
जनकपुरधाम- शरीर नै कठ्यांग्रिने शीतलहर र चिसोबाट पीडित बनेका महोत्तरीको मनरा शिसवा गाउँपालिकास्थित मधवा गाउँको दशगजामा रहेको मुसहर बस्तीमा कम्बल वितरण गरिएको छ।
भारत नेपालको सीमामा झोपडी बनाएर बस्दै आएका मुसहर परिवारलाई चिसो र शीतलहरको प्रकोपले निकै प्रताडित गरेको बेला धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा न्यानो कम्बल वितरण गरिएको हो।
मुसहर बस्तीका ६५ परिवारलाई न्यानो कम्बल वितरण गरी चिसोमा राहत प्रदान गर्ने काम गरिएको हो। फाउन्डेसनले उपलब्ध गराएको कम्बल मुसहरबस्तीसम्म सञ्चारकर्मी मनिका झा र शैलेन्द्र महतोले पुर्याएर वितरण गरेका हुन्।
एक महिनापूर्वसम्म निर्वाचनको कारण बस्तीमा भोट माग्न आउनेहरुको चहलपहल हुने गरेपनि जनप्रतिनिधिहरु चुनिएर गएपछि अहिले शीतलहरमा कहिँ कतैबाट राहतको बन्दोबस्त नभएको बस्तीकी सुन्नर सदाले बताइन्।
परालकोे घरमा शितले ओछ्यान भिजाएर रात काट्न समेत गाह्रो हुने गरेको बेला सरकारको तर्फबाट कुनै सहयोग नपाइएको गुनासो मुसहरबस्तीका अधिकांशको छ।
धुर्मुस सुन्तली फाउन्डेसनको तर्फबाट जनकपुरको बाढीपीडित विपन्न परिवारहरुसहित अनाथ आश्रममा पनि कम्बल वितरण गरिएको हो।
यो पनि हेर्नुहोस्: