
काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्।
विपीनका बुवा महानन्द जोशीसहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर विपीनको रिहाइका लागि पहल गरिदिन अपील गरेका हुन्।
उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन्। इजरायलमा भएको आक्रमणपछि विपीनसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन्।
उनले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ। उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागिपर्नुभएको छ। हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ। आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ।’
आफू परराष्ट्रमन्त्री भएदेखि विपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई विपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन्।
यसअघि कतारका राजा नेपाल भ्रमणका क्रममा आएको बेला नेपाल सरकारले विपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने बताइन्। इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहेका विपीन जोशी हालसम्म सम्पर्कविहीन छन्।