
विछोड प्रकृतिको एउटा नियमित प्रक्रिया हो। जीवनमा जसजसलाई भेटिन्छ, ती सबैसँग एकदिन छुट्टिइन्छ पनि। कहिले नियतिले नै हामी स्वयंलाई उनीहरुबाट छुटाउँछ। तापनि छुटिनु कसैका लागि पनि प्रिय र स्वीकार्य विषय भने होइन। यही विछोड र त्यसको उपउत्पादन शोकको यथार्थलाई अतिक्रम गर्नका लागि हाम्रा ऋषि मनीषिहरुले यस्तो अवस्थाको अन्वेषण गरे जहाँ विछोड हुँदैन। छुट्नु र शोक मनाउनु त्यस अवस्थाको धर्म नै होइन। वास्तवमा प्रश्नको अभावको अवस्था उत्तर, समस्याको अभावको अवस्था समाधान, व्याधिको अभावको अवस्था स्वास्थ्य भएको जस्तो विछोडको नितान्त अभावको अवस्था भनेको नै योग हो। योगले मानवलाई जोसँग युक्त गराउँछ त्यो तत्व सर्वकाल र सर्वत्र विराजमान छ। त्यसैलाई ईश्वर, परामात्मा, चेतन, पुरुष आदि विभिन्न नामले सम्मान गरिन्छ।
आफूसँग सम्पर्क भएको कुनै पनि व्यक्ति वा विषय सम्बन्धमा मानिसले आफ्नो चित्तमा एउटा स्थान विशेष बनाएको हुन्छ। त्यो स्थान बनाउने व्यक्ति वा विषयसँग हामी जति व्यवहार गर्दै जान्छौं उति हामीभित्र उनीहरुको उपस्थिति प्रवल र समीपवर्ती हुँदै जान्छ। थाहै नपाई ती व्यक्ति या विषयका प्रति हामीभित्र एककिसिमको अनुराग बढ्न थाल्छ। अब कुनै कालखण्डमा त्यो व्यक्ति अथवा बस्तु हामीबाट छुटेर गयो भने हाम्रो चित्तमा उसले बनाएको स्थान खाली हुन्छ। त्यही खालिपनको अनुभवको अभिव्यक्ति भनेको शोक हो। यसमा पनि कुनै व्यक्ति विछोड भएर जाँदाको शोक बढी हुन्छ। कुनै ठाउँबाट छुटेर जानपर्दा हामीलाई उति साह्रो दुःख हुँदैन, कुनै मालसामान हराए पनि केही दिनमा भुल्छौं तर एउटा जीवित व्यक्तिसँगको विछोड मानिसले जीवनभरि भुल्नै सक्दैन। केही दिन हुनसक्छ उसले शोकको रुपमा मनाउला तर छुटेर जाने व्यक्तिसँगका स्मृतिहरु चित्तको आकाशमा विचरण गरिरहन्छन्। चाहेर पनि यसलाई मेटाउन सकिँदैन।
बिमारीले साह्रै अप्ठेरो पारेपछि मात्र हामीले गुरुदेवलाई अस्पताल जान मञ्जूर गर्न सक्यौं। यो दिन थियो २०७४ साल मंसिर ३ गते आइतबार। यसभन्दा धेरै पहिलेदेखि नै गुरुदेवमा शारीरिक कमजोरीहरु देखिन थालेका थिए। शरीर बिस्तारै सुक्दै र कमजोर हुँदै गएको थियो। हात खुट्टाका मांशपेशीहरु खुकुला हुँदै गएका स्पष्ट देख्न सकिन्थ्यो। म सिधै गुरुदेवलाई ‘हजूरको शरीर कमजोर हुँदैछ ।’ भन्न पनि सक्दिनथिएँ। उहाँकोमा आउने भक्तहरुलाई, ‘गुरुदेवलाई समयमा खाना खान र आफ्नो स्वास्थ्यको हेरचाह गर्नका लागि भनिदिनु न।’ भनेर अनुरोध गर्दथें। उहाँहरु मध्ये कसैकसैले गुरुदेवलाई भनि पनि दिनुभयो र गुरुदेवले केही दिन मान्नु पनि भयो। तर यसरी समय तालिकामा बाँधिएर बस्नुपरेको उहाँलाई मन परेनछ होला। खाना खाँदा नै दिउँसोको एक या दुई बजेको हुन्थ्यो। हामीले अनुरोध गर्दा पनि ‘बिहान भनेको मेरो यज्ञको समय हो। आफ्नो नियमित यज्ञ नै सम्पन्न नगरी म कसरी खानलाई हतार गर्नू?’ उहाँको कुरा तर्कसङ्गत नै लाग्दथ्यो। एक त ढिला गरेर खानुहुने त्यसमा पनि उहाँको खानाको परिणाम साह्रै नै थोरै हुन्थ्यो।
डायलायसिस सुरु हुनभन्दा झण्डै एक वर्ष अगाडिदेखि नै गुरुदेवको दाहिने खुट्टा अलिअलि थाहा नपाउने भइसकेको थियो। ‘मेरो दाहिने खुट्टा तात्दै तात्दैन।’ भन्नुहुन्थ्यो। त्यो खुट्टा तताउनका लागि विभिन्न किसिमका बाक्ला ओढ्ने ओढाउने, सेकाउने, अझ तातो हुन्छ भनेर कहिले कफी खाने पनि गर्नुहुन्थ्यो। तर उहाँको खुट्टाको समस्या झन् झन् बढ्दै गइरह्यो। खुट्टाको समस्याका साथसाथै उहाँलाई राति निद्रा लाग्न कम हुन थाल्यो। ‘मलाई शिवपुरीको जङ्गलमा रहँदा पनि एकपटक यसै गरी निद्रा नलाग्ने समस्या भएको थियो। निद्रा नलग्दा म लगातार मन्त्रजप गरिरहन्थें।’ आफ्ना शिवपुरीका दिनहरुको सम्झना सुनाउनुहुन्थ्यो। गुरुदेव राति त्यसै पनि कम नै सुत्नुहुन्थ्यो। बिहानीपख उहाँलाई निद्रा लाग्दो रहेछ भन्नेकुरा बिमारी भएपछि राति कुर्न थाल्दा मात्र हामीलाई थाहा भयो। ‘आज राति निद्रा नै लागेन।’ बिहान हामीलाई भन्नुहुन्थ्यो। ‘केही छैन ठीक हुन्छ, तिमीलाई के लाग्छ? मलाई ठीक हुन्छ होइन…… ?’ यस्ता प्रश्न हामीलाई गर्नुहुन्थ्यो। अनि हामीहरुले नै, ‘गुरुदेव आज कस्तो छ?’ भनेर सोध्यो भने ‘हिजोको भन्दा ठीक छ।’ भन्नुहुन्थ्यो। उहाँको कारणले गर्दा अरुलाई चिन्ता नहोस् भन्ने सोच्नुहुन्थ्यो होला।
आफूलाई काममा व्यस्त राख्न र शारीरिक दुःखलाई भुल्नका लागि हुनुपर्छ फूलबारीमा काम गर्ने विभिन्न किसिमका औजारहरु ल्याएर काम गर्न शुरु गर्नुभयो। केही क्षणपछि नै थाक्नुहुँदो रहेछ होला अनि अरुलाई नै ‘काम गर ।’ भन्नुहुन्थ्यो। अरुले काम गरेको कि त हेरिरहनुहुन्थ्यो नभएर त्यतै वरिपरि हिंडडुल गर्नुहुन्थ्यो।
गाडीमा चढ्ने बेलामा नै गुरुदेवलाई छातीमा गाह्रो भएको हुनुपर्छ घ्यार घ्यार गरिरहनुभएको थियो। उहाँलाई काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरियो। अस्पतालमा पुग्दाखेरि नै रक्तचाप माथि २८० पुगिसकेको थियो। स्वास्थ्यस्थिति साह्रै खराब भएकोले हुनुपर्छ तत्काल नै उहाँलाई भेण्टिलेटरमा राखिएको रहेछ।
असजिलो नै भएर हुनुपर्छ गुरुदेव २०७४ सालको शुरुदेखि नै कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा जान छाड्नुभयो। कसैले निम्ता गरे पनि, ‘धेरै कार्यक्रमहरुमा गइसकें। अब नजाने।’ भन्नुहुन्थ्यो। कहींबाट मलाई फोन गरेर कार्यक्रमका बारेमा प्रस्ताव आए पनि, ‘अहिले अलिक जान अप्ठेरो छ भनिदे ।’ भन्नुहुन्थ्यो। वास्तवमा गुरुदेवलाई नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएकोमा साह्रै चित्त दुखेको थियो। हिन्दुराष्ट्र किन रहनुपर्छ भन्ने विषयमा उहाँले देशका विभिन्न स्थानमा प्रवचन गर्ने, रेडियो तथा टेलिभिजनहरुमा अन्तर्वार्ता दिने, रातरातभर पोष्टर लेख्ने, उहाँद्वारा रचित पुस्तक तथा पुस्तिकाहरु भक्तहरुसँग चन्दा उठाएर छापेर निःशुल्क बाँड्ने, भेट गर्न आउने महानुभावहरुसँग हिन्दुधर्मको महत्वका बारेमा चर्चा गर्ने यस्ता प्रयासहरु अत्यन्त उत्साहका साथ चलाइ रहनुभयो। हामीहरुले गरेको कुनै पनि काम राम्रो भयो भने, ‘तिमीहरुले गरेको काम सफल भयो। मैले यत्रो वर्ष लगाएर गरेको मेहनत वृथा भयो।’ भनेर दुःख मनाउ गर्नुहुन्थ्यो।
त्यस दिन विद्यालयमा म गीताको कक्षा लिइरहेको थिएँ। गुरुदेवको कोठामा मानिसहरुको भीड थियो। शरीरमा पानी जमिसकेकाले हुनुपर्छ उहाँलाई पेटमा असजिलो हुँदो रहेछ। पेटमा ग्याँस भरिएको शङ्का गरेर दिउँसोपख एउटा जगमा मौसमको रस बनाएर खानु र आफ्नै कोठामा सामान्य दौडिनुभएछ। ठिक भइरहेको छैन भन्नेकुरा गुरुदेवले पनि अनुभव गर्नुभएको हुनुपर्छ। सबैले मिलेर ‘गुरुदेव एकपटक डाक्टरलाई देखाएर मात्र फर्कने।’ भन्ने अनुरोध गरेपछि अस्पताल जान राजी हुनुभयो। तत्काललाई सबैले गुरुदेवलाई सामान्य स्वास्थ्यको समस्या भएको हो ठीक भइहाल्ला नि भन्ने सोचेका थियौं। गाडीमा चढ्ने बेलामा नै गुरुदेवलाई छातीमा गाह्रो भएको हुनुपर्छ घ्यार घ्यार गरिरहनुभएको थियो। उहाँलाई काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरियो। अस्पतालमा पुग्दाखेरि नै रक्तचाप माथि २८० पुगिसकेको थियो। स्वास्थ्यस्थिति साह्रै खराब भएकोले हुनुपर्छ तत्काल नै उहाँलाई भेण्टिलेटरमा राखिएको रहेछ। राति गुरुदेवलाई श्वास फेर्न अप्ठेरो र मुटुको चालमा समस्या आएकोले गर्दा उहाँको मुटु सञ्चालन गर्नका लागि CPR गरिएको कुरा त्यति खेर नै अस्पतालबाट गुरुदेवका भक्त राम प्रधानलाई खबर भएको रहेछ।
भेण्टिलेटरमा राखिएको बिमारीको फर्किने सम्भावना अत्यन्त कम हुन्छ यही नै हो हामीहरुले सामान्यरुपमा विश्वास गर्ने गरेको। अब गुरुदेवको स्वास्थ्य र जीवनलाई लिएर नाना किसिमका अड्कलवाजी र अनुमानहरु सुरु हुन थाले। ‘गुरुदेवले हामीलाई झुक्याएर त जानु हुन्न नि ?’ ‘गुरुदेव हुनुभएन भने आश्रम के हुन्छ ?’ ‘गुरुदेवलाई केही भइहाल्यो भने उहाँको शरीरलाई के गर्ने ?’ ‘उहाँले तपाईंलाई मात्रै केही भन्नुभएको छ ?’ यस्ता अनेकौं प्रश्नहरुले म घेरिई रहन्थें । यी कुनै पनि प्रश्नको मसँग जवाफ नै थिएन । प्रश्न गर्नका लागि त एउटा वाक्य सोधे भइहाल्छ। तर जवाफ दिने मानिसले धेरै कुराहरुलाई समेटेर, सोचेर, भविष्यको विचार गरेर बोल्नुपर्ने रहेछ। यसैकारण होला संसारमा प्रश्नकर्ताभन्दा पनि उत्तर दिने व्यक्तिहरु बढी विवाद र उल्झनमा पर्दा रहेछन्। यहाँ प्रश्नकर्ताहरुले पनि त्यसको जवाफ जानेर प्रश्न गरिरहेका थिएनन्। चिन्ता नै थियो सबैलाई।
गुरुदेव अस्पतालमा जम्मा दुई दिनभन्दा बढी बस्न मान्नु नै भएन। अन्ततोगत्वा मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा शुरु भएको उहाँको डायलायसिस निरन्तर पाँच वर्ष नौ महिनासम्म चलि नै रह्यो। यसबीचमा उहाँको स्वास्थ्यमा अनेक किसिमका उतार चढावहरु आइ रहन्थे। गुरुदेवसँगको मेरो पहिलो भेट २०५५ साल पुष या माघ महिनामा बूढानीलकण्ठ आश्रममा भएको थियो। खाली भेट मात्रै होइन कालक्रममा म उहाँकै शिष्य भएर साथमा बसिरहें । यो साथ २०८० साल श्रावण २९ गते सोमबारका दिन गुरुदेवले शरीर छोड्दाको अन्तिम पलमा पनि रहिरह्यो ।
गुरुदेवका साथमा एउटा शिष्यका रुपमा रहनाका साथै यहाँको व्यवहार व्यवस्थापनका अधिकतम कार्यहरुमा मेरो सहभागिता भएको हुँदा मलाई पनि कहिले कहिले ‘गुरुदेवले छाडेर जानुभयो भने के गर्ने होला ?’ भन्ने कल्पना मनमा आइरहन्थ्यो । मलाई के कुरा थाहा थियो भने, जुन निको नहुने रोग गुरुदेवलाई लागेको छ त्यसको अन्तिम सत्य भनेको उहाँ र मेरा बीचको विछोड नै हो । आसन्न विछोडको डर मेरा मनमा बनिरहेको हुन्थ्यो । उहाँ नहुँदा म एक्लै पो हुने हुँ कि ? त्यो दिन कस्तो आउँछ होला ? म अनाथ पो हुने हुँ कि ? यस्ता दुश्चिन्ताहरुले मेरो मनलाई कटकटी खाइरहन्थे ।
गुरुदेव मानिसको भीडमा हुँदा पनि म त्यहाँ आइपुगें भने, ‘गुञ्जन भाइ केही छ ?’ भनेर सोध्नुहुन्थ्यो । उहाँको त्यति वाक्यले नै मलाई कत्रो आँट दिन्थ्यो । मैले समाधान गर्ननसक्ने कुनै समस्या आयो भने ‘गुरुदेव त हुनुहुन्छ ।’ भनेर मलाई ढुक्क हुन्थ्यो । जस्तोसुकै विपदमा पनि उहाँ मेरा अगाडि चट्टान बनेर उभिनुहुन्थ्यो । कुनै समस्या आयो भने पनि ‘आत्तिन पर्दैन मेरो फलामको कन्धा (काँध) छँदैछ ।’ भन्नुहुन्थ्यो । कति निष्फिक्री थिएँ म ! म मात्र होइन उहाँका सबै भक्तहरुको उहाँ सहारा हुनुहुन्थ्यो ।
तर मेरो बानी भनेको ‘माउ विमारी भए पनि बाच्छोले दूध त खाइ हाल्छ ।’ भनेको जस्तो अहिले पनि गुरुदेवलाई उही विमारी नभएको अवस्थाको जस्तो कल्पना गर्दथें र आफ्ना समस्याहरु भनिहाल्थें । एक त विमारी त्यसमाथि मैले थपिदिएका चिन्ताहरु । सायद कहिले कहीं उहाँलाई अप्ठेरो हुन्थ्यो होला । एक दिन मलाई भन्नुभयो, ‘तेरो अहिलेको समस्या भनेको मेरो स्वास्थ्य मात्रै हो । अरु केही पनि होइन ।’ एकपटक यसै गरेर गुरुदेवलाई राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थलीमा डायलायसिस गर्न लिएर जाँदा बाटामा आफ्ना मनका वहहरु पोख्न थालें । ‘गुरुदेव ! मैले सुनेको महाभारतमा साह्रै पीर पर्दा भीष्मपितामह आफ्नी आमा गङ्गाको किनारमा गएर रुन्थे अरे । कहिले कहिले हजूर र आश्रमका प्रतिको निष्ठाका कारण मलाई साह्रै गाह्रो हुन्छ । कता कता एक्लै भएको जस्तो लाग्छ । यदाकदा कस्तो कल्पना हुन्छ भने महाभारतमा भीष्मपितामहका लागि गएर रुने उनकी आमा गङ्गा भएको जस्तै मैले पनि कहीं गएर आफ्नो पिर बिसाउन पाउँथे भनें ………..।’
गुरुदेव अरुले भनेको कुरा गुरुदेव साह्रै ध्यानले सुन्नुहुन्थ्यो । आशय के हो थाहा पाइ पनि हाल्नुहुन्थ्यो । यतिखेरसम्म त गुरुदेव चुपचाप नै हुनुहुन्थ्यो । सायद उहाँको मनमा डायलायसिसमा हुनसक्ने पीडाको पनि कल्पना चलिरहेको थियो होला । केही समयपछि मलाई भन्नुभयो, ‘कमजोर मानिसका जीवनमा धेरै समस्या हुन्छन् । तँ कस्तो संस्कार लिएर आएको रहिछस् ……….!’
२०८० चैत्र १७ बूढानीलकण्ठ आश्रम