
सिमकोट – सिमकोट गाउँपालिका– ७ को टुलिङ गाउँका वासिन्दा पानी पर्दा जाग्राम बस्दै आएका छन्। असार २० गते राति अविरल वर्षाका कारण गएको पहिरो र त्यसयता पानी पर्दा गाउँको दुईतिरको जमिन बगिरहने भएकाले रातभर जागा बस्नुपरेको हो।
उक्त गाउँका स्थानीय सार्की शाहीले असार २० गतेपछि गाउँमा पानी पर्न थालेपछि रातभर जागा बस्ने गरेको बताए। गाउँको पश्चिम र दक्षिणतर्फको जमिन पानी पर्दा बगिरहने भएकाले कति बेला बाढी–पहिरो जाने हो, पत्तो नहुने भएपछि गाउँवासी जाग्राम बस्नुपरेको उनले बताए।
असार २० गते राति गाउँदेखि पाँच सय मिटर माथिबाट पहिरो आएर जग्गा, जमिन, खानेपानी, सिँचाइ घट्टलाई क्षति पुर् याएको थियो। उक्त पहिरो गएयता पानी पर्नेबित्तिकै जमिनको बाटो बग्न थाल्ने भएको कारण स्थानीयवासी चिन्तै चिन्तामा बस्नुपरिरहेको छ।
अघिल्लो पहिरोबाट पीडित अर्का स्थानीय अमरबहादुर शाहीले पहिरोमा परेर कति बेला गाउँ नै सखाप पार्ने हो भन्ने चिन्ताले थोरै पानी पर्दा पनि रातीको समयमा गाउँलेहरु एक ठाउँमा जम्मा भएर बस्ने गरेको बताए।
उनले केही क्षति अघिल्लो पहिरोले गरेको र बर्खा बाँकी नै भएको कारण अझै जोखिम हटी नसकेको कारण गाउँवासीलाई जाग्राम बस्नुको अन्य बिकल्प नभएको बताए। उक्त गाउँमा पच्चीस घरधुरी रहेको छ। २१्र दिनदेखि रातीको समयमा नसुतेको बताउदै यो पिडा कहिलेसम्म सहनु पर्ने हो भन्नै नसकिने भएको छ।
उक्त वडाका वडा अध्यक्ष बलवीर शाहीले सिंङ्गो टुलिङ गाउँ नै पहिरोको उच्च जोखिममा रहेको कारण गाउँलेलाई रातीको समयमा बच्नका लागि पनि जाग्राम वस्नै पर्ने अबस्था रहेको बताए। तत्काल अन्यत्र कतै बस्ती सार्नका लागि पनि उपाय नदेखिएको कारण गाउँलेलाई रातिको समयमा चनाखो भएर बस्न आग्रह गरिएको छ। गाउँ माथिको जमिन चट्टान र भिरालो छ।
गाउँको नजिक एउटा खोला पनि छ। उक्त खोलामा आएको पहिरोले यसअघि क्षति पुर् याएको थियो। अब फेरि पहिरो आए सिधै गाउँलाई क्षति पुग्ने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन वडाध्यक्ष शाहीले अनुरोध गरेका छन्। यसको जानकारी सबै गाउँपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायलाई पनि वडाले गरि सकेको छ।