
काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने बताए। महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए।
एक्काइसौं शताब्दीको कामको प्रचार स्वयं काम आफैले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। महामन्त्री शर्माले लामो संघर्षबाट आएका कांग्रेस–एमाले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्ने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे।
वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए।
उनले भने, ‘सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदै गर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरुको बारेमा पनि सार्वजनिक रुपमा पनि, संसदमा पनि खरो ढंगले उभिने अभिव्यक्ति राख्न चाहन्छु।’