
सिमकोट – स्नातक तहका लागि जिल्लामा एउटा मात्र परीक्षा केन्द्र सञ्चालन हुँदै आएको मानसरोवर बहुमुखी क्याम्पसको परीक्षा हलबाट मोबाइल जफत गरिएको छ।
परीक्षामा परीक्षार्थीले मोबाइलबाट चिट चोर्ने गरेको जानकारी भएपछि परीक्षा हलबाट परीक्षार्थीको पकेटमा भएका मोबाइल जफत गरिएको हो।
केन्द्राध्यक्ष दीपक भण्डारीले परीक्षा हलमा मोबाइल लिन नपाइने नियम बनाएको कारण हलबाटै परीक्षार्थीले आफुसंग रोखेको मोबाइल खोसिएको बताए।
यसअघिका परीक्षामा परीक्षार्थीले परीक्षा अवधिमा मोबाइल बोक्न दिने गरेको भए पनि यस पटक परीक्षार्थीले मोबाइलबाट परीक्षामा चिट चोर्दै गरेको सूचाना आएपछि ती मोबाइल खोस्नुपरेको हो।
प्रश्नहरूको उत्तर मोबाइलमै लगेर परीक्षा हलमा जाने र हेर्न थालेपछि परीक्षालाई मर्यादित बनाउन मोबाइल खोस्नै पर्ने बाध्यता केन्द्राध्यक्षलाई भएको थियो।
उक्त क्याम्पसमा स्नातक तहको मानविकी, शिक्षा शास्त्र र ब्यवस्थापनका चौथो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। परीक्षा हलमा मोबाइल बोक्न नपाइने भन्दा पनि नमानेर परीक्षार्थीले बोकेर ल्याउने गरेका कारण हलबाटै खोस्नुपर्ने अवस्था आएको हो।
दैनिक बाह्रदेखि चौध वटा मोबाइल खोसिने गरेको जानकारी दिँदै उनले परीक्षा सम्पन्न भएपछि भने फिर्ता दिने गरिएको बताए।
परीक्षा असार ११ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा केन्द्र एउटा भए पनि क्याम्पस भने जिल्लामा दुई वटा छन्।