
काठमाडौं- सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका थप तीन देशका राजदूत फिर्ता गर्ने तयारी गरेको छ। सरकार एवं गठबन्धन फेरिएसँगै राजदूत फिर्ता र नयाँ नियुक्त गर्ने यसअघिको कुपरम्परालाई केपी ओली नेतृत्वको अहिलेको सरकारले पनि निरन्तरता दिने भएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले सम्भवत; सोमबारको क्याबिनेट मिटिङबाट माओवादीको कोटामा चीनमा नियुक्त भएका विष्णुपुकार श्रेष्ठ, समाजवादीको कोटामा नियुक्त भएका रुसका मिलनराज तुलाधार र अष्ट्रेलियाका कैलाशराज पोखरेललाई फिर्ता बोलाउनेछ।
पोखरेल समाजवादीका अध्यक्ष नेपाल र तुलाधार सम्मानित नेता खनालको कोटामा राजदूत भएका थिए।
यसअघि जेठ २४ गते एमाले माओवादीको गठबन्धन बनेसँगै सरकारले भारत, अमेरिका बेलायतसहितका ११ देशका राजदूत फिर्ता बोलाएको थियो।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतका लागि डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि डा. ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाएको थियो।
स्रोतका अनुसार सरकारले तत्कालै चीन र भारतका लागि नयाँ राजदूत पठाउनेछ। एमाले कोटामा लोकर्दशन रेग्मीलाई चीन र कांग्रेस कोटामा शंकरदास वैरागीलाई भारतका लागि सिफारिस गर्ने सम्भावना छ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायका राजदूतलाई पनि गत जेठमा फिर्ता बोेलाएको थियो। चीन पठाउने तयारीमा रहेका रेग्मी अघिल्लोपटक बेलायतबाट फिर्ता भएका हुन्।