
दाङ-राधिका अधिकारी ७० बर्षको भईन्। छाति दुख्ने, दमको समस्या छ । उपचारको लागि पाल्पा र बुटवल पुगिन । तर, निको भएन् । गाउँमा शिविर आएपछि निको हुने आशामा उपचारको लागी आइन ।‘धेरै ठाउँ गए जचाउन तर, निको भएन’उनले भनिन्–‘स्कुलमा शिविर आयो । अव त निको हुन्छ की ?’
चुमा भुसाल ८२ बर्ष भइन् । ढाड, कम्मर दुख्ने समस्याले सताएको छ। ‘उठ्न बस्न धौं छ । कट्कटी खान्छ’उनले भनिन्–‘दुखाई सहन सक्दीन ।’ शुक्रवार राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा राखिएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा उपचारको लागि पुग्नेहरुले शिविरको उपचार हुने विश्वास व्यक्त गरे ।
शिविरमा भिडियो एक्सरे र ल्याव सम्मको सुविधा प्रदान गरिएको छ । शिविरमा ल्याव र भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिएपछि उपचारमा पुग्नेहरु खुसी भए । शिविरमा ६० जनाको भिडियो एक्सरे र ८० जनाको ल्याव परीक्षण गरिएको छ।
‘पेट दुःखेको, तल्लो पेट दुखेको, कोखा हानेको, सेतो पानी बगेको, पिसावमा समस्या देखिएको बिरामिहरुको भिडियो एक्सरे गरिएको छ’फलोरेन्स अस्पताल प्राली लमहीका प्रमुख डाक्टर पुष्प भुसालले भने–‘एक्सरे गरिएका मध्य २० जनामा स्वास्थ्य समस्या देखिएको छ।
पित्त थैलीको पत्थरी, मृगौलाको पत्थरी, पाठेघर सुन्नीएको, पाठेघरको मुखको संक्रमण, अण्डाशयमा पानीको फोका भएका बिरामिहरु भेटिएका छन् ।’ रगत परिक्षण गर्दा अधिकांसमा सुगरको समस्या देखिएको छ । उपचारमा आएका बिरामिहरुलाई निःशुल्क औषधि र परामर्श दिइएको छ ।
फलोरेन्स अस्पताल प्रालि लमहीको आयोजना, आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया र जनजीविका बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको हो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो।
गरिव, विपन्न परिवारका सदस्यहरुको उपचार गर्न शिविर उपयोगी भएको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताए ।‘गाउँपालिकाले वडामा उपचार केन्द्र खोलेको छ । जहाँ प्राथमिक उपचारको सुविधा छ’अध्यक्ष सुवेदीले भने–‘गाउँपालिकाले यस अघि विकट वस्तीमा स्वास्थ्य शिविर गरेको थियो । निःशुल्क स्वास्थ्य शिविरले उपचारमा पहुँच पुर्याउछ ।’
शिविरमा महिला रोग विशेषज्ञ डाक्टर तथा राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेसु विनोद सिंह, जनरल सर्जन डाक्टर तथा उपक्षेत्रिय अस्पतालका निमित्त मेसु जनार्दन पन्थि, फलोरेन्स अस्पताल प्राली लमहीका प्रमुख डा. पुष्प भुसालले बिरामिहरुको स्वास्थ्य जाँच गरेका थिए ।