फेवाताल जोगाउने प्रयासः मुहानको पहिरो रोक्न ड्रोनबाट छरियो उत्तिसको बिउ (भिडियोसहित)

+
-

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–३ रातापैरामा विशाल पहिरो खसेको छ। भकरजुङ र अँधेरीखोला सामुदायिक वनमा खसेको पहिरोले १० हेक्टर क्षेत्रफल बगाएको छ।

अँधेरी खोलाको मुहानमा पहिरो खसेको दशक बढी भयो। वडाध्यक्ष फणीन्द्रप्रसाद पौडेलका अनुसार २०७२ वैशाखको भूकम्पअगाडि पहिरो त्यति ठूलो थिएन। सानो पहिरो भुकम्प गएको सालको बर्खाबाट क्षेत्रफल बढ्दै गएको उनी बताउँछन्।

‘भूकम्प आएकै वर्ष बर्खामा ठूलो पहिरो खस्यो। विस्तारै विस्तारै उग्र रुप लियो’, पहिरोबारे उनी भन्छन्, ‘जंगलमा ठूल्ठूला रुख थिए। पहिरोले कहाँ पुर्‍यायो कहाँ! उँधोको एउटो ढुंगो फुत्क्यो भने माथि त ठूला ठूला ढुंगा गद्य्राङगद्य्राङ खस्छन्।’ रातापैरामा पहिरो खसेर जंगल मासिने क्रम नरोकिएको उनको भनाइ छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ जंगलमा रातापैरोको खसेको पहिरो। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार

त्यहाँबाट खसेको पहिरो बर्खाको बेला उर्लने अँधेरी खोलाले घाँटीछिनास्थित हर्पन खोलामा पुगेर मिसिन्छ। हर्पनखोला फेवातालको शिरान हो। पहिरोले बगेको ढुंगा, माटो, काठपात र ग्रेगान हर्पन खोला हुँदै फेवातालसम्मै पुग्छ।

मानवीय अतिक्रमणको चपेटामा साँघुरिरहेको फेवातालको क्षेत्रफल रातोपैराको जस्तै जलाधार क्षेत्रमा खसेका साना ठूला पहिरोले पनि घटाइरहेको विज्ञहरुको ठहर छ। २०७८ फागुन १७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै फेवातालको १२३ वर्ग किलोमिटरलाई संरक्षित जलाधार क्षेत्र घोषित गरिएको छ।

रातापैराको पहिरो संरक्षित फेवातालको क्षेत्रफलसँग जोडिएकाले रोक्ने प्रयासको थालनी भएको छ। विशाल पहिरोलाई रोकेर फेवाताल संरक्षणका निम्ति ड्रोनबाट उत्तिसको बिउ छरिएको छ। पहिरोस्थलमा मानविय गतिविधि सम्भव नभएकाले नवीनतम् प्रविधिको प्रयोग गर्दै ड्रोनबाट उत्तिसको बिउ छरिएको हो।

पहिरोमा छर्ने उत्तिसका बिउ ड्रोनमा राखिँदै। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार

वन तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाअन्तर्गत १० किलो उत्तिसको बिउ छरिएको छ। बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीले ड्रोनबाट उत्तिसको बिउ छर्ने चाँजोपाजो मिलाएको हो। विज्ञको सल्लाहअनुसार पहिरो गएको स्थानमा सजिलै उम्रिएर हुर्कने विशेषता भएकाले उत्तिसको बिउ रोजिएको केन्द्रले जनाएको छ।

बाढी पहिरोलगायतका समस्याले फेवातालको क्षेत्रफल घट्दै गइरहेको बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीका जलाधार व्यवस्थापन अधिकृत अमर अधिकारीले बताए। ‘फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व पनि रहेको छ। रामसार सूचीमा सूचीकृत छ। पोखराकै पर्यटकीय गन्तव्यसँगै आर्थिक तथा सामाजिक दृष्टिकोणले निकै नै महत्वपूर्ण ठाउँ’, अधिकारीले भने, ‘अहिले क्षेत्रफल पनि घट्दै गएको हुनाले भोलि आर्थिक तथा सामाजिक नकरात्मक असर पर्ने भयो। यसका मुख्य कारण भनेका पहिरो नै हुन्। पहिरोबाट बगेर आउने माटोहरुले फेवाताल पुरिन्छ।’

साना पहिरोलाई रोक्न तटबन्ध, चेकड्याम, बायोइन्जिनियरिङका काम भइरहेको अधिकारीले जानकारी दिए। मान्छेको पहुँच नपुग्ने भएकाले नवीनतम् प्रविधिको प्रयोग गरेर विरुवा रोप्दा भूसंरक्षण हुने अधिकारीको भनाइ छ।

अन्नपूर्ण गाउँपालिकाको लुम्लेबाट देखिएको फेवातालसँगै पोखराको दृश्य। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्ले अफ्ठ्यारा ठाउँमा जाने पहिरोमा विरुवा रोप्नै नसकिने अवस्थाको अन्त्य गर्न ड्रोनबाट विरुवा रोप्ने प्रविधिको विकास गरेको बताउँछन्। विभागले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संस्थानअन्तर्गतको रोबोटिक्स एशोसिएशन नेपालको प्राविधिक सहयोगमा ड्रोनबाट बिउ छर्ने प्रविधिको विकास गरेको हो।

यो प्रविधि परीक्षणकै चरणमा रहेको महानिर्देशक वाग्लेले जानकारी दिए। उनका अनुसार गत वर्ष ओखलढुंगा र खोटाङमा पर्ने तल्लो दूधकोशी जलाधार क्षेत्रको पहिरोमा ड्रोनबाट विभिन्न प्रजातिको बीउ छरेर परीक्षण गरिएको थियो। गतवर्ष ४० हजार किलो बिउ छरिएको हो। ‘त्यहाँ ड्रोनबाट बिउ छर्न सफल भएका छौँ। बिरुवा कति उम्रे त? यसपाली अध्ययन गर्दैछौँ’, उनले सुनाए।

पहिरो बगेर बाढीले उग्र रुप लिँदा नेपालमा बर्षेनी धनजनको क्षति बढिरहेको उनको विश्लेषण छ। माटोलाई बग्नबाट रोक्दै पहिरो गएका स्थानमा बिरुवा उमार्न सके बाढीको रफ्तार रोकिने महानिर्देशक वाग्ले बताउँछन्। उनी भन्छन्, ‘बाढी रोकियो भने तल्लो क्षेत्रमा हुने धनजनको क्षति रोक्न सकिन्छ।’

विदेशमा उद्धार, कृषिकर्म र वृक्षारोपणमा ड्रोनको प्रयोग हुँदै आइरहे पनि नेपालमा समान्य फोटो भिडियो मात्रै खिचिन्छ। तसर्थ नेपालमा ड्रोनबाट बिरुवा उमार्न बिउ छर्ने नयाँ प्रविधि हो।

रोबोटिक्स एशोसिएशन नेपालका सचिव ओमकार जैसवालका अनुसार बिउ छर्न प्रयोग गरिएको ड्रोन नेपालमै विकास गरिएको हो। जसमा २ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको छ। यो रकम निकै कम भएको उनले बताए।

रोबोटिक्स एशोसिएशन नेपालका सचिव ओमकार जैसवाल ड्रोनबारे जानकारी गराउँदै। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार

‘फरक प्रकृतिका सेट बनाएका छौँ। माथिबाट बर्साएर जहाँ मान्छे पुग्न सक्दैन त्यहाँनेर बिरुवा लगाउने भनेर निर्माण गर्‍या हौँ’, उनले भने।

ड्रोनमा बीउ राख्ने भाँडा जडान गरिएको छ। भाँडामा बिउ राखेर ड्रोन उडाइन्छ। पहिरोस्थलमा पुगेपछि बिउ राखिएको भाँडाको ‘नट’ विस्तारै खुला गरेर छरिन्छ।

ड्रोनबाट बिउ वर्षाउन सुरुमा पहिरो गएको स्थानमा कहाँ बिउ पार्ने क्षेत्र निर्धारण गरेर नक्सांकन गरिने जैसवालको बताए। ‘कहाँ कति छर्ने? कसरी छर्ने? निर्धारण हुन्छ। नक्सांकनअनुसार नै बिउ छरिन्छ। जसबाट अधिकतम् नतिजा आओस्’, उनले खुलाए।

उत्तिसको बिउ बोकेर पहिरोस्थलतर्फ जाँदै गरेको ड्रोन। तस्बिरः विनोद ढुंगाना/देशसञ्चार

ड्रोनको भारवहान क्षमता ५०० किलोग्राम छ। शनिबारदेखि मंगलबारसम्म रातापैराको पहिरोमा प्रत्येक पटक ४०० किलोग्रामका दरले उत्तिसको बिउ छरियो।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक तथा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाका राष्ट्रिय निर्देशक गणेश पौडेल ड्रोनबाट बिउ छर्ने प्रविधि रातापैरामा सफल भए देशैभर विस्तार गर्ने सुनाए। ‘जहाँ हामी पुग्न सक्दैनौँ। र पहिरोले आक्रन्त भइरहेको छ। त्यस्तो ठाउँमा चाहिएको समयमा चाहिएको प्रजातिको परिमाणमा प्राकृतिक रुपमा बिउ छर्न सक्यौँ भने पहिरो रोकिन्छ’, उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?