टी-२० विश्वकपको ‘सुपर आठ’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाइ २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको हो।
सेमिफाइनल प्रवेशका लागि जित्नु पर्ने दबाबमा रहेको अस्ट्रेलियाले टी-२० विश्वकपमा अहिले सम्मकै उच्च लक्ष्य चेज गर्नु पर्ने भएको हो। अस्ट्रेलियाका लागि टी-२० विश्वकपमा यो सर्वाधिक उच्च लक्ष्य हो।
अस्ट्रेलिया विरुद्ध विशाल स्कोर बनाउने क्रममा भारतका लागि कप्तान रोहित शर्माले ९२ रनको विष्फोटक इनिङ खेले। शर्माले ४१ बलमा ७ चौका र ८ छ्क्का प्रहार गर्दा शिवम् दुवेले २८ रन बनाए। त्यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दीक पाण्ड्या २७ रनमा अविजित रहे। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कुस स्टोइनिस मँहगो सावित भएपनि २-२ विकेट लिए। अस्ट्रेलिया केहि समय पछि भारत विरुद्ध जवाफि ब्याटिङमा मैदान उत्रिंदै छ।
अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन भारतलाई हराउनु पर्ने दबाब छ। यदि भारतसँग पराजित भएमा अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बंगलादेश र अफगानिस्तानबिच मंगलबार विहान हुने खेलपछि तय हुने छ।

भर्खरै
लोकप्रिय






































































































































































































