
पोखरा – यातायात व्यवसायीले गरेको आन्दोलनमा रिपोर्टिङका लागि पुगेका पत्रकार कुट्ने चार जना पक्राउ परेका छन्।
सवारी थन्काएर गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प पार्दै पोखराको पृथ्वीचोकमा उत्रिएका व्यवसायी र मजदुरले पत्रकारमाथि कुटपिट गरेका थिए।
सुरक्षाकर्मीकै अगाडि रिपोर्टिङका लागि स्कुटरमा गएका पत्रकार विनु थापा र सुरज थापा कुटिएका हुन्। ग २० प ३९७३ नम्बरको स्कुटरको पछाडि सवार विनुले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले कुटपिट गरेको थियो। पत्रकारका संघसंस्थाले चौतर्फी विरोध गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई पक्राउ गरेको छ।
गोरखा भच्चेक घर भई पोखराको पृथ्वीचोक बस्ने ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, शान्तिवनका ४१ वर्षीय सूर्यबहादुर नेपाली, लामाचौर बस्ने १६ वर्षीय प्रशान्त गुरुङ, लमजुङको कुन्छा घर भई पोखराको जिरो बस्ने २८ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। नेपाली र बस्नेत ट्याक्सीको चालक हुन्। बयलकोटी मजदूर र गुरुङ बसका सहचालक रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएर उनीहरुविरुद्ध अनुसन्धान भइरहेको एसपी थापाले बताए। ‘कडाभन्दा कडा कानुनी कारबाही गर्छौं’, उनले भने।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले शान्तिपूर्ण आन्दोलन गर्ने भने पनि पत्रकार, निजी सवारी चालकमाथि जाइलाग्ने मात्रै नभएर सवारी तोडफोडमै उत्रिएका छन्। तोडफोडमा उत्रने अन्यलाई पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने एसपी थापाको भनाइ छ।