
भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भैकन आज यस्तो।।
मेरा इनार न त सत्तल पाटि क्यै छन्
जो धन् र चीजहरु छन् घरभित्र नै छन्।
यस् घाँसिले कसरि आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखि कीर्ति।।
मोतीरामद्वारा गरिएको भानु–घाँसी–भेटको वर्णन
भानुभक्तको घाँसीसित भेट १८९१ संवत्मा भानुभक्त घरबाट हावा खान निस्कँदा एक नदीका तीरमा भएको हो। उनले त्यतिबेलै घाँसीको उपदेशबाट प्रभावित भएर ‘भर्जन्म घाँसतिर’ इत्यादि दुई पद्य पनि रचेका हुन् र संसारमा आफ्नो नाम चलाउन अध्यात्म-रामायणको भाषाश्लोकमा अनुवाद गर्ने निश्चय पनि गरेका हुन् भनेर मोतीराम भट्टले ‘कविभानुभक्त को जीवनचरित्र’मा (वि.सं. १९४८, पृ.११–१६) सविस्तार वर्णन गरेका छन्।
यसै कुरालाई पछिपछिका धेरै लेखक र समालोचकहरूले प्रायः समर्थन गरेर लेख्ने गरेको देखिन्छ। घाँसीबाट प्रेरणा लिएर कीर्ति राख्न भानुभक्तले रामायणको रचना गरेका हुन् भन्ने कुरामा पनि उनीहरू सहमत भएको देखिन्छ।
भानु र घाँसीको भेट काल्पनिक हो भन्ने मत
तथापि कसैकसैले यी दुई पद्य भानुभक्तले रचेका हैनन् तथा घाँसी र भानुको प्रसङ्ग पनि मोतीरामले कल्पना गरेर जोडेका मात्र हुन् भनेका छन्। यस्तो विचार राख्नेहरूमा टुकराज मिश्र र पद्मराज मिश्र (‘रामकृष्ण कुँवर राणा’ उपन्यास, १९९९, लेखकको गन्थन, पृ. ग–घ), बाबुराम आचार्य (‘पुराना कवि र कविता’, २००३, भानुभक्तप्रति भट्टजी परिशिष्ट—क), बालचन्द्र शर्मा (भानुभक्त, २०१४, पृ.३७–४२), तारानाथ शर्मा (भानुभक्तदेखि तेस्रो आयामसम्म, तृ.सं. २०३६, पृ.१–१०), श्रीभद्र शर्मा (भानुभक्तले कलम किन चलाए?, २०६२, पृ.४१–४७), शर्वराज आचार्य (भानुभक्तीय खोज, २०६९, पृ.२१–२७, ३०, ३२), नरेन्द्रराज प्रसाई (भानुभक्त आचार्यको जीवनवृत्त, २०७१, पृ.१००–१०४) इत्यादि छन्। वरिष्ठ समालोचक वासुदेव त्रिपाठीले चाहिँ पद्य कल्पित हैनन् भानुभक्तकै हुन्, मोतीरामद्वारा उपस्थापित कथामा चाहिँ केही कल्पित अंश पर्न गएको हो भनेका छन् (भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : समीक्षात्मक अभिमत, २०७२, पृ.५४)। भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले चाहिँ पहिला ‘भानुको भावना’मा (२०२९, पृ.२४) यो घटना काल्पनिक हो र पद्य पनि अरूले नै रचेका हुन् भनेका थिए। तर पछि आएर ‘आदिकवि भानुभक्त आचार्य खोजपूर्ण जीवनी’मा (२०४२, पृ.२५) चाहिं उक्त दुई पद्य भानुभक्तले नै रचेका हुन् भनेर स्वीकारेका छन्।
‘भर्जन्म घाँसतिर’ इत्यादि दुई पद्य भानुभक्तकै हुन्
‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’का (प्र.सं.२०१७, द्वि.सं. २०३६) लेखक हाम्रा पितामह पण्डित कविराज नरनाथ आचार्यले ‘भर्जन्म इत्यादि दुई पद्यमा सन्देह र त्यसको समाधान’ भन्ने लेखमा (मधुपर्क, २०२८ असोज) उक्त पद्यहरूमा प्रयुक्त ‘भर्– (जन्म), मन् दिइ, आज, न त, यस्, चीज, अर्ती, धिक्कार, मकन, बस्नु’ यी शब्दहरूको भानुभक्तले रामायणमा गरेको प्रयोगशैलीको समेत उदाहरणसहित विवेचना गरेर उक्त दुई पद्य भानुभक्तकै हुन् भनेर निष्कर्ष निकाल्नुभएको छ। यसबाट यी पद्य रामायणको रचना भइसकेपछि (१९१९ संवत्पछि) रचिएका हुन् भन्ने पनि देखिन्छ। साथै उहाँले रचनाशिल्प, शब्दप्रयोग र भावमाधुर्य इत्यादि कवित्वगुणका आधारमा भानुभक्तका पद्य र मोतीरामका पद्य सजिलै छुट्ट्याउन सकिने कुरा बताउँदै भानुभक्तका पद्यलाई मोतीरामका पद्य ठान्ने कस्ता समालोचक हुन् भनेर उनीहरूप्रति तीखो व्यङ्ग्य पनि गर्नुभएको छ (सच्चा जीवनचरित्र, द्वि.सं. २०३६, परिशिष्ट, पृ. ज)।
यसैगरी, हाम्रा पिताजी शिवराज आचार्यले पनि ‘भानुभक्त र घाँसी : थप विवेचना’ भन्ने लेखमा (मधुपर्क, २०२७ असार) उक्त पद्यका विषयमा विभिन्न व्यक्तिले उठाएका शङ्काहरूको विवेचना गरेर तिनको समाधान गर्नुभएको छ। पद्यमा वसन्ततिलका वृत्तका (छन्दका) अनुरोधले पैलो अक्षर गुरु आवश्यक भएकाले यहाँ भानुभक्तले ‘म’को सट्टा ‘मै’ शब्दको प्रयोग गरेका थिए होलान्, त्यसलाई मोतीरामले ‘मो’ बनाइदिएका होलान् अथवा प्रुफका गल्तीले ‘मै’को ‘मो’ हुन पुगेको मात्र होला, अथवा अन्यत्र कतै पनि ‘मो’ शब्दको प्रयोग नगरेका भानुभक्त आफैबाट नै काठमाडौंतिर चलेको एकदेशी ‘मो’ शब्दको आवश्यकताअनुसार यहाँ एक ठाउँमा प्रयोग भएको होला इत्यादि कुरासमेत उक्त लेखमा लेखिएको छ। काठमाडौंमा आवतजावत भैसकेपछि उक्त दुई पद्य लेखिएकाले यताका भाषाका प्रभावले ‘मो’को प्रयोग हुनु पनि असम्भव हैन नै। घाँसीसम्बद्ध उक्त दुवै लेख सच्चा जीवनचरित्रका परिशिष्टमा प्रकाशित छन् (द्वि.सं. २०३६)।
रामायण लेखिसकेपछि घाँसीसित भानुको भेट
पण्डित कविराज नरनाथ आचार्यले घाँसी र भानुका सन्दर्भमा ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’मा (प्र.सं.२०१७, द्वि.सं. २०३६) अरूको भन्दा भिन्न मत प्रमाण, युक्ति र अनुश्रुतिका आधारमा प्रस्तुत गर्नुभएको छ। उहाँले घाँसीसित भानुभक्तको भेट उनले रामायण लेखिसकेपछि भानुभक्त ससुराली मानुङ जाँदा बाटामा तनहुँको कर्लुङ खोलानजिकै १९२० संवतमा मात्र भएको हो, त्यति बेलासम्म उनले रामायण लेखिसकेकाले घाँसीसितका कुराकानीबाट परोपकारका निम्ति धन खर्च गर्ने प्रेरणा मात्र भानुले लिएका हुन्। रामायणको अनुवाद गर्ने प्रेरणा त आफ्नै पितामह श्रीकृष्ण आचार्यबाट लिएका हुन् इत्यादि कुरा लेख्नुभएको छ। घाँसीसित भानुको भेट भएको उक्त घटनालाई सच्चा जीवनचरित्रमा ११ पद्यमा उहाँले यसरी वर्णन गर्नुभएको छ—
बिस् साल्मा कवि भानुभक्त ससुरालीका घरै जाम् भनी
जान्थ्या घर्तिरबाट कोस–तिनमा थीयो कुवा एक् अनी।
जेठ् मास् पो रछ घामले कविजिका बाधा गर्यो देहमा
खान्छू पानि भनी गया कवि तहीँ कुवा थियो सेपमा।।१।।
खाया पेट्भरि पानि ताहिँ ति बस्या एक् छिन् त आराम् लिई
कुवामास्तिरबाट घाँसिजन एक् भारी ठुलो घाँस् लिई।
आयो भारि बिसाइ पानि पिइ खुप् ताँहीँ बस्यो त्यो पनी
देख्तैमा कविलाइ सज्जनझईँ ठानेर सोध्यो पनी।।२।। इत्यादि।
‘भानुभक्त र घाँसी’ शीर्षकमा यी पद्यहरूलाई सरु गुरागाईंले मधुर स्वरमा वाचन गरेकी छन्, जुन युटुबमा लाखौं श्रोताहरूका माझ लोकप्रिय भएको छ।
पितामह श्रीकृष्णले सधैं अध्यात्म–रामायण पाठ गर्ने र अध्यात्म–विषयको चर्चा पनि गरिरहने हुनाले श्रीकृष्णबाट शिक्षा पाएका भानुभक्तले उहाँबाटै अध्यात्म–रामायणको अनुवाद गर्ने प्रेरणा पनि लिन अत्यन्त सम्भव देखिन्छ। पितामह श्रीकृष्णको भानुमा अत्यन्त ठुलो प्रभाव परेको कुरा भानुले काशीमा १९९१ संवत्तिर आफ्नो परिचय दिन बनाएको प्रथम पद्यबाट पनि बुझिन्छ, जुन यसप्रकारको छ—
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खुप् उच्चा-कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिह्नीलिया।।
यस पद्यमा मातृभूमि, आर्यवंश, उच्च कुल, ब्राह्मण वर्ण, सत्कर्म र विद्याजस्ता वैदिक सनातन वर्णाश्रम धर्मका महत्त्वपूर्ण कुराहरूको उल्लेख गरेर तिनमा भानुभक्तले गौरवानुभूति गरेको देखिन्छ। सदाचार र विद्याका आधारमा कुल उच्च हुने कुरा कलिलै (१९/२० वर्षकै) उमेरमा भानुभक्तले पितामह श्रीकृष्ण आचार्यको शिक्षादीक्षाबाट हृदयङ्गम गर्न सकेको यस पद्यबाट स्पष्ट हुन्छ। अतः रामायण लेख्ने प्रेरणा पनि भानुलाई आफ्नै पितामहबाट प्राप्त भएको बुझिन्छ।
‘भर्जन्म घाँसतिर’ इत्यादि पद्य भानुका प्रौढावस्थाका रचना हुन्
उक्त दुई पद्यको रचनाशिल्प हेर्दा भानुभक्तले परिपक्व अवस्थामा नै उक्त पद्यहरू रचेका होलान् भन्ने कुरा विवेकशील समालोचकका मनमा अवश्य नै आउनुपर्ने हो। बाबुराम आचार्यले ‘यस पद्यको रचनाशैली हेर्दा सिकारु कविको रचना देखिँदै’ भनेका छन् (पुराना कवि र कविता, २०५०, पृ.२०३)। त्यसैगरी वासुदेव त्रिपाठीले पनि ‘दुई सुन्दर पद्यरचना भने युवाकवि मोतीरामका बुताभित्रका नदेखिई भानुभक्तीय नै ठहर्छन्’ भनेका छन् (भानुसन्दर्भ र..भानुजीवनी : समीक्षात्मक अभिमत, २०७२, पृ.५४)। अर्को ठाउँमा उनले ‘… छन्दयोजना र पदवाक्य तथा उक्तिगत र छन्दगत चरणका योजनाका र भावयोजनाको सौन्दर्यपूर्ण एवम् परिपक्व सामर्थ्य तथा प्रचुर अनुप्रासीय, (अन्त्य, उपादि–मध्य र अन्त्य जस्ता) शृङ्खला लगायतका उच्चतर श्रुतिमाधुर्ययुक्तता भानुभक्तका सिर्जन हुन्’ भनेका छन् (भानुभक्त आचार्यको जीवनवृत्त, २०७१, भूमिका, पृ.३०)। उक्त कुराहरूको विचारबाट पनि यी पद्य भानुभक्तका परिपक्व अवस्थाका उत्कृष्ट रचना हुन्, प्रारम्भिक अवस्थाका हैनन् भन्न सजिलै सकिन्छ।
तथापि धेरैले यी दुई पद्यलाई मोतीरामले झैं भानुभक्तले २० वर्षको सिकारु अवस्थामै रचना गरेको मानेका छन्। तर बीसै वर्षका युवकको कीर्ति राख्न काम गर्ने उमेर र अवस्था नै भएको हुँदैन। उसका लागि आफ्नो नाम राख्न काम गर्ने समय भविष्यमा पर्याप्त नै बाँकी रहेको हुन्छ। त्यसैले कच्चा उमेरमा हैन, परिपक्व अवस्थामा नै भानुले उक्त पद्य बनाएको कुरा पद्यबाटै स्पष्ट बुझिन्छ। भानुभक्त उक्त पद्य बनाउँदाका अवस्थामा बिस वर्षका मात्रै भएका भए उक्त पद्यमा आफूभन्दा धेरै नै जेठा चालिस–पैंतालिस वर्षका घाँसीलाई ‘यस् घाँसीले कसरि आज दिएछ अर्ती’ भनेर आफूभन्दा सानालाई प्रयोग गर्नेजस्तो भाषाको प्रयोग गर्दा पनि गर्दैनथे होलान्, पचास वर्ष पुग्नै आँटेका परिपक्व भानुले नै आफूभन्दा कान्छा चालिस–पैंतालिस वर्षका घाँसीलाई यस्तो भाषा प्रयोग गरेका होलान् भन्ने कल्पना गर्न पनि सजिलै सकिन्छ। यस विषयलाई विवेकशील र विवेचनशील लेखक–पाठकहरूले राम्ररी हृदङ्गम गर्न सक्नुहुन्छ।
सच्चा जीवनचरित्रमा विस्तारमा विविध कोणबाट गरिएको भानु–घाँसी–प्रसङ्गलाई राम्ररी हृदयङ्गम गर्न नसक्नाले कसैले ‘१९२० सालतिर घाँसीसित भेट भएको हुँदो हो त भानुभक्तले ‘धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ भनेर लेख्दैनथे’ भन्ने लेखेका छन्। तर २० वर्षको भक्खरको युवकले आफूले कीर्ति राख्न नसकेकामा आफूलाई धिर्कार्दै–धिक्कार्दैन, प्रौढावस्थामा वा वृद्धावस्थामा मात्र मान्छेलाई आफूले कीर्ति नराखेकामा पश्चात्ताप हुन सक्छ भन्ने विषयमा विचार नपुर्याइकन त्यस्तो लेख्न पुगेको देखिन्छ। यस विषयमा समालोचकहरूको ध्यान जान आवश्यक छ।
घाँसीसित भानुभक्तले लिएको प्रेरणा भनेको ‘गरिब भैकन पनि परोपकार गर्न धन खर्च गर्ने घाँसी, धनी भैकन पनि परोपकार गर्न धन खर्च नगर्ने आफू भानुभक्त’ भन्ने सन्दर्भमै हो। त्यो कुरा पद्यले नै स्पष्ट गरेका छन्। सच्चा जीवनचरित्रमा ‘गरिबले धन खर्च गरेर आफ्नो कीर्ति राख्यो भने म पनि परोपकारका निम्ति धन खर्च गरी कीर्ति राख्छु’ भन्ने प्रेरणा घाँसीबाट लिएर भानुभक्तले धन खर्च गरेर गर्नुपर्ने चौतारो बनाउने काम गरेका हुन् भन्ने कुरा स्पष्ट पारिएको छ (द्वि.सं.२०३६, पृ.५४)।
रामायण बनाउँदा भानुभक्तको धन खर्च नभएको हुनाले घाँसीसित प्रेरणा लिएर रामायण बनाए भन्न उक्त दुई पद्यका तात्पर्यबाट कत्ति पनि मिल्दैन। विद्वान्, कवि वा लेखकसितको सङ्गतले प्रेरणा लिएर रामायण बनाए भन्दा पो स्वाभाविक हुन्थ्यो त। घाँसी कवितामा ‘मध्यम वर्गभित्र रहेको सामन्ती सोच प्रकट भएको छ’ भन्ने पनि कसैकसैको भनाइ देखिन्छ। किन्तु उक्त पद्यमा घाँसी दरिद्रै भए पनि बुद्धि उच्च कोटीको रहेछ भनेर घाँसीको बुद्धिलाई प्रशंसा मात्र गरिएको हो। प्रशंसनीय पक्षको उत्कर्ष देखाउनका निम्ति त्यसको विपरीत स्थिति हुँदाहुँदै पनि त्यसबाट माथि उठेर उदाहरणीय चरित्र देखाउन सकेको भनेर साहित्यमा यसरी पनि वर्णन गर्ने गरिन्छ। तर यस्ता विषयमा विवेक गर्न नसकेकाले र हाम्रा धर्मसंस्कृतिका द्वेषी तथा विरोधीले धार्मिक निष्ठा र भावनालाई नै ‘सामन्ती सोच’ भन्ने क्षुद्र शब्दको प्रयोग गर्ने गरेकाले त्यसबाट बहकिएर विनाविचार भानुभक्तप्रति उक्तप्रकारका आक्षेपपूर्ण शब्दको प्रयोग गरिएको बुझिन्छ। वास्तवमा उक्त पद्यमा कविको स्वाभाविक र औचित्यपूर्ण अभिव्यक्ति आएको देखिन्छ।
उपसंहार
माथिको विवेचनाबाट ‘भर्जन्म घाँसतिर’ इत्यादि दुई पद्य भानुभक्तले युवावस्थामा १९९१ सालमा बनाएका हैनन्, प्रौढावस्थामा १९२० सालमा बनाएका हुन्, अध्यात्मरामायणको अनुवाद गर्ने प्रेरणा उनले आफ्नै पितामह श्रीकृष्णबाट पाएका हुन्, घाँसीसित भेट भएपछि ‘गरिबले त धन खर्च गरेर कुवा बनाएर कीर्ति राख्यो भने म त झन् धनी छु, त्यसैले मैले पनि परोपकारका निम्ति धन खर्च गरेर कीर्ति राख्नुपर्छ’ भन्ने प्रेरणा घाँसीबाट लिएर भानुभक्तले धन खर्च गरेर गर्नुपर्ने चौतारो बनाउने काम गरेका हुन् भन्ने कुरा बुझ्न सकिन्छ।
-२११औं भानुजयन्तीका अवसरमा प्रकाशित