
चितवन– पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ ।
भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो ।
खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो।
करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए। यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ।
साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ ।
माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ। महोत्सवमा २०० कक्ष रहने छ।
प्रचारप्रसार समितिका संयोजक कारी महतोका अनुसार महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्नेछ।
वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ। रासस
यो पनि हेर्नुहोस्: