
काठमाडौं- ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क शहरमा हुने भएकाे छ।
चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्ष झैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । उनले भने, ‘२०२४ सेप्टेम्बर १५ तारिखमा अमेरिकाकाे मेलरोज बलरुममा अवार्ड हुने छ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ । साथै आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड पनि रहने भएकाे छन् ।
आयाेजक टिमका अनुसार अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेकाे छ ।
अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको मल्लले बताए । उनले भने, ‘संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य रहेको छ।
अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएकाे थियाे।