
माेरङ – स्वास्थ्य कार्यालय मोरङले जिल्लाभर करिब ५२ हजार बालबालिकालाई पक्षघातविरुद्धको आई.पी.भी खोप लगाउने भएको छ।
आइभीपी खोपबारे सोमबार विराटनगरमा आयोजित कार्यक्रममा जानकारी दिदैं कार्यालयका प्रमुख डा. सुरेश मेहताले जेठ १३ गतेबाट सुरु हुने खोप अभियानमा ५२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए।
उनका अनुसार जेठ २६ गतेसम्म चल्ने खोप कार्यक्रममा साढे ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउने सक्नेछन्। कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत खेम भण्डारीले आउदो दुईवर्षसम्म पोलियो उन्मुलन गर्ने विश्वव्यापी लक्ष्य रहेको जानकारी दिए।
पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्ने र पक्षघात भईसकेपछि निको नहुने उनले बताए। मुलुकमा आई.पि.भी. खोप सेवा २०७१ आश्विन महिना देखि शुरु गरिएको उनको भनाई छ। देशव्यापी अभियान अन्तर्गत १४ लाख बालबालिकालाई आईपीभी खोप लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।