राम्रो नाटक लिएर जाने रंगकर्मीलाई थिएटरको कमी छैन

रंगकर्मी टंक जसले स्कुलमा नाटक पढाउँछन् र थिएटरमा नाटक पनि गर्छन् (भिडियो)

+
-

रंगमञ्चमा सक्रिय नाम हो, रंगकर्मी टंक चौलागाई। कुनै समय यायाती, माधवीलाई नाटकका पात्र बनाएका टंक मिथकीय पात्रलाई आजको समाजसँग जोडेर नाटक निर्देशन गर्न माहिर मानिन्छन्। योगमाया जस्तो ऐतिहासिक पात्रमाथि पनि नाटक गरे उनले। यसपालि भने टंकले बिर्सिएको कथालाई सम्झाउने गरी रंगमञ्चमा आएका छन्। शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘युगको साँचो’ नाटकमा उनले डुबेर बसेका उद्योगको कथा भन्न खोजेका छन्।

बर्सेनि विद्यालयमा २०/२५ वटा नाटक निर्देशन गर्ने र विभिन्न नाटक महोत्सवमा भाग लिने टंकले यसपालि नाटक ‘चार्ली एण्ड द चकलेट फ्याक्ट्री’लाई भावानुवाद गरी ल्याएका छन्। उनी भन्छन्, ‘यस नाटकलाई नेपाली परिवेश सुहाउँदो भावानुवाद गरेको हुँ, वास्तवमा ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ बालबालिका केन्द्रित नाटक हो ।’

टंकले यसलाई नेपाली बनाउँदा बाल कलाकारको पात्र र उमेर परिवर्तन गरिदिएका छन् । वास्तविक कथा मनोरञ्जनमा सीमित भए पनि चलाखीका साथ टंकले नेपाली सुहाउँदो तथा नेपाली युवा लक्षित बनाएका हुन् । किन ? उनी भन्छन्, ‘ लाखौं युवा विदेश भासिरहेका छन्। रोपनीका रोपनी जमिन बाँझो छ। उद्योग कलकारखाना सबै बन्द छन्। नयाँ पुस्तालाई राज्यले रोक्ने कोसिस गरेको छैन। अवसर दिँदैन। नेपाली युवामा छाएको चरम निराशाको संकेत रित्तो गाउँ र सहर पनि बिस्तारै रित्तिए के होला ? यस्तै परिकल्पनाबीच यो नाटक निर्माण गरेको हुँ।’

पछिल्लो समय व्यावासायिक दर्शक लक्षित गरेर नाटक बनाउन हौसिएका छन् रंगकर्मीहरू। उनी पनि अछुत छैनन्। टंक पलायन हुन चाहेका किशोर किशोरी तथा आफ्नो सन्तान विदेश नै गइदिए हुन्थ्यो भन्ने अभिभावकलाई नाटकमार्फत सचेत गराउँछन्।

‘विदेश गइरहेका युवालाई रोक्ने कसरी त ?,’ उनी भन्छन्, ‘मलाई लाग्यो, देशमा उद्योग स्थापना भए त अधिकांश युवा नेपालमै बस्ने थिए । उद्योग स्थापना हुनु रोजगारी सिर्जना हुनु हो । कृषि त छँदै छ । तर, हाम्रो परिवेशमा उद्योग चाहिन्छ । ठाउँ र आवश्यकताअनुसार खेती गर्ने र त्यही कच्चा पदार्थअनुसार ती ठाउँमा उद्योग स्थापना भए त विदेश गएर सीप सिकेकाहरू, कमाएर फर्कनेहरूलाई यहीं बस्ने ठाउँ मिल्ने थियो,’ उनले भने, ‘कतार पुगेर ८० हजार कमाउनेले नेपालमै ६० हजार कमाउन पाए परिवार छोडेर किन विदेशिन्छ र ?’

‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ मा चकलेट कम्पनी छ । ‘युगको साँचो’ मा भने दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योगको पृष्ठभूमि समावेश गरिएको छ । हेटौंडा कपडा उद्योग खोल्नुपर्छ भन्दै बजेट छुट्याइन्छ । कपडा उद्योग पुनः सञ्चालनमा आउला आउला । यसले चीन र भारतका सस्ता कपडासँग प्रतिस्पर्धा गर्न नसक्ला नसक्ला। तर नेपाली उद्योगमा उत्पादन भएका कपडाले केही हदसम्म भए पनि बजार पाउने छ। अवसर र रोजगार सिर्जना गर्ने छ। आजका पुस्तालाई पलायन हुनबाट केही हदसम्म रोक्ने त छ।

कथाको प्रमुख पात्र चार्लीलाई पनि ‘युगको साँचो’ मा महिला बनाएका छन् । टंक आफैं पनि महिलाका कथालाई नाटकमा ल्याउन रुचाउँछने निर्देशनमा पर्छन्। सीमान्तमा पारिएका महिलालाई उनी आफ्नो कथामा उचित स्थान दिन्छन्  । उनका पछिल्ला नाटक ‘माधवी’, ‘यायाती’ र ‘योगमाया’ मै पनि महिलाको सशक्त चरित्र चित्रण थियो।

नाटक युगको साँचोले नयाँ पुस्तालाई पलायन हुनबाट रोक्ने कोसिस उद्योगपतिहरूले के कसरी सक्छन् भन्ने उपाय पनि दिने कोसिस गरिएको छ युगको साँचोमार्फत।

नाटकमार्फत देशमा फेरि उद्योग खुल्नुपर्ने बहस छेड्ने तयारीमा रहेका टंक उद्योगलाई लिएर सरकारमा अझै नीतिगत स्पष्टता नभएको बताउँछन्। ‘आयात कम गरेर निर्यात बढाउने नीतितर्फ सरकारले जोड दिनुपर्ने हो,’ उनले भने, ‘एउटा प्रदेशमा २ वटा उद्योग खोल्दै रोजगारीको व्यवस्थापन गरे त विकल्प भेटिन्छ नै । १०/१५ वर्ष यसरी नै उद्योग सञ्चालन गरेर अगाडि बढ्ने हो भने हाम्रा युवा देशमै बस्ने थिए ।’ विद्यालयका विद्यार्थीबीच रंगमञ्च पढाउने हुँदा धेरैले ‘युगको साँचो’लाई बाल नाटकमा रूपमा पनि व्याख्या गरेका छन्।

टंक नेपाली रंगमञ्चको विषयमा पनि गम्भीर छन्। करिब १५ वर्षको रंगमञ्च यात्रामा उनीजस्ता धेरै साथीहरू पलायान भएका छन्। तर टंकले त्यति सोच्नु परेको छैन। डेरा गरेर बस्ने धेरै रंगकर्मीसाथीहरू पलायन भएका हुन्। तर रंगमञ्चका धेरै क्षेत्रमा काम गर्नेहरू पनि यतै केही गर्न लागिरहेका पनि छन्।

उनी भन्छन्, ‘ नाटक आफैँमा बहुआयामिक विषय हो। अभिनय मात्रै गरेर वा निर्देशन मात्रै गरेर वा लेखेर मात्रै भनेको भए बेग्लै उत्तर हुन्थ्यो। नाटक मञ्चनको चरणमा पुगेपछि बहुआयामिक पक्ष समेट्छ। यस्ता विविध पक्षमा संलग्न भएकाहरूले राम्रै जीवनयापन गरिरहेका छन्। जस्तो कि नाटक पढाउने, कार्यशाला सञ्चालन गर्ने, लेख्ने, लाइट÷सेटमा काम गर्ने, अभिनय गर्ने, निर्देशन पनि गर्ने, यी सबै स्किल भएकाहरूले भोकै बस्नु पर्दैन। तीनमहिने तालिम पनि नलिएको, हेर्दाहेर्दै नाटक शिक्षक बनेको एउटा नाट्य शिक्षकले स्कुलमा पार्टटाइम काम गरेर महिनाको एक लाखमाथि कमाउन थालिसकेका छन्। सेट निर्माणमा दक्षता भएकाले पनि राम्रै गर्छन्।

तर खाली निर्देशन मात्रै गरेर, अभिनय मात्रै गरेर चाहिँ चिया पसलमा चुरोटको धुँवा उडाउँदै निरासा पोख्नुबाहेक अरू केही उपलब्धी हुन्न। आफ्नो क्षमता र रुचि पहिचान गरी नाटकका अरु पक्षमा दक्षता हासिल गर्दै जानु पर्यो।’

बानेश्वरको ‘भ्याली भ्यु स्कुल’मा नाटक पढाउने गरेका टंकले १९९८ तिर बानेश्वर क्याम्पसमा निःशुल्क अभिनय सिक्ने अवसर पाएका थिए। रंगकर्मी वीरेन्द्र हमालको विद्यार्थीका रुपमा अभिनय यात्रा सुरु गरेका टंकले विद्यालयमा पढाउन पाउँथेनन् भने उनी पनि पलायन हुनुपथ्र्यो कि ?

उनी भन्छन्, ‘अहिले धेरै रंगकर्मीलाई विद्यालयले सजिलो बनाइदिएका छ। अहिले अधिकांश विद्यालयमा नाटक पढाइन्छ। नाटकमा करिअर बनाउन चाहने नयाँ पुस्तालाई यसले सजिलो बनाएका छ। सीसीए (को करिकुलर एक्टिभिटिज) अन्तर्गत विद्यालयले नाटक पढाउने वातावरण बनाइदिएका हुनाले नाटकमा लागेर सर्भाइभ हुन गाह्रो हुँदैन। टंक नयाँ पुस्ताका भाइबहिनीसँग नाटक गर्दै आइरहेका छन्।

यसै नाटकमा पनि नयाँ र पुराना कलाकारसँग काम गरेका छन् उनले। कलाकार आकांक्षा कार्कीी सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्रीलगायतको अभिनय छ।

स्वतन्त्र रंगकर्मी भए पनि नयाँपुरानार रंगकर्मी भएर नाटक मञ्चन गरिरहेको बताउँछन् उनी। थिएटर खोज्दै हिँड्नु पर्ने दुःख धेरै स्वतन्त्र रंगकर्मीले भोग्नु परेको छ। तर टंकलाई त्यो दुःख झेल्नु परेको छैन। साठीको दशक अगाडि त्यो अवस्था सिर्जना भएको बताउँछन्। अहिले नाटकघरहरु टन्न छन्। राम्रो नाटक लिएर जानेलाई थिएटर घरहरूमा स्वागत गर्छन्।

‘अहिले नाटक कमजोर भएर हो कि दर्शक कम छन्। तर बलियो नाटकमा त राम्रै दर्शक छन्,’ उनले भने। नाटकमा काम गर्न उत्साहित भए पनि पछिल्लो समय लगानी बढी नै देख्छन् उनी। स्पोन्सर पाउन गाह्रो स्वीकार्छन्। नेपाली नाटक लेखन पनि भनेजस्तो फड्को मार्न नसकेकै कारण विदेशी नाटकलाई भावानुवाद गरेर शो गर्नुपर्ने अवस्था रहेको बताउँछन् उनी।

पहिचानका मुद्दा, जातका मुद्दा, ऐतिहासिक पात्रमाथि काम गर्न धेरै रंगकर्मी लागिरहेका बेला उनले उद्योग ब्युँताउनुपर्नेमा जोड दिएका छन्। थाहा आन्दोलनका रुपचन्द्र विष्टमाथि तयार पारिएको ‘रुदाने’ उपन्यास लिएर आउँदै छन् टंक। उनले भने, ‘रुदाने पनि नाटक बनाउने सोंचले कथा लेख्न बसेको थिएँ पछि आख्यान लेख्न हौसिएँ। उपन्यास राम्रो भयो भने नाटक गरौंला भन्ने छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?