
काठमाडौं- दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सवकाे अवसर पारेर वरिष्ठ लोक गायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ।
लामो समयदेखि लोक गायनको क्षेत्रमा बस्नेतले पुर्याएकाे योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए। ‘लोक गायक बस्नेतले समाजका विकृति, विसङ्गती, कु–संस्कारहरु लोकगीतमार्फत् उजागर गर्नु भएको छ,’ गिरीले भने। लोक दोहोरी गायनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक बद्रि पंगेनी, कृष्ण आँशु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ।
सञ्चारकर्मी ऋषी धमलालाई विशेष सम्मान प्रदान गरिएको छ। दरबार रोधी क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सर्जकहरुलाई सम्मान प्रदान गर्दै आएको छ। कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउँने पाँच जना पत्रकारहरु यस पटक सम्मानित भएका हुन्। रातोपाटीका नरेन्द्र रौले, अनलाइन खबरका विष्णु शर्मा, सेतोपाटीका सुशिल नेपाल, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी, र मज्जाको टिभीका आयशा दाहाललाई सम्मानपत्र सहित पुरस्कृत गरिएको छ।
दरबार रोधी क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको छ। कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, दुर्गेश थापा, श्याम राना, टीका पुन, पुर्णकला विसी, करिष्मा ढकाल, रुबिना अधिकारी, एनआरएनएका उपमहासचिव प्रविन गुरुङलगायत दर्जनौंको सहभागिता रहने बताइएको छ। दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरीले रोधीको वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेको बताए। शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा टप राजधानी दोहोरीका सञ्चालक प्रकाश कटुवाल, नगरकोट दोहोरी साँझका सञ्चालक बिनोद श्रेष्ठ, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का लगायतको उपस्थिति रहेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।