
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भिरलाई नियुक्त गरिएको छ। बिसीसीआइका सचिव जय शाहले मंगलबार गम्भिरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिए। ४२ वर्षीय गम्भिर ‘द वाल’ का नामबाट परिचित राहुल द्रविडको स्थानमा नियुक्त भएका हुन्।
द्रविडको कार्यकाल टी-२० विश्वकपसँगै समाप्त भएको थियो। गम्भिरको कार्यकाल २०२७ को जुलाई सम्म रहने छ। गम्भिरले डेढ महिना पहिले कोलकाता नाइट राइडर्सलाई मेन्टरका रुपमा आइपिएल-२०२४ को उपाधि दिलाएका थिए। उनी यसै वर्ष कोलकाता फ्रेन्चाइजको मेन्टर बनेका थिए। यो मात्र होइन गम्भिरले आफ्नो मेन्टरशिपमा लखनउ सुपर जायन्ट्सको लगातार २ सिजन प्लेअफमा पुर्याएका थिए।
कोचिङ अनुभव बिनै प्रशिक्षक
गम्भिरको अन्तर्राष्ट्रिय या घरेलु स्तरमा कोचिङको कुनै अनुभव छैन् यद्यपि उनले २ आइपिएल फ्रेन्चाइजमा कोचिङ स्टाफको इन्चार्जका रुपमा काम गरेका छन्। आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सको मेन्टर बनेका थिए भने २०२४ को सिजनमा कोलकातासँग जोडिएका थिए। गम्भिरले एलएसजीमा पहिलो दुई सिजनमा टिमलाई प्लेअफमा पुर्याए भने यो सिजन कोलकातालाई च्याम्पियन बनाए।
विश्व च्याम्पियन टोलीको सदस्य
खेलाडीका रुपमा भने गम्भिरले २००७ मा भारतले टी-२० विश्वकप जित्दा टिमका महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए। त्यस्तै २०११ को एकदिवसीय विश्वकप जित्दा पनि उनी टिमको सदस्यका रुपमा रहेका थिए। उनी २०११ देखी २०१७ सम्म आइपिएलमा कोलकाताको कप्तान बनेका थिए। उनी टिममा रहँदा पाँच पटक कोलकाता प्लेअफका लागि छनोट भएको थियो। कप्तानका रुपमा उनले २०१२ र २०१४ मा आइपिएल जितेका थिए।
द्रविडको सफल कार्यकाल
उनी अघि भारतीय टिमको प्रशिक्षक राहुल द्रविड रहेका थिए। द्रविड २०२१ मा भारतको प्रशिक्षक बनेका थिए। उक्त समयमा भारत टी-२० विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो। २०२२ मा टिमले पुन सेमिफाइनलमा स्थान बनायो। २०२३ को एकदिवसीय विश्वकप फाइनलसँगै द्रविडको कार्यकाल सकिएको थियो। तर टिमलाई फाइनल पुर्याएको भन्दै उनलाई टी-२० विश्वकप सम्म प्रशिक्षकमा निरन्तरता दियो। अन्तत उनले टी-२० विश्वकप जिताउँदै प्रशिक्षकबाट सुखद बिदाइ लिए। द्रविडको प्रशिक्षणमा भारतले २०२३ मा एसियाकप समेत जित्यो। उनले आफ्नो कार्यकालमा भारतलाई तीनवटै फर्म्याटमा पहिलो पटक शीर्ष स्थानमा एकैपटक पुर्याएका थिए।