
पोखरा- पोखराको व्यस्त बजार महेन्द्रपुलमा सार्वजनिक शौचालय छ । दिशापिसाबले अत्याए पनि पोखरेलीले सार्वजनिक शौचालयको प्रयोग गर्न पाउदैनन् । बरु चियाकफी चिसोको बहाना बनाएर होटल रेष्टुरेन्ट छिरेर हल्का हुनुपर्ने बाध्यता छ ।
तस्बिर देखेपछि प्रश्न उब्जन सक्छ निर्माणाधिन शौचालय कसरी प्रयोग गर्न मिल्छ र ? नझुक्किनुस् यो शौचालय उद्घाटनको ७ महिना बितिसकेको छ । असोज २६ गते पोखरा महानगरपालिका मेयर धनराज आचार्य र गैरआवसीय नेपाली संघ एनआरएनएकी अध्यक्ष समेत रहेकी शौचालय निर्माण संयोजक रविना थापाले तामझामका साथ उद्घाटन गरिसकेका हुन् । भव्य कार्यक्रम गरेर उद्घाटन गरिएको शौचालय पोखरेलीले चार महिना पनि प्रयोग गर्न पाएनन् । माघको अन्तिमदेखि शौचालयको बाँकी काम गर्न भन्दै बन्द गरिएको हो ।
पोखरा महानगरपालिकाले दिएको जानकारी अनुसार सार्वजनिक शौचालयको ५० प्रतिशत काम बल्ल सकिएको छ । अहिले पार्क, फल्चा र बायोडायजस्टरको काम भइरहेको इञ्जिनियर कृपा रञ्जितले बताइन् । ‘पहिलो चरणमा शौचालय बनेको हो । अहिले गार्डेनिङ र बायोडायजस्टरको काम हुँदैछ । असारसम्म सम्पन्न हुन्छ’, उनले भनिन् ।
शौचालयको ठेक्का लाखे कन्सट्रक्सनले ५५ लाख रुपैयाँमा लिएको हो । सुरुमा बनाइएको सेफ्टिटेंकीमा बायोडायजस्टर जडान गर्न नमिल्ने भएपछि लाखेलाई शौचालय निर्माणको ४५ लाख रुपैयाँ भुक्तानी गरिएको रञ्जितले जानकारी दिइन् ।
२०७९ साल पुसमा पोखरा महानगरपालिका र गैरआवसीय नेपाली संघबीच महेन्द्रपुलमा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको थियो । सम्झौताको तीन महिनापछि २०७९ चैत २७ गते पोखरा मेयर धनराज आचार्य, गैराआवसीय नेपाली संघ एनआरएनएका अध्यक्ष समेत रहेकी शौचालय निर्माण संयोजक रविना थापा र पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले शिलन्यास गरेका थिए । एनआरएनएको ६० प्रतिशत र महानगरपालिकाको ४० प्रतिशत गरेर एक करोड रुपैयाँ लगानी रहेको शौचालय तीन महिनामा सक्ने सम्झौता थियो ।
तर, उद्घाटन गरिएको शौचालयमा मात्रै एनआरएनएले लागत साझेदारी गरेको छ । अहिले महानगरपालिकाले उपभोक्ता समितिसँग मिलेर फल्चा र पार्कको काम गरेको हो । कन्टीजेन्सीसहित २४ लाख ७० हजार ७१७ रुपैयाँ ८५ पैसा लगानीमा फल्चा निर्माण हुने इञ्जिनियर मनोज वाग्लेले बताए । त्यसमा महानगरपालिकाले २० लाख रुपैयाँ लगानी गर्नेछ । बाँकी उपभोक्ता समितिले व्यहोर्नेछन् ।
फल्चा निर्माणको काम भर्खर सुरु भएको उनको भनाइ छ । ‘फल्चाका लागि काठको काम भइरहेको छ । भक्तपुरको इट्टा प्रयोग हुनेछ । अहिले देखिने काम कम भएपनि काठ ल्याएपछि धेरै सकिन्छ’, उनले भने ।
डायजस्टर जडानसहित पार्कको काम ३५ लाख ८० हजार ९७ रुपैयाँ ४७ पैसामा उपभोक्ता समितिमार्फत काम भइरहेको छ । पार्कमा महानगरपालिकाले ३३ लाख ५२ हजार २७३ रुपैयाँ लागत व्यहोर्नेछ । बाँकी उपभोक्ता समितिले लागत साझेदारी गर्नेछन् ।
उद्घाटनको सात महिना बित्दासमेत निर्माणको काम नसकिदा सार्वजनिक शौचालय सार्वजनिक आलोचनाको विषय बनेको छ । गैरआवसीय नेपाली संघ एनआरएनको नयाँ नेतृत्व चयनको बेला नजिएकाले पनि शौचालय मात्रै भएपनि उद्घाटन गरेको महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए ।
उनले भने, ‘हस्तान्तरण गर्नुपर्यो। हाम्रो यहीं टिमले गर्नुपर्छ भन्ने उहाँहरुको कुरा भयो ।’
उद्घाटनको बेला प्रयोग गर्न सकिने भएपनि ग्याँस उत्पादनका लागि बायोडायजस्टर जडान नभएको उनको भनाइ छ ।
‘अहिले बायोडायजस्टर जडानको काम भइरहेको छ । पहिला त्यसको दूरी नमिलेर हो । सेफ्टिटेंकीबाट आकाृ ग्याँसले मट्का चिया बेच्ने र विपन्न एउटा परिवारलाई रोजगारी दिने भन्ने हो’, प्रवक्ता तिम्लिसिनाले बताए ।
शौचालयमा स्तनपान कक्ष, सेनिटेरी प्याडको भेन्डर मेसिन पनि जडान छ । उद्घाटनपछि खोलिएको समयमा पानी तान्ने मोटर, शौचालयका धारा टुटी चोरी भएको थियो ।
सार्वजनिक शौचालय निर्माण गरिएको स्थानमा पोखरा आर्ट ग्यालरी थियो । पूरानो र जीर्ण आर्ट ग्यालरी भत्काएर महानगरपालिकाले शौचालय निर्माण गरेको हो । अहिले क्षत्री समाजको भवनमा रहेको आर्ट ग्यालरीलाई पृथ्वीचोकमा बन्ने पोखरा घरमा स्थानतरण गर्ने योजना महानगरपालिकाको छ ।
पोखरा घर ठेक्कामा लागेर तामझामका साथ शिलन्यास गरेपनि काम सुरुवात हुन सकिरहेको छैन ।
फागुन २७ मा शिलन्यास गर्दै पोखराका मेयर आचार्यले २०८२ सालको घटस्थापनाका दिनमा उद्घाटन हुने मिति नै घोषणा गरिसकेका छन् ।