
काठमाडौँ- नेपालका अधिकांश प्रमुख सडकखण्ड राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन वा अरु कुनै प्रकारका वन क्षेत्र हुँदै जान्छन्। त्यसले वन्यजन्तु र सवारी साधनबीच दुर्घटनाको जोखिम बढाएको छ।
नेपालका १२ वटा राष्ट्रिय निकुञ्जमध्ये चितवन, पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पूर्व पश्चिम राजमार्गसँग जोडिएका छन्। यसकारण जनावरहरु राजमार्गका सडकमा देखिने वा सडकबाट ओहोरदोहर गर्ने गर्दछन्।
पूर्व पश्चिम राजमार्ग तथा नारायणगढ-मुग्लिनक्षेत्रमा रहेका जनावरहरुलाई मध्यनजरमा राखेर नेपालमै पहिलोपटक वन्यजन्तुको आवागमन सहज बनाउन नारायणगढ-मुग्लिन खण्डको बरन्डाभार जंगल क्षेत्र अन्तर्गत रामनगर र आँपटारीमा ४ वटा जैविक अन्डरपास निर्माण भएका छन्। बाटोमुनि जनावर हिँड्नका लागि बनाइएका अन्डर पास पुलको उचाइ त्यहाँ पाइने ठूला जनावरदेखि अरु सानाजनावरका लागि पनि हुने गरेर बनाइनु पर्दछ। अन्डरपासले जनावर र सवारी साधन ठोक्किने जोखिम कम गर्न सहयोग गर्छ। चितवनको रामनगर र आँपटारीमा हात्तीजस्ता ठूला जीवजन्तु ओहोरदोहोर गर्न नसक्ने भए पनि हरिण र मृगका अन्य प्रजाति, बँदेल, चितुवा, जंगली बिरालो, मलसाँप्रो, ढेडु, बाँदर जस्ता साना र मझौलाका साथै घस्रने जीवजन्तु ओहोरदोहोर गर्दै आएका छन्।

नेपालमै पहिलो पटक ८ वर्षअघि बनेको नारायणगढ-मुग्लिन खण्डको आँपटारी र रामनगर-भतेरी जंगलमा रहेको जैविक अन्डरपास। यहाँ यसरी फोहर फालिएको छ।
आँपटारी र रामनगरको अन्डरपास पूर्ण रूपमा वन्यजन्तु मैत्री नभएको वन्यजन्तु विज्ञहरूले बताएका छन्। यस्तै त्यहाँ रहेको अन्डरपासमा स्थानीय बासिन्दा तथा सो क्षेत्रका साना ठूला व्यवसायीले विभिन्न किसिमका फोहर जथाभावी फालेको देखिन्छ।
यी संरचना आठ वर्षअघि विश्व बैंकको आर्थिक सहयोगमा सडक विस्तारका क्रममा बनेका हुन्। सो क्षेत्रका अन्डरपासको चौडाइ र उचाइ १२ फिट हाराहारीको मात्रै भएकाले ठूला जीवजन्तु सहजै हिँड्न उपयुक्त नभएको भन्दै आलोचना भएको हो। २ वर्षअघि मात्र बनेको वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिकाका अनुसार वन्यजन्तुमैत्री संरचनाका आधारभूत मापदण्ड अनुसार अण्डरपासको आकार २० मिटर लम्बाइ र २० मिटर भन्दा कम लम्बाइमा वर्गीकरण गरेको छ। त्यस्तै साना वन्यजन्तु, मझौला वन्यजन्तु, ठूला वन्यजन्तु साथै धेरै ठूला वन्यजन्तुको वर्गीकरण पनि गरेको छ। कछुवा, अजिंगर, गोहोरो, गोहीलगायतका जीव साना वर्गमा पर्छन्। रेडपाण्डा, बाँदर, पानी ओत, दुस्मी, मलसाँप्रो, न्याउरी मुसा लगायतका मझौला वर्गमा छन्। मृगका प्रजाति, वनकुकुर, फ्याउरो, हाइना, डल्फिन, बँदेल लगायतका जीवजन्तु ठुला प्रजातिमा छन्। हात्ती विशाल प्रजातिमा सूचीकृत छ।

नारायणगढ – बुटवल निर्माणाधीन सडखण्डमा जनावरको लागि बनाइएको संरचना।
हात्ती र गैंडा बाहेक जमिनमा विचरण गर्ने अन्य प्रजातिका लागि भिरालोपना तीस डिग्रीभन्दा बढी नहुने गरी र चौडाइ कम्तीमा दस मिटर हुने गरी अन्डरपास निर्माण गर्नु पर्छ। एउटा रुखबाट अर्को रुखमा विचरण गर्ने बाँदर, लोखर्केजस्ता प्रजातिको लागि डोरी, तार तथा अन्य सामग्री प्रयोग गरी नहर, सडक, रेलमार्ग जस्ता पूर्वाधारभन्दा कम्तीमा पाँच मिटर माथि रहने गरी क्यानोपी ब्रीज निर्माण गर्नुपर्छ।
सिँचाइ तथा नदी नियन्त्रण संरचनामा आवश्यकता अनुसार ऱ्याम्प निर्माण गर्नु पर्नेछ। जलविद्युत आयोजनाको हेडरेस पाइप तथा पेनस्टक पाइप, पेट्रोलियम पाइप लाइन लगायत अन्य यस्तै प्रकृतिका पाइप लाइन सम्भव भएसम्म जमिनमुनि गाड्नु पर्नेछ। विद्युत प्रसारण लाइनको हकमा तारमा एभियन डाइभर्टर, रिफ्लेक्टर, इन्सुलेटर जस्ता उपकरण आवश्यकता अनुसार जडान गर्नुपर्छ भनेर वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिकामा भनिएको छ।
आँपटारी र रामनगरको संरचना ३.६५ मिटर हाराहारीको भएकाले साना जनावरका लागि मात्रै उपयुक्त भएको विज्ञहरू बताउँछन्।

२० मिटरभन्दा बढीका अन्डरपासमा जनावरलाई सहज बनाउनको लागि उज्यालो देखाउन बीचमा ग्याप राखी निर्माण हुँदै।
रामनगर र आँपटारीमा निर्माण भएका संरचनाको गल्ती कमजोरी नदोहोरिने गरी एडिबीको ऋणमा निर्माणाधीन रहेको नारायणगढ-बुटवल सडक खण्डको विभिन्न १२ ठाउँमा वन्यजन्तुमैत्री संरचना निर्माण भइरहेका छन्। जनावरलाई मध्यनजरमा राखेर डिपिआर निर्माण नभए पनि नेपालको राजमार्गको स्तर उन्नति भइरहँदा वातावरण तथा जनावरको लागि काम गर्दे आएको विश्ववन्यजन्तु कोष, डब्लुडब्लुएफ नेपालको चासोपछि वन्यजन्तु विशेषज्ञ झमकबहादुर कार्कीले त्यहाँको सडकमा जनावरका लागि आवश्यक संरचनाका लागि तयार पारेको रिपोर्टपछि १२ वटा संरचनामा कतिलाई स्तर उन्नति गरिएको र कति पहिला नै जनावर पास हुनेगरी बनाइएको छ।
यो खण्डमा हात्तीजस्ता ठूला जन्तु ओहोरदोहोर गर्न मिल्ने गरी केही पुलहरूलाई स्तर उन्नति गरी संरचना बनेका छन्। त्यहाँ निर्माण भएका संरचना घस्रने जीवजन्तुका लागि भने अझै सहज नरहेको देखिन्छ।
कार्कीले रिपोर्ट तयार गर्दा त्यस सडक खण्डमा धेरै मात्रामा बाँदर, न्याउरी मुसा, चराहरु देखिएको बताए।
निर्माण भइरहेका वन्यजन्तुमैत्री संरचनाबारे युएसएड्को एसिया केन्द्रित अलाइन कार्यक्रम अनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) सँग मिलेर विकास र पूर्वाधारको विषयमा अध्ययन भइरहेको छ। यो भारत, नेपाल र मंगोलिया प्रोजेक्ट हो।

नारायणघाट – बुटवल सडखण्डमा रहेको अन्डरपास ।
यस क्षेत्रमा जीवजन्तु राजमार्ग माथिबाटै ओहोरदोहोर गर्न मिल्ने ‘ओभरहेड ब्रिज’, ‘क्यानोपी ब्रिज’ निर्माण गर्न पनि विज्ञहरूले सुझाएका छन्। पर्सा निकुञ्जका विभिन्न खण्डमा पनि ओभरपास, ओभरहेड ब्रिज, अन्डरपास जस्ता संरचना बनाउन अध्ययन पूरा भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा यस्ता खाले संरचना छैन। बाँकेमा भने ब्रिज बनाइए पनि त्यो टेस्टको लागि बनाइएको छ।
अहिले निर्माण भइरहेको नारायणगढ – बुटवल सडखण्डमा लामो समय देखि काम भइरहेकाले जनावरलाई डिस्टर्ब भइरहेको विज्ञ कार्कीले बताए। उनले भने – जनावरको बिहान र बेलुकामा बढी गतिविधि हुन्छ भने कतिपय काम पनि बिहान र रातिका समयमा हुन्छन् जसले जनावरलाई डिस्टर्ब हुन्छ।’
सडक निर्माणका सामानका कारण पनि उनीहरूलाई गाह्रो हुन्छ। अहिलेको अवस्थामा जनावरले सम्झौता गर्नुपर्ने र गरि पनि रहेको विज्ञ कार्की बताउँछन्।
अहिले वन्यजन्तुको बारेमा विकासका पूर्वाधार निर्माण गर्दा सम्बन्धित मन्त्रालय तथा विभागले सोच्न थालेको छ जुन सकारात्मक रहेको उनी बताउँछन्। त्यस्तै भाले हात्तीको हकमा एक्लै हिँड्ने भए पनि पोथी हात्ती समूहमा आफ्ना बच्चाहरुको साथ हिँड्ने भएकाले उसलाई अझै धेरै ठाउँ चाहिने उनी बताउँछन्।
२० मिटर भन्दा माथिको अन्डरपास निर्माण गर्दा उज्यालोलाई पनि ख्याल राखिनुपर्ने कार्की बताउँछन्। नारायणगढ – बुटवल खण्डको सडक निर्माणमा रहेको जनावरलाई क्रस गर्ने सजिलो हुने गरी बनाइएको संरचनामा बीचमा ग्याप पनि राखिएको उनले बताए।
राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, संरक्षित क्षेत्र जोडिएका राजमार्गका निश्चित दूरीमा यस्ता संरचना बनाउँदा वन्यजन्तु सहज रूपमा आफ्ना गन्तव्यमा जान सक्छन्। साथै वन्यजन्तुको संरक्षणमा टेवा पुर्याउँदै मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने वन्यजन्तु विज्ञ डा. रोशन शेरचन बताउँछन्।
त्यस्तै दूतमार्ग अर्थात फाष्ट ट्र्याकमा पनि एक स्थानमा जनावरका लागि अण्डरपास बनाइएको छ। फास्ट ट्रयाकमा विशेष गरी पछि हात्तीको आवागमन हुनसक्ने भनेर जङ्गल एरियामा एउटा अण्डरपास बनाइएको छ।