बा आउनु भयो
तङ्ग्रेर वा लत्रेर बा घर आउनुभयो
काकाको स–सानो जादू हेरेर,
रविका किरणहरुसँग खेलेर
बलियो घुँँडा बनाई
दाइको हिन्हिनाउने वायुपंखी घोडा चढेर
घर आउनुभयो बा
यस पटक आउँदा,
पित्तलको घण्टी बजाएर आउनु भयो
वा,
स्वर्णिम जलहरी जढाएर आउनु भयो
जे भए पनि
बा आउनुभयो
बा आउने पक्का भएपछि
खै, किन हो मन्दिरमा घण्टीको निनाद नसुनिएजस्तो
भट्ट र पूजारी द्वन्द्वले नित्यपूजा रोकिएजस्तो
यतैकतै,
एउटा सन्नाटा छाएजस्तो
एउटा अपसकून आएजस्तो
त्यति नै बेला,
बालाई घरभित्र/घरबाहिरका आफन्तीले
रित्तो घैंटो देखाए पनि
केही वास्ता नगरिकन
शायद मनमा पूर्ण स्वर्णिम घडा सम्झिँदै
बा आउनु भयो ।
घरमा खुशियाली आएजस्तो
छिमेकमा टोलमा रुवावासी छाएजस्तो
‘वेलकम टु होम्’ बा ।
बाले घर छोड्दा
बालाई रुवाएर दाइ आउनु भाथ्यो
त्यतिबेला कान्छो जन्मेकै थिएन,
अहिले दाइलाई हँसाएर आउनु भा छ
दाइलाई कतिञ्जेल हो थाहा छैन
च्याप्नसम्म च्याप्नु भा छ
जादू देखाउने काकालाई
उल्टै ‘हिल्ना नही’ भन्दै
नक्कली मुटु कलेजो फ्यात्त बाहिर फ्याँक्नु भा छ ।
यतिले नपुपेर
मायाले उचाल्दा उचाल्दै
कान्छोको जाघेको खल्ती झर्यात्त च्यात्दै आउनु भा छ
अलिकति काकाको मन दुखाएर आउन भा छ
अलिकति कान्छाको आत्मा रुवाएर आउनु भा छ ।
बा भनेको घरको मूली हो
विश्वास र ढाडसको धुरी हो ।
आशा छ,
बाले अब राम्रो राम्रो कुराहरु सिकाउनु होला
छोराहरु उरन्ठेउला भइसकेका छन्
असल आचरण सिकाउनु होला
केटाकेटीहरु छाडा र उत्ताउला भइसकेका छन् ।
असल संस्कार सिकाउनु होला ।
बिन्ती छ
बा उमेर ढल्किसक्या छ
पथ पहरेजमा बस्नुहोला ।
भो अब मद्रास चिकेन र हैदरावादी विरयानीमा हैन
आफ्नै आँटो पिठोमा चित्त बुझाउन पर्ला
पिरो मोमो र बेइजिग डकमा हैन
आफ्नै तरुल गिठ्ठोमा ध्यान पुर्याउनुपर्ला ।
रात बिरात बटर मसला खाँदा
बेला–कुबेला बक्चोय र डम्प्लिङ खाँदा
पच्दै नपचिकन उपरतली हुँदा कस्तो भाथ्यो ?
धन्न जीवन जलले बचाएको हो प्राण
अल्छि तिघ्रो स्वादे जिब्रो आफै दोहोर्याउनु हुन्थ्यो हैन र?
अब कसैले,
अमेरिकी गार्डेनको ब्रेडक्रम दलेर
स्पाइसी क्रन्ची चिकेन ल्याए पनि
बेल्जियन वाफल टक्याएर पनि
यूरोपियन चकलेट चखाउन लागेपनि
नखानु होला
प्रेसर बढ्न सक्छ । सुगर ह्वात्तै माथि चढ्नसक्छ
दम र खोकी बल्झन सक्छ
आफ्नै बारीको स्याउ र आरुमा तागत छ
आफ्नै छाप्रोको च्याउ र मुडेको आलुमा तागत छ ।
बा
उमेर ढल्के पनि बोसो बढेको छ
बिहान साँझ वाक् गर्नुहोला
नजिकैको पार्क र आँगनतिर टहलिनु होला
मन बहलाउनु होला
टाढाको चिया बगानमा खाली खुट्टा नहिँड्नु होला बा
बर्षत् होस् या हिउँद
जुका टाँसिन सक्छ,
चियाबारीमा
टाँसिएपछि जुका रगत चुसेर ढाडिन्छ
अनि फुत्त भुइँमा खस्छ
बालाई कमजोर बनाएर अनि गलाएर
फुत्त भुइँमा खस्छ
आँतको तागतजति सोसेर ढलाएर
फुत्त भुइँमा खस्छ ।
बा प्याच्च बोल्नुहुन्छ भन्छन्
मनै घायल पार्ने गरी कुरै नबुझी पेल्नु हुन्छ भन्छन्
हायल कायल पार्नेगरी
सुने हुन्छ नि बा
छोराछोरीका असन्तुष्टि र निराशा
छोराछोरीका अधैर्य र गुुनासा
त्यसरी नै
जसरी हस्तिनापुरको लडाइँमा
अर्जुनको उच्छवास कुष्ठा, पीडा र मोहको अभिवक्ति
प्रथम अध्यायभरि सुनिरहे मधुसुदनले गीतामा
विश्वास छ
बाले आशीर्वाद दिएको लाग्छ
बाले श्राप दिएको पनि लाग्छ
हजुरलाई थाहै छ
पहिले पहिले व्यासासनको पण्डितभन्दा कडा बोल्नुहुन्थ्यो
नरदेवीको वैद्यभन्दा कडा ओखती घोल्नु हुन्थ्यो
पण्डित आफै वैद्य आफै
कवि लेखक झाँक्री आफै
बा बोल्दा छिमेकीलाई पोल्थ्यो
छिमेकी बोल्दा बाको पोल खोल्थ्यो
घरमा फेरि कोलाहल हुन्थ्यो ।
अब
आशीर्वचन मात्र बाँड्नु होला बा
दुर्वचन जति कर्मनासामा फाल्नुहोला बा
बालाई इन्डोर गेम मन पर्छ
कर्पोरेट गेम होइन
पुरानै खेल मन पर्छ ।
जति वाक् चाल छ नि बाको
त्यो भन्दा बढी बाघचालमा सीप छ
बाख्राले बाघ थुन्ने
बाघले बाख्रा थुत्ने
अन्त्यमा खोर रित्तो बनाउने।
बालाई बाघचाल मन पर्छ
बा लाई चेस पन पर्छ ।
अझैपनि बा लाई चेस खेलुँ खेलुँ भा छ
दाइ, काका र कान्छालाई पेलुँ पेलुँ भा छ
पहिले कहिं लाग्छ
म्याग्नस कार्लसन, ग्यारी कासांरोभ र
विश्वनाथन आनन्दलाई पनि चेसमा जित्नु हुन्छ बा
प्युसा मर्छन्, उँट मर्छन् । घोडा मर्छन्/हात्ती मर्छन् ।
मन्त्री मर्छन्, अनि
चाल बन्द गराएर राजाको, शायद चेस जितिन्छ ।
अब,
बाघचाल जित्नु पर्दैन
चेस जित्नु पर्दैन
छवि बिग्रेको बेलामा
आफू हारेर हाम्रो मन जिते पुग्छ
विश्वास जिते पुग्छ
जेहोस्, घरमा खुशियाली आए जस्तो
छिमेकमा टोलमा रुवाबासी छाएजस्तो
‘वेलकम टु होम् बा’!