
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताएका छन्। पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राखे।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, ‘पुष्पलालले हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कट समाधान हुन सक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यो। यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ।’
नेता मदन भण्डारी र पुष्पलालले कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न भूमिका खेलेको उनले उल्लेख गरे। राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण तथा समाजका अन्तरविरोधलाई सुविचारित ढङ्गले अभिलेखन गर्न योगदान गरेको बताए।
उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे। देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्ति मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न सम्भव भएको उनको भनाइ थियो।
पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, ‘पञ्चायतका विरुद्धमा सङ्घर्ष गरीरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई उहाँले समान स्नेह गर्नुहुन्थ्यो। हामी बिपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौँ। आन्दोलनका बारेमा कुराकानी भयो। काठमाडौँमा कोसँग सम्पर्क गर्नेभन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो। माइला दाइले भनेको है भनेर पनि भन्नुभयो।’
अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको राष्ट्रपति पौडेलले बताए। उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे।
सो अवसरमा पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० राजनीतिक/सैद्धान्तिक विषयगत क्षेत्रतर्फ सिद्धिलाल सिंहलाई प्रदान गरिएको थियो। यसैगरी, पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० इतिहास विषयगत क्षेत्रतर्फ स्व डा विश्वनाथ सिंहलाई प्रदान गरिएको थियो। पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रतर्फ चतुर्भुज आत्रेयलाई प्रदान गरिएको थियो। तीनवटै पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।