
नेपालगञ्ज– नेपालगञ्ज कारागार लागू औषधका बन्दीले भरिँदै गएको छ।
लागुऔषधका बन्दी दैनिक थपिँदै गएपछि कारागार प्रशासन हैरानीमा परेको छ।
डेढ सय क्षमताको कारागारलाई नमिल्नेसम्म ठाउँमा कोठा, हल बनाएर तीन सय क्षमताको बनाइएको छ। नेपालगञ्ज कारागारमा ३ सय जना त लागुऔषधका बन्दी मात्रै पुग्न थालिसकेका छन्।
कारागारका सहायक जेलर श्याम लामिछानेका अनुसार नेपालगञ्ज कारागारमा अहिले ६ सय ३८ जना कैदी/बन्दी छन्।
लागुऔषधका २ सय १, कर्तव्य ज्यानका एक सय ४८, जबर्जस्ती करणीका ९२, मानवबेचबिखनमा ४१ छन्।
शरीर बन्धक र डाँका चोरीका ३७/३७, ज्यान मार्ने उद्योगका १७, वनका १२, गाई मार्ने ११ र हातहतियार खरखजानाका १५ जना कैदी/बन्दी कारागारमा छन्। ६ सय ३८ मध्ये ५९ जना महिला छन् । दुई बच्चा पनि छन् ।
नेपालगञ्ज कारागारमा अटाउनै नसक्ने अवस्था आएपछि सय जना बन्दीलाई अन्यत्र पठाइएको थियो। दाङ, कपिलबस्तु, बर्दिया, काठमाडौं पठाएर सय जना घटाए पनि दैनिक बढ्ने लागुऔषधका बन्दीले कारागारमा साँघुरो बनाएको छ।
‘अन्यत्र जाने थोरै हुन्छ, आउने धेरै हुन्छ,’ जेलर लामिछानेले भने, ‘लागुऔषधका दैनिक आउँछन्।’
लागुऔषधमा भारतीय नागरिकको उपस्थिति पनि बढ्दो छ। सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतबाट लागुऔषध बोकेर आउने भारतीयहरु पक्राउ गरेर नेपाली जेलमा परेका छन्। भारतीयहरु कारोबारका लागि यता आउँछन्। नेपालगञ्ज कारागारमा ५५ जना भारतीय र दुई जना बंगलादेशी नागरिक छन्।
लागुऔषध ब्राउनसुगर बोकेर नेपालगञ्ज आउँदा भारतीय पक्राउ पर्ने र नेपाली चरेश बोकेर भारततिर जादा पक्राउ पर्ने खेल हुन्छ।
पहाडी जिल्लाका पाँच दर्जनभन्दा बढी मानिसहरु अहिले पनि बहराइचस्थित भारतीय जेलमा चरेस काण्डले फसेका छन्।
बाँके प्रहरीले लागुऔषध नियन्त्रणका लागि छुट्टै टोली परिचालन गरेर निगरानी बढाएपछि दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन्।
प्रहरीले लागुऔषध कारोबारमा ‘क्षमा’ दिन छोडेको छ। लागु औषध थोरै भेटिए पनि प्रहरीले मुद्दा चलाउने गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टका अनुसार अहिले कारागारमा ३७ जना लागु औषधका कारोबारी छन्। यी सबैजना प्रहरीको अनुसन्धान पूरा र अदालतको आदेशमा कारागार पुग्छन्।
नेपालगञ्ज लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ भएकाले यहाँबाट देशका विभिन्न ठाउँमा पुर्याउने गरिन्छ। भारतबाट ल्याउने र यहाँबाट छिमेकी जिल्लाहरु सुर्खेत, दाङसहित राजधानीसम्म लागूऔषध पठाउने गरिन्छ।
राजधानीबाट लागुऔषध लिन आउनेको संख्या पनि कमी छैन। जिप्रकाको तथ्यांक हेर्दा पछिल्लो दिनमा पहाडी जिल्लाहरुमा लागुऔषध पुग्ने गरेको छ। शहर बजारमा मात्रै कारोबार हुने गरेको लागुऔषध दूरदराजका गाउँघरमा बिक्री वितरण हुन थालेको छ।
नेपालगञ्जमा चार हजारबढी लागु औषध प्रयोगकर्ता रहेको आकलन गरिएको छ।
अर्को कोठा थप्दै प्रशासन
७ सय १२ जना कैदी/बन्दी नेपालगञ्ज कारागारको सबैभन्दा बढी तथ्यांक हो। बस्नै नसक्ने अवस्था आएपछि कारागार प्रशासनले सय जना अन्यत्र पठायो। फेरि त्यति नै पुग्न लागेको छ।
बन्दीलाई राख्न नै गाह्रो भएपछि कारागार प्रशासनले एउटा कोठा बनाउने प्रक्रिया अघि बढाएको छ।
जेलर लामिछानेले ३५ जना अट्ने एउटा कोठा/हल बनाउन थालेको जानकारी दिए। ‘भूकम्प प्रतिरोधात्मक तीन वटा कोठा बनाउन पैसा आएको थियो, दुई वटा बनाइसक्यौँ, एउटा बनाउनु पर्ने भएको छ,’ जेलर लामिछानेले भने, ‘टेण्डर प्रक्रिया अघि बढेकाले छिट्टै एउटा ठूलो कोठा बनाउँछौं।’
कैदी बन्दी थपिँदै जाने, कारागार प्रशासनले कोठा थप्दै जाने खेल चलि नै रहेको छ। नेपाल सरकारले बाँकेको गनापुर र नौवस्तामा क्षेत्रीय र खुल्ला कारागार बनाउने प्रक्रिया अघि बढाइसकेकाले त्यो बनेपछि केही राहत हुने सम्बद्धहरुले विश्वास गरेका छन्।