
सूर्यचौर (नुवाकोट)- नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सबै यात्रु र क्याप्टेनको शव प्रहरीले एम्बुलेन्समा काठमाडौँ ल्याएको छ। ती शवलाई पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा हेलिकप्टरमा पूर्णतया जलेको अवस्थामा छ भने यात्रुका सामानहरु संकलन गरिएको छ। दिउँसो १ बजेर १४ मिनेटमा काठमाडौँबाट स्याफ्रुतर्फ उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो। गाउँलेले धुँवा आएको खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। उद्धारका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका थिए।
बुधबार दिउँसो दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार चिनियाँ यात्रुको मृत्यु भएको थियो।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको हो।
ज्यान गुमाउने चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। हेलिकप्टरमा चिनियाँ नागरिकहरु जुदाड टाङ, जी ली र जेमिङ सी सवार थिए। त्यस्तै एक महिला चिनियाँ यात्री यियाद वु पनि हेलिकप्टरमा सवार थिइन्।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा परेको हो।
नुवाकोटमा प्रजिअ रामकृष्ण अधिकारीका अनुसार घटनास्थलको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्। उक्त हेलिकप्टर केही विदेशी लिएर फेरि स्याफ्रुबेसीबाट काठमाडौँ आउने गरी त्यसतर्फ उडेको थियो।
स्थानीयले डाँडामा धुँवा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ।