
भारत र पाकिस्तान बिचको टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ। वर्षाका कारण केही ढिला भएको टसमा पाकिस्तानका कप्तान बाबर अजामले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्ता दिएका हुन्।
न्यूयोर्क स्थित नासाउ काउन्ट्री इन्टरनेशनल स्टेडियममा यसअघि भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई हराएको थियो। पाकिस्तान भने डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा अमेरिकासँग अप्रत्यासित हारको सामना गर्न पुगेको थियो।
टी-२० विश्वकपकै अघिल्लो संस्करण अर्थात २०२२ मा भएको खेलमा भारत विजयी भएको थियो। पाकिस्तान अमेरिकाको हारसँगै जारी प्रतियोगितामा अघिल्लो चरणको सम्भावना कायम राख्न पनि भारतलाई हराउनु पर्ने दबाबमा रहेको छ।
भारत भने लगातार जित यात्रा कायम राख्दै शीर्ष आठमा पुग्ने लक्ष्यमा रहने छ। १९ महिनाअघि अक्टोबर २०२२ मा दुई टिमबीच अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा भारत विजयी भएको थियो। उक्त खेलमा विराट कोहलीले उत्कृष्ट इनिङ खेल्दा पाकिस्तान पराजित भएको थियो।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच कुल १२ खेल भएका छन्। जसमा ८ खेलमा भारत विजयी हुँदा ३ खेलमा पाकिस्तान विजयी भएको छ। एक खेल टाई भएको थियो। तर उक्त खेलमा भारतले बल-आउटमा जितेको थियो। यदि पछिल्ला पाँच खेललाई आधार मान्ने हो भने भारतले ३ खेलमा जित निकाल्दा पाकिस्तानले २ खेलमा जित हासिल गरेको छ।