पर्वत-गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताए।
भू-तथा जलाधार व्यवस्थापन कार्यालयको आज पर्वतमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको छ।’’
सङ्घीय सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत मन्त्री लम्सालले बताए। उनले भने, ‘जनतालाई केही भएन भनेर निराश बनाउने काम भैरहेको छ, ‘अब कामले गति लिन्छ। हामी मनोबल उठाउने काम गर्छौ।’’
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले स्थानीय तह र प्रदेशका बीचमा कामको सहकार्य र समझदारी नबनेसम्म कठिनाई आइपर्न लागेको बताए।