
टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। यो टी-२० विश्वकपको फाइनल इतिहासकै उच्च लक्ष्य हो।
यसअघि टी-२० फाइनलमा २०२१ मा न्युजिल्यान्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले बनाएको १ सय ७३ रन फाइनलको उच्च स्कोरको रुपमा रहेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो। उसका लागि ओपनर विराट कोहलीले जारी विश्वकपकै उत्कृष्ट इनिङ खेले। उनले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए।
त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम् दुवेले २७ रन बनाए। दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्तेजले २-२ विकेट लिए। त्यस्तै मार्को जनसेन, कागिसो रबडाले १-१ विकेट लिए। दक्षिण अफ्रिका केही समयपछि जवाफि ब्याटिङका लागि मैदान उत्रिने छ।