऐठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई पूर्पक्षका लागि कैलाली कारागार चलान गरिसकेको छ ।
कविता विष्टका परिवारलाई पनि राहत दिइने
प्रदेश ७ को सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टका परिवारलाई पनि राहत दिने भएको छ । तर, राहत रकम कति दिने भन्नेबारे भने खुलाइएको छैन ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पीडित परिवारसँगको भेटघाटपछि रातहको घोषणा गरिने बताए ।
केहीदिनभित्रै कविताका परिवारलाई भेटन कृष्णपुर जाने उनले बताए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ कि १७ वर्षीया कविता विष्टको असार ३२ गते लालझाडी गाउँपालिका–५, लालझाडी जंगलको आमखैया नजिक शव फेला परेको थियो । विष्ट असार २६ गते घरबाट हराएकी थिइन् ।
उनको हत्या आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई पक्राउ गरिसकेको छ ।