
विराटनगर- विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान तीव्र बनाएको छ।
घरवरपार पानी जम्ने नदिन र लामखुट्टेबाट जोगिनका लागि महानगरले सबै १९ वटामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको हो ।
महानगरका स्वास्थ्य महाशाखाका संयोजक डा.दिलीपकुमार यादवका अनुसार डेंगु सार्ने लार्भा नियन्त्रणका लागि सबै वडामा अभिमुखीकरण कार्यक्रम अघि बढाएको हो ।
स्वास्थ्य महाशाखाका संयोजक यादवले सवारीसाधनका टायरमा जमेको पानी, लामोसमयदेखि एकैस्थानमा रहेका भाँडा, बोतल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा लामखुट्टेले फुलपार्ने र त्यहीबाट लार्भा हुँदै डेंगु संक्रमणको बीजारोपण हुने जानकारी दिए ।
उनका अनुसार अभियानले डेंगु संक्रमण नियन्त्रण गर्न खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानसँगै महानगर- ५ का अध्यक्ष सन्तोष न्यौपानेले लामखुट्टे बढी हुने संभावित स्थानमा सरसफाई र जमेको पानी फाल्ने काम भइरहेको बताए ।
सुरक्षित रुपमा बस्नका लागि हाल स्थानीयले पनि कम्तीमा सचेत हुँदै लामखुट्टेबाट जोगिने उपायमा ध्यान दिनुपर्नेमा वडाध्यक्ष न्यौपानेले जोड दिएका छन् ।
हालसम्म महानगरमा १ जनामा डेंगु संक्रमण देखिएको जनाएको स्वास्थ्य महाशाखाका अनुसार दिउँसो लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने र रातिको समय सुत्दा झुलको प्रयोग गर्न आग्रह गरेको छ ।