
काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरू भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए।
सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको मागबमोजिम संसदीय छानिबन समितिको कार्यदलको बैठक जारी रहेको भन्दै बैठक सञ्चालन सहजीकरणका लागि आग्रह गरेका थिए। तर, प्रतिपक्षी दलले बैठकमा अवरोध जारी राखेपछि उनले आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको घोषणा गरेका हुन्। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सदनको तयारी थियो।
सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएका छन्।
सहकारी रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश(टिओआर) टुंगो लगाउन गठित कार्यदलमा दलहरूबीच कुरा नमिल्दा संसद बैठक ढिला गरी सुरू भएको थियो।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध गरेको हो। बैठकमा बोल्न समय माग गर्दै विरोध सुरू गरेपछि केहीसमय कांग्रेस सांसद र सभामुख घिमिरेबीच ‘भनाभन’समेत परेको थियो। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आइरहेको छ। यता, सत्ता पक्षीय दलहरू छानबिन समिति बनाउनुपर्ने तर, रबिको नाम किटान गर्न नहुने अडानमा छन्।
थप तस्बिरहरू: