
पोखरा- गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। सर्वोच्चको परमादेशले नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि मंगलबार बस्ने भनिएकाे प्रदेशसभा बैठक स्थगित भएको हो।
आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने कार्यसूची थियो ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आज बस्ने भनिएको प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको जनाएको छ।
जेठ ११ गते बसेको प्रदेश सभा बैठकमा नै बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने कार्यसूची थियो। प्रतिपक्षको बेन्च खाली भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो।
बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने भएपनि सत्ता फेरबदलको असरले ढिला हुने देखिन्छ। प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश जारी गरेको छ।
सोमबार न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।
खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट जारी भएको छ।