मनसुनको ४५ दिनः गण्डकीमा ५५ जनाको मृत्यु, जताततै पहिरो

मनसुनको ४५ दिनः गण्डकीमा ५५ जनाको मृत्यु, जताततै पहिरो
+
-

पोखरा – बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटा (दर्लिङ) मा गत मंगलबार भीषण वर्षासँगै पहिरो खसेर बबण्डर मच्चायो। आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले १० जनाको ज्यान लियो। एक बालक अझै बेपत्ता छन्।

बुर्तिबाङ बजार हिँडेकासँगै पहिरोले घर जोखिममा परेपछि सुरक्षित ठानेर आश्रय लिएका छिमेकीलाई समेत एकै चिहान बनायो। पहिरोमा पुरिएर १२ जना घाइते भए। गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

त्यही दिन बडीगाड गाउँपालिका–९ नयाँबस्तीमा पहिरोमा परेर एक बालकको ज्यान गयो। उर्लेको खहरे खोलाले बगाएर त्यही वडामा एक जनाको मृत्यु भएको छ।

एकैदिन विपद्का घटनामा परेर बाग्लुङको बडिगाडमा १२ जनाले ज्यान गुमाए। दर्लिङ र नयाँवस्तीका झन्डै ५० घर पहिरोले विस्थापित हुने अवस्थामा पुगेका छन्।

बाग्लुङका सहायक जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार यी बस्ती पहिरोको जोखिममा रहेको पहिचान भएकै थिएन। जिल्ला प्रशासन कार्यालयले वर्षेनी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउँछ। कार्ययोजनाले पहिरोको जोखिममा रहेका सम्भावित स्थानहरुको पहिचान गर्छ।

बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटा (दर्लिङ) खसेको पहिरोमा पुरिएकाको खोजी हुँदै। फाइल तस्बिर

आँकलन नै नगरेको स्थानमा पहिरो खसेर ठूलो क्षति भएको बरालले बताए। ‘जोखिमको क्षेत्र पहिचान गरेका थिएनौँ। एक्कासी ठूलो पानी आएर पहिरो खस्यो’, उनले भने। स्थानीयलाई उदृत गर्दै यसभन्दा पहिला कहिल्यै पहिरो नखसेको उनी बताउँछन्।

बाग्लुङमा मात्रै नभएर गण्डकी प्रदेशमा यो वर्ष मनुसुन सुरु भएयता विपद्का घटनाले ठूलै मानवीय क्षति व्यहोर्नुपरेको छ। मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा बाढीपहिरोले मानवीय क्षति पुर्‍याएको हो।

असार १२ गतदेखि हालसम्म बाढीपहिरोमा परेर ५५ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै बागलुङ र कास्कीका १४/१४ जना छन्। असार २८ गते पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको मृत्यु भएको थियो।

स्याङ्जाका ७, गोरखा र लमजुङका ५/५, तनहुँका ४, पर्वत, म्याग्दी र नवलपुरका २/२ जनाले बाढीपहिरोमा परेर ज्यान गुमाएका हुन्।

वरिष्ठ प्रहरी उपरीक्षक रेग्मीका अनुसार बाग्लुङ, तनहुँ र नवलपुरमा १/१ जना बेपत्ता भएका छन्। ३९ जना घाइते भएको उनले बताए।

गण्डकीका विभिन्न बस्तीमा ५९ घर बस्नै नमिल्ने गरेर पूर्ण रुपमा क्षति हुँदा ५४ घरमा आंशिक क्षति पुगेको छ। प्रहरीको तथ्यांक अनुसार २४४ घर पहिरोमा जोखिममा परेका हुन्।

यो वर्षको मनसुन सुरु भएपछि सबैभन्दा बढी कास्कीको लुम्लेमा वर्षा मापन भएको छ। गएको असार २७ मा लुम्लेमा १७९.९ मिलिलिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान पोखराका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए।

त्यो दिन गण्डकीका अधिकांश स्थानमा यसपालिको मनसुनकै अधिकतम् वर्षाको मापन भएको उनको भनाइ छ। लुम्लेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मापन केन्द्रले १५७.९ मिलिलिटर वर्षा रेकर्ड गरेको छ। स्याङ्जामा १७९ मिलिलिटर, गोरखामा १३२, दमौलीमा १२६, खुदी बजारमा ११२.१, खुदीमा १११.४, हुम्डेमा ३४.९ र जोमसोममा ३०.३ मिलिलिटर वर्षा मापन भएको थियो।

जल तथा मौसम विज्ञान विभागको सूचना अधिकारी वरिष्ठ मौसमविद् विभूती पोखरेलका अनुसार एक्कासी वर्षा हुने क्रम बढेकाले बाढीपहिरोको घटना बढिरहेको छ।

‘मनसुनकै कुरा गर्दा पानी पर्ने दिनहरु घट्ने क्रममै छ। तर, एक्कासी ठूलो पानी पर्ने क्रम बढेको देखिएको छ’, उनले भनिन्, ‘त्योसँगै खडेरी पनि बढिरहेको छ। एकपटकै ठूलो वर्षा हुने। वर्षा नहुँदा खडेरीको स्थिति देखिन्छ।’ लामो समयको खडेरीपश्चात एक्कासी वर्षा हुँदा पहिरो बढ्ने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?