
काठमाडौं – प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसद्मा पेश गरेको बजेटमाथि आइतबारदेखि छलफल चलिरहेको छ।
बजेटमाथिको सैद्धान्तिक छलफल चलिरहेको समयमा प्रतिनिधि सभाका कुर्सी खाली देखिएका छन्। छलफल पट्यारलाग्दो भएकोले आफू संसद्मै निदाएको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संसद्मै बताएका थिए ।
सैद्धान्तिक छलफल भोलि टुंग्याउने योजना रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा कुनै प्रस्ताव पेश गर्न प्रतिनिधि सभाका एक चौथाइ सदस्य आवश्यक पर्ने भएपनि छलफल गर्दा कति सांसद उपस्थित हुनुपर्ने भन्ने व्यवस्था नियमावलीमा छैन ।
बिहान ११ बजेदेखि शुरू भएको बैठक लम्बिँदा सांसदहरू बैठक कक्षबाट बाहिरिएको सचिवालयका एक अधिकारीले बताए।
सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ अर्थमन्त्री वर्षमान पुनले बुधबार दिनेछन् ।
सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका थिए । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहनेछ ।
प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । उक्त बैठकमा एक घण्टा बजेटमाथि सामान्य छलफल चलाउने र त्यसपछि अर्थमन्त्री पुनले जवाफ दिनेछन्।
