
काठमाडौं- माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। चार टोली समिलित प्रितियोगितामा एक जितले नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भयो।
माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। नेपालले माल्दिभ्सलाई २५-१६, २५-९ र २५-१० ले पराजित गरेको हो।
यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ। सबै तीन खेल हारेको माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगितबाट बाहिरियो। पहिलो खेलमा नेपाल श्रीलंकासँग ३-१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो।
अब शनिवारै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाईनल प्रतिद्वन्दी तय हुने छ। कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन्। यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने छ। सेमिफाइनलका दुवै खेल आउने सोमबार हुने छ। फाइनल खेल मंगलबार हुने छ।