
पोखरा – आइतबार दिनभर सार्वजनिक यातायात ठप्प पारेर सडकमा ओर्लिएका यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ।
गण्डकी प्रदेश सरकार र व्यवसायीबीच आइतबार भएको वार्ताले राइड शेयरिङ आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने प्राविधिक समिति गठनको सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
मुख्यमन्त्री कार्यालयमा भएको वार्तापछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा ९ सदस्यीय प्राविधिक समिति गठन भएको छ।
समितिमा यातायात व्यवसायी, राइड शेयरिङका प्रतिनिधि, उपभोक्ता मञ्ज, यातायात मजदूर, ट्राफिक प्रहरीलगायत रहेका छन्।
समितिले अध्ययन गरेर १५ दिनभित्र राइड शेयरिङ आवश्यक छ/छैन सुझावसहितको प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले बताए।
समितिले प्रतिवेदन पेश गरुन्जेल कुनै पनि आन्दोलनको कार्यक्रम नहुने उनको भनाइ छ।