
पोखरा – मंसिर ५ गते पोखराको नागढुंगास्थित युनिक होटलको कोठा नम्बर २०२ मा एक महिला अचेत अवस्थामा फेला परिन्। तनहुँ भीमादकी ३८ वर्षीया सुकु विकलाई उद्धार गरेर उपचारका लागि नागढुंगाकै चरक मेमोरियल अस्पताल पुर्याइयो।
साँझ ७ बजे चरक मेमोरियल अस्पतालमा चिकित्सकले मृत घोषणा गरिदिए। पृथ्वीचोक बसपार्ककै शिला रेस्टुरेन्टमा सुकु २ वर्षदेखि काम गर्दै आएकी थिइन्।
साथीलाई भेट्न जान्छु भनेर निस्किएकी उनी अघिल्लो रात साँझ ७ बजे अन्दाजी ३० वर्षीय युवकसँग युनिक होटल पुगेकी हुन्।
सुकुको शंकास्पद मृत्युपछि प्रहरीले सुरुमा ६ जनालाई पक्राउ गर्यो। पक्राउ परेकाबाट प्रहरीले ‘क्लु’ फेला नपारेपछि उनीहरु तारेखमा छुटे। होटलमा सिसिटिभी क्यामेरा थिएन। सुकुसँगै गएका युवकले राजन गुरुङको परिचय टिपाएका थिए।
लामो समयसम्म क्लु फेला नपर्दा कास्की प्रहरीलाई सुकु हत्या प्रकरण टाउको दुखाइको विषय बनिरह्यो। ८ महिनापछि कास्की प्रहरीले हत्या आरोपमा बुधबार एक जनालाई पक्राउ गरेको छ। बाग्लुङको गल्कोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार दिउँसो सार्वजनिक गरेको हो।
नवलपुरको गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित डेराबाट इलाका प्रहरी कार्यालय गैंडाकोटको सहयोगमा कास्की प्रहरीले पक्राउ गरेको हो। हत्या भएको बखतमा उनी कास्कीको पोखरा महानगरपालिका– ७ घारीपाटनस्थित नागवेली मार्गमा कोठा भाडामा बस्ने गरेको प्रहरीले जनाएको छ। हत्यापश्चत डेरामा श्रीमती र छोरालाई छाडेर उनी फरार भएका हुन्।
सुकुको हत्याको क्लु मत्युअघि प्रयोग गरेको आइफोन १३ प्रोम्याक्सले खुलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले बताए। उनका अनुसार सुकुको मृत्युपश्चात मोबाइलको खोजतलास गरियो। ‘अनुसन्धान गर्ने क्रममा राजेश बुढाथोकीलाई निजले (सञ्जय) ४० हजार ५ सय रुपैयाँमा बेचेको खुल्न आयो। त्यहाँबाट अनुसन्धानको मेन लिंक भयो’, एसपी थापाले भने।
महोत्तरीको बर्दीवास नगरपालिका–७ का २६ वर्षीय बुढाथोकीको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको टोलीले आइफोन फेला पारेको हो। बुढाथोकीलाई पक्राउ गरेर अनुसन्धान गर्दा सञ्जय विकको बारेमा पत्ता लागेको डिएसपी थापाले बताउँछन्।
प्रहरीले सञ्जयको डेराबाट द नर्थ फेस लेखेको निलो रङको ज्याकेट र पोको फोन बरामद गरेको छ। सुकुसँग होटलमा गएको बेला पनि उनले टोपीसहितको द नर्थ फेस लेखेको निलो रङको ज्याकेट पहिरिएका थिए।
पोको मोबाइल बरामद गरेर अनुसन्धान गर्दा प्रहरीले सुकु विकको मोबाइल नम्बर, स्क्रिनससर्ट गरी राखेको तस्बिर, आइफोन समातेर खिचेको तस्बिर फेला पारेको जनाएको छ। यस्तै, मृतकको सुनको सिक्री र मुन्द्रासमेत सञ्जयले बिक्री गरेको खुलेको हो।
मृत्यु हुनुभन्दा अघिल्लो साँझ सुकुसँग युनिक होटलमा जाने सञ्जय भनेर होटल सञ्चालक, देख्ने साथी र आफन्तले सनाखत गरेका छन्। एसपी थापाका अनुसार सञ्जयले हत्या गरेको स्वीकार गरेका छन्।
साथीमार्फत सुकु र सञ्जयको चिनजान भएको हो। चिनजानको छोटो समयमा नै उनीहरुको भेट भएको प्रहरीले जनाएको छ। सिरानीले नाकमुख थुनेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम रिपोर्टले देखाउँछ।
आइफोन र सिक्रीको लोभले हत्या भएको प्रहरीको अनुमान छ। ‘होटलको कोठासम्म यिनीहरु पुग्छन्। होटलमा पुगिसकेपछि उसले (सञ्जय) ठूलै सिक्री देख्यो। मोबाइल पनि आइफोन १३ प्रो म्याक्स देख्यो। ऊ त अपराधिक मनोवृत्तिको मान्छे। सामान्य मजदूरी गर्ने मान्छेले दुई तीन लाखको सामान देख्यो। लोभिएर हत्या भएको हुनसक्छ’, हत्याबारे एपसी थापाको विश्लेषण। हत्याको साविते बयान दिए पनि अनुसन्धानकै क्रममा रहेको उनले सुनाए। मृतक सुकु र हत्यारा सञ्जयबीच बिहेको कुरासमेत चलेको खुलेको छ।
यसअगाडि पनि विक चोरी र अभद्र व्यवहार कसुरमा समातिएका थिए। २०७२ असार १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी कसुरमा मुद्दा चलाएको थियो। यस्तै, २०७३ भदौ १ गते वडा प्रहरी कार्यालय बैदामले अभद्र व्यवहार कसूरमा मुद्दा चलाएको प्रहरीको अभिलेखमा देखिएको छ।