
पोखरा – नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई साँझ ५ बजेपछि सपथ ग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ।
सोमबार सर्वोच्चले ४८ घण्टाभित्र गण्डकीमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो।
न्यायधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो। उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ।
सुरेन्द्रराज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बनेका हुन्। गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
सत्ता समिकरणमा फेरबदल आएपछि माओवादी केन्द्रले पाण्डेलाई दिएको समर्थन फिर्ता लियो। विश्वासको मत नपाउने निश्चित भएपछि उनले चैत २१ मा प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए।
चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका ८ (सभामुखसहित) र नेकपा एकीकृत समाजवादी पार्टीका १ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए।
गोरखा २ ‘ख’ बाट निर्वाचित सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपनि उनले ३० दिनभित्र विश्वासको मत जुटाउनैपर्छ। तर, विश्वासको मत लिन त्यति सहज छैन।
राप्रपाले मात्रै समर्थन दिएर पुग्दैन। नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) सँगै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि विश्वासको मत दिनुपर्छ।
प्रदेशसभाको दोस्रो कार्यकालको दुई बर्षमा गण्डकीमा चौंथो पटक सरकार गठन भएको हो। राजनीतिक खिचातानीका कारण सरकार ढल्ने र नयाँ बनाउने खेलले प्रदेशको औचित्यमाथी प्रश्न उठेको छ।