
काठमाडौं- साेमबार साँझबाट परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंका अधिकांश नदीको बहाब बढेको छ। निरन्तरको वर्षाका कारण नदीको बहाब बढ्नुका साथै कतिपय ठाउँमा डुबानसमेत भएको छ।
बागमती नदीको निकास क्षेत्र चोभारमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ। चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हाे।
भारी वर्षा र डुबानका कारण मानिसको दैनिकी प्रभावित बनेको छ। अधिकांश नदीले खतराको बिन्दुसमेत पार गरिसकेका छन्।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले जनाएको छ।
अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ।
तस्बिरहरू: