
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमति मान्य नहुने चेतावनी दिएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनै पनि सहमति सह्य नहुने बताए।
उनले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम सुरु गर्ने चेतावनी दिए।
खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरुले खेलाँचीको विषय बनाउन नहुने उल्लेख गरे।
उनले भने, ‘यो संविधान संविधान सभाले बनाएको हो। कसैको निगाहाले बनाइएको होइन। दुई वटा पार्टीले मात्रै बनाएको पनि होइन। संविधान सभाले बनाएको हो। र संविधान सभाको म्याण्डेडलाई अभिव्यक्ति नगर्ने कुनै पनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन। संविधान संशोधन यस्तो खेलाँची गट्टी खेल होइन।’